अमेरिकी नासाको यान अन्तरिक्षको अहिलेसम्मकै सबभन्दा टाढाको पिण्डसम्म पुग्यो
अन्तरिक्ष सम्बन्धी अमेरिकी निकाय नासाको न्यू हराइजन नामक अभियानले अल्टिमा टुले नामक बरफको पिण्ड नजिकैबाट गुज्रिएको पुष्टि गर्दै पृथ्वीमा सूचना पठाएको छ।

तस्बिर स्रोत, NASA
न्यू हराइजन यान करिब साढे ६ अर्ब किलोमिटर टाढा पुगेको छ।
यो नै हालसम्म सौर्यमण्डलको सबभन्दा टाढा पुगिएको घटना हो।
के छ सन्देश?
उक्त पिण्ड नजिकैबाट गुज्रँदा न्यू हराइजनले ठूलो परिमाणमा फोटो खिच्नुका साथै अन्य अवलोकन गरेको थियो।
ती सामग्री अब उसले आउँदा महिनाहरूमा पृथ्वीमा पठाउने छ।
उक्त रोबट यानले पठाएको रेडियो सन्देश स्पेनको मड्रिडस्थित नासाको एउटा ठूलो एन्टेनाले प्राप्त गरेको थियो।
अल्टिमाबाट पृथ्वी आइपुग्न मात्र पनि सो रेडियो सन्देशलाई ६ घण्टा ८ मिनेट लागेको थियो।
म्यारिल्याण्डस्थित जन हप्किन्स विश्वविद्यालयको एप्लाइड फिजिक्स लेबोरेटरीका नियन्त्रकहरूले सो रेडियो सिग्नल प्राप्त भएपछि निकै खुसी मनाए।
"हाम्रो अन्तरिक्ष यान स्वस्थ छ। हामीले भर्खरै सबभन्दा परको भ्रमण गर्यौँ," उक्त अभियानकि सञ्चालन व्यवस्थापक एलिस बोम्यानले बताइन्।
उक्त पहिलो सन्देशमा केवल यानको अवस्थाबारे जानकारी दिने इञ्जिनियरिङ जानकारी थियो।

तस्बिर स्रोत, NASA
तर त्यसले न्यू हराइजनले पूर्व निर्देशनबमोजिम सफलतापूर्वक स्वचालित यात्रा र अवलोकन सम्पन्न गरेको देखायो।
के हो अल्टिमा?
अल्टिमा पिण्ड काइपर बेल्ट भनिने क्षेत्रमा रहेको छ।
त्यहाँ रहेका जमेका पिण्डहरूले सूर्यलाई परिक्रमा गर्छन्।
तिनीहरू सबभन्दा परको आठौँ ग्रह नेप्च्युनभन्दा पनि २ अर्ब किलोमिट टाढा छन्।
पहिले ग्रह मानिने प्लुटोभन्दा पनि सो क्षेत्र डेढ अर्ब किलोमिटर पर छ।
न्यू हराइजन यान सन् २०१५ मा प्लुटो नजिक पुगेको थियो।
काइपर बेल्ट क्षेत्रमा अल्टिमा जस्ता लाखौँ पिण्डहरू रहेको अनुमान छ।
ती जमेका ढिक्काहरूमा साढे ४ अर्ब वर्ष पहिले सौर्यमण्डलको निर्माण ताका का अवस्थाहरूबारे जानकारी मिल्ने सूचना हुन सक्ने ठानिन्छ।








