मौसमी रुघाखोकी: बिरामीको सङ्ख्या बढेपछि सावधानी अपनाउन आग्रह

रुघा खोकीबाट ग्रस्त बिरामीको यो तस्बिर नेपालको बिरामीको होइन। यो साङ्केतिक तस्बिर मात्र हो।

तस्बिर स्रोत, GETTY IMAGES/VLADANS

नेपालका विभिन्न स्थानमा सामान्य रुघाखोकीमा जस्तै लक्षण देखिने 'टाइप ए इन्फ्लुएन्जा' को सङ्क्रमण भएका बिरामीहरूको सङ्ख्या बढिरहेको चिकित्सकहरूले बताएका छन्।

काठमाण्डू उपत्यका र केही जिल्लामा मौसमी रुघाखोकी गराउने 'टाइप ए इन्फ्लुएन्जा' नामक भाइरसका बिरामी देखापरेको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्।

स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुखले विश्वमा सबैतिर मौसम परिवर्तनका बेला देखापर्ने सङ्क्रमण सामान्य रुघाखोकीजस्तो देखिने भए पनि हेलचेक्य्राइँ गरिए जोखिम बढ्ने सक्ने बताए।

एकै स्थानमा थुप्रै बिरामी देखा नपरे पनि काठमाण्डू उपत्यकासहितका केही जिल्लाका विभिन्न अस्पतालहरुमा 'टाइए ए इन्फ्लुएन्जाका' को सङ्क्रमण भएका बिरामीहरू देखिन थालेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

जोखिम कसरी बढ्छ?

सामान्य औषधिले नै ठिक हुने तर लापर्बाही गर्दा ज्यानै जाने हुनाले मौसम परिवर्तन हुने यो बेलामा सतर्क रहन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले आग्रह गरेका छन्।

उनी भन्छन्, "सास फेर्न गाह्रो हुने, लगातार ज्वरो आउने लक्षण देखिन्छ। सानो बच्चा यदि दूध नै खान नसक्ने अवस्था छ भने तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ।"

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रत्येक हप्ता सरुवा रोगबारे अध्ययन गर्ने क्रममा यसै हप्ता सो भाइरस फैलिरहेको पत्ता लगाएको हो।

मधुमेह, दम र अन्य दीर्घरोग भएका रा कमजोर व्यक्तिरूमा भने यसले तुरुन्तै आक्रमण गर्न सक्ने बताइएको छ।

महाशाखाका अनुसार गतवर्ष पनि 'इन्फ्लुएन्जा टाइप बी'को सङ्क्रमणका कारण थुप्रै मानिसहरू बिरामी परेका थिए।

सावधानी कसरी?

अहिले देखिएको 'फ्लु टाइप ए' भाइरसबाट जोगिन भने सामान्य सावधानी नै पर्याप्त रहेको महाशाखा प्रमुख लालको भनाइ छ।

उनी भन्छन्, "व्यक्तिगत सरसफाइ सबैभन्दा महत्त्वपूर्ण हुन्छ। जस्तै खोक्दा र हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने, भिडमा नबस्ने र तुरुन्त साबुन पानीले हात धुने। यी सामान्य तर एकदमै प्रभावकारी उपाय हुन्। अर्को कुरा रुघाखोकी लागेको छ भने झोल भएको खानेकुरा खानमा जोड दिनु पर्छ।"

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले 'फ्लु टाइप-ए'को सङ्क्रमण बढेको देखिएकोले सतर्कता अपनाउन राजधानी र अन्य जिल्लाका स्वास्थ्य शाखाहरूलाई सचेत गराइसकिएको जनाएको छ।

अडिओ क्याप्शन सुरु हुँदैछ, इन्फ्लुएन्जा रोकथामका लागि के प्रयास भइरहेको छ?
Presentational grey line

इन्फ्लुएन्जा भाइरस के हो?

इन्फ्लुएन्जा भाइरस चार प्रकारका हुन्छन्।

तीमध्ये तीन प्रकारका - टाइप ए, टाइप बी र टाइप सी - इन्फ्लुएन्जा भाइरसले मानिसमा सङ्क्रमण गराउन सक्छन्।

टाइप ए र टाइए बी इन्फ्लुएन्जा भाइरसले प्रत्येक वर्ष मानिसमा मौसमी रुघाखोकी गराउँछन्।

भाइरसको बाहिरी खोलमा भएको प्रोटिनका आधारमा इन्फ्लुएन्जा टाइप एलाई विभिन्न उपसमूहमा वर्गीकृत गरिएको छ।

तीमध्ये A(H1N1) ए एच वन एन वन भाइरसले स्वाइन फ्लु गराउँछ भने A (H5N1) एच फाइभ एन वन भाइरसले बर्ड फ्लु।