क्रिसमस: ‘मुस्लिम जिसस’ लाई सम्झने समय

कुरान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जिससको प्रसङ्ग उल्लिखित कुरानको एउटा पाना
    • Author, एमरे अजिजलेर्ली
    • Role, बीबीसी विश्व सेवा

यूकेमा २१ वर्षअघि आएदेखि नै क्रिसमसका बेला हरेक वर्षजसो मैले एउटा प्रश्नको सामना गर्नु परेकै छ।

म पनि भन्दिन्छु - टर्की मुस्लिमबहुल देश हो, त्यसैले डिसेम्बर २५ पनि अरू दिनजस्तै एउटा नियमित दिन हो।

क्रिसमस हुँदैन रे?

तर टर्कीमा मात्र होइन - तपाईँलाई थाहा छ? विश्वमा बहुमत मानिसले क्रिसमस मनाउँदैनन्।

बर्लिन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, क्रिसमसको बेला सबैतिर बत्ती बालेर उज्यालो बनाइएको हुन्छ

अनौठो लागेपनि पश्चिमा देशका केही मानिसले क्रिसमस संसारभरि मनाइने बिदा हो भन्ठान्छन्।

तर क्रिसमस भनेको त इसाई धर्मका 'पैगम्बर' जिससको जन्मदिन मनाएको पो हो।

यहुदी, हिन्दू अथवा मुस्लिमहरूका पात्रोमा क्रिसमस बिदाका रूपमा हुँदैन।

अर्को शब्दमा भन्ने हो भने मुस्लिम विश्वमा पनि कैयौँ परिवारहरू चाड मनाउन वर्षको एक पटक एक ठाउँ जम्मा हुन्छन् तर त्यो क्रिसमसका लागि नभएर इदका लागि जम्मा हुन्छन्।

कुरानमा उल्लिखित मेरी

तस्बिर स्रोत, Unkown

तस्बिरको क्याप्शन, कुरानमा उल्लिखित मेरी

भिन्नताबारे भने थाहा पाउनु पर्छ।

तर एक अर्काबीचको सम्बन्ध थाहा पाउनु पो महत्त्वपूर्ण छ।

जिसस तपाईँले भनेको इसा?

यो आश्चर्यजनक छ।

इस्लामले उनको जन्मदिन मनाउँदैन तर जिससको सम्मान गर्छ।

मुस्लिमहरू इसाई पैगम्बरलाई आफ्नो आस्थाको एउटा भाग मान्छन्।

कुरानले जिससलाई पैगम्बर मोहम्मद अगाडिका दूतका रूपमा सम्मान गर्छ।

अरबीमा इसा भनिने जिससको उल्लेख कुरानमा पैगम्बर मोहम्मदको भन्दा बढी गरिएको छ।

Sleep of the Child Jesus, by Italian artist Giovanni Battista Salvi

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मेरीले कुमारी भएरै बच्चा जन्माएको कथा शताब्दियौँदेखि सबैजसो संस्कृतिमा सुनिँदै आएको छ

अझ इस्लामको सो पवित्र धर्मग्रन्थमा एउटी महिलाको नाम मात्र उल्लिखित छ।

मेरी अर्थात् मरियम?

कुरानमा मेरीको नाममा एउटा पूरा अध्याय नै छ। त्यो अध्यायमा कुमारी आमाले जन्म दिएको कथा छ।

अरबी भाषामा मेरीलाई मरियम भनिन्छ।

मेरीले मरुभूमिमा एउटा सुकेको ताडको रूखको फेदमा आश्रय लिएर एक्लै बच्चा जन्माउँछिन्।

तत्कालै चमत्कार हुन्छ र उनको छेउ पाकेको छोगडा झर्छ र नजिकै खोला बग्न थाल्छ।

एउटी अविवाहिता महिलाले बच्चा जन्माएपछि उनको स्वच्छतामाथि प्रश्न उठ्न थाल्छ।

The Basilica of San Petronio is the main church of Bologna

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इटलीको स्यान पेट्रोनियो ब्यासिलिकामा आक्रमणको योजना बनाइएको आशंकामा पाँचजना पक्राउ गरिएको थियो

तर नवजात शिशुले ईश्वरका का दूतसरह कुराकानी गर्न थाल्छन्।

त्यो चमत्कारले उनकी आमालाई राहत हुन्छ।

यो पूर्वाग्रहमाथिको विजयको कथा हो।

आत्माका पैगम्बर

मुस्लिमहरू जिससबारे कुरा गर्दा उनीहरूले "उनलाई शान्ति होस्" भन्ने वाचन गर्नुपर्छ जुन उनीहरूले मोहम्मदलाई सम्बोधन गर्दा पनि गर्ने गर्छन्।

'डे अफ जज्मेन्ट' अर्थात् पृथ्वीमा न्याय सम्पादन गर्ने दिनभन्दा अगाडि पृथ्वीमा को फर्किन्छन् भन्ने उनीहरूको विश्वास छ? अनुमान गर्नुहोस् त।

ती जिसस हुन् र उनको ख्याति कुरानभन्दा अन्यत्र पनि पुगेको छ।

सुफी दार्शनिक अल गजलीले उनलाई 'आत्माका पैगम्बर' भनेका छन्।"

इब्न अरबीले उनलाई सन्त मानेका छन्।

मुस्लिम विश्वमा कैयौँ केटाहरूको नाम इसा (जिसस) र केटीहरूको नाम मरियम (मेरी) राखिएको छ।

तर तपाईँ इसाई परिवारका छोराको नाम मोहम्मद रहेको कल्पना गर्न सक्नुहुन्छ?

इस्लाममा जिससबारे लेखिएको छ किनभने सो धर्म सातौँ शताब्दीमा सुरु हुनुभन्दा अगाडि नै मध्यपूर्वमा इसाई धर्म स्थापित भइसकेको थियो।

त्यसैले बाइबलमा मोहम्मदबारे लेखिने सम्भावना नै रहेन।

Imam Sami Salem (L) and Imam Mohammed ben Mohammed (R) stand during a mass in Santa Maria church in Rome

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जिहादी आक्रमणको भत्सर्ना गर्न मुस्लिम धर्मगुरुहरू क्याथलिक समारोहमा सहभागी भएका थिए।

पछिल्ला शताब्दीमा जिससलाई मुस्लिमहरूले सम्मान गरे पनि चर्चले भने त्यस्तै प्रकारको सम्मान मुस्लिमहरूलाई दिएन भन्न उचित नै हुन्छ।

इटलीको १५ औँ शताब्दीको स्यान पेट्रोनियो गिर्जाघरमा मुस्लिम पैगम्बरलाई नर्कमा रहेको देखाइएको छ। उनलाई राक्षसहरूले सताएका छन्।

युरोपभरि बनाइएका चित्रकलामा तिरस्कारको कथा मात्र देखाइएको छ।

नर्कको नवौँ घेरा

इटालेली कलाकार जिओभानी दा मोडेना कवि दाँतेबाट प्रोत्साहित थिए जसले उनको 'डिभाइन कमेडी'मा मोहम्मदलाई नर्कको नवौँ घेरामा सीमित गरिएको छ।

यो पुस्तकले १८ औँ शताब्दीका धेरै युरोपेली कलाकारलाई प्रोत्साहन दिएको देखिन्छ किनभने उनीहरूले पनि मोहम्मदलाई नर्कमा दण्ड दिएको दृष्यहरू कोरेका छन्।

अब अङ्ग्रेजी कविता र चित्रकलाका लागि प्रख्यात विलियम ब्लेकको पानीचित्रबारे कुरा गरौँ।

बेल्जियमको एउटा गिर्जाघरमा १७ औँ शताब्दीमा बनाइएको एउटा पानीचित्रमा मुस्लिम पैगम्बरलाई देवदूतले पाइतालामुनि राखेको देखाइएको छ।

अवश्यपनि यो गिर्जाघरको अहिलेको धारणा होइन।

समय व्यतीत भइसकेको छ तर हाम्रो युगमा नयाँ तनावहरू, पूर्वाग्रह र चरम हिंसा छ।

अरू धर्मावलम्बीसँग वार्ता

मुस्लिम लडाकुहरूले बोलोना गिर्जाघरलाई ध्वस्त पार्न खोजेको आशङ्का गरिएको छ।

त्यसयता युरोपमा र कैयौँ मुस्लिम देशहरूमा इस्लामका नाममा भएका मुख्य आक्रमणहरूमा नरसंहार भएको छ। त्यसले विभिन्न समुदायबीच दूरी बढाएको छ।

इसाई र मुस्लिमहरूले समान रूपमा मुस्लिम जिससबारे थाहा पाउन र त्यसको महत्त्व बुझ्न सम्भवत: अहिले झन् महत्त्वपूर्ण भएको छ।

धर्महरूबीच के समानता छन् भनेर केन्द्रित हुने हो भने बढ्दो विभाजन कम हुँदै जाने थियो कि?