ब्रिटेन: ड्रोनका कारण ग्याट्विक विमानस्थल अझै अस्तव्यस्त

तस्बिर स्रोत, EDDIE MITCHELL
ब्रिटेनको दोस्रो ठूलो विमानस्थलमा हवाई सेवा खलबलाइदिएको ड्रोनलाई गोली हानी जमिनमा झार्ने विकल्पकाबारे त्यहाँको प्रहरीले छलफल गरिरहेको बताइएको छ।
विमानस्थल क्षेत्रमा उडिरहेको ड्रोनले विमानहरूको उडान तथा अवतरण प्रभावित पारेपछि प्रहरीले ड्रोनलाई गोली हानी खसाल्ने उपायबारे छलफल थालेको हो।
तर त्यो उपायलाई यसअघि ससेक्स् प्रहरीले गोली अन्यत्र छरिन सक्ने भन्दै अस्वीकार गरिदिएको थियो।
प्रहरीको रणनीति के छ?

तस्बिर स्रोत, PETER MACDIARMID/LNP
ड्रोनका कारण शुक्रवारसम्म ज्याट्विक विमानस्लन बन्द नै रहने एक अधिकारी जेसन टिङ्लेले बताए। उनले "प्रहरीले जसरी भएपनि त्यो ड्रोनलाई आकाशबाट पर पुर्याइछाड्ने" बताएका छन्।
ड्रोनका कारण विगत २४ घन्टादेखि ग्याट्विक विमानस्थल ठप्प छ। ड्रोन संकटका कारण त्यो विमानस्थल प्रयोग गर्ने लाखौँ यात्रुहरू मर्कामा परेका छन्।
प्रहरीले अहिले ड्रोनलाई खसाल्नु अघि त्यसको बनावट र ढाँचाको जानकारी लिने प्रयास गरिरहेको बताइएको छ।
विमानस्थल सञ्चालन कार्यालयले बिहीवार साँझसम्म पनि सो ड्रोनको गैरकानुनी गतिविधिहरु देखिएको र एउटा मात्र धावन मार्ग भएको त्यो विमानस्थल खोल्न कठिन भइरहेको जनाएको छ।
बीबीसीकी लुसि म्यानिङ भन्छिन्, "हामीलाई प्रहरीले बताएअनुसार सोधपुछ जारी छ। सरकारी स्रोतले बीबीसीलाई बताएअनुसार ग्याट्विक विमानस्थलको विरोध गरिरहेका प्रदर्शनकारीहरू पनि यसको लागि जिम्मेवार हुन सक्छन्।"








