नेपाली महिलाहरूलाई डीजे बन्न कति सहज?

भिडिओ क्याप्शन सुरु हुँदैछ, डिजे नानी

पछिल्लो नेपाली युवतीहरूले पनि गीत-सङ्गीत बजाउने र मिसाउने डिस्क जकी अर्थात डीजेको पेशा अङ्गाल्न थालेका छन्।

तर नेपालमा महिला डीजे बन्न सहज नभएको केही युवतीहरूले बताएका छन्।

"डीजे क्वीन" भनेर चिनिने शालु महर्जनले काम गर्न थालेको तीन वर्ष बितिसक्दा पनि आफ्नो कामबारे गर्वका साथ छरछिमेकमा चर्चा समेत गरेकी छैनन्।

त्यसो त छोरीले अरू नै कुनै काम गरे हुन्थ्यो भनेर आमाले पनि समय-समयमा भन्न नछाडेको उनी बताउँछिन्।

यो पेशा शुरू गर्दा यस्तै समस्या परेको बताउँछिन् "डीजे नानी" अर्थात् सुष्मिता महर्जन, "उहाँहरूलाई म राति काम गर्न गएको मन परेको थिएन। त्यसैले 'यो पेशामा लागेर केही उपलब्धि हुँदैन बरू पढाइमा ध्यान दिए हुन्थ्यो' भन्नुहुन्थ्यो।"

आफ्नो रुचिलाई नै पेशा बनाउन शुरूमा घरपरिवारमै सङ्घर्ष गर्नुपरेको "डीजे ग्याल" अर्थात् मोनिका त्वनावासुको पनि लगभग उस्तै अनुभव छ। उनी भन्छिन्, "शुरूमा मलाई मेरा अभिभावकहरूलाई मनाउन एकदम कठिन भएको थियो। 'सधैँ राति जान्छौ' भन्नुहुन्थ्यो। तर एकदिम मैले मेरो बुवालाई क्लब लिएर गएँ र मैले गर्ने काम देखाएँ त्यसपछि उहाँहरुले किचकिच गर्न छाड्नुभयो।"

सङ्ख्या

मनोरञ्जन प्रदान गर्ने सहरका क्लबमा बजाउने र नाच्ने काममा पुरुषकै हालिमुहाली रहँदै आएकोमा बिस्तारै महिला डीजेहरूले स्थान बनाउँदै गएका छन्।

तर अझैप नि महिलाहरूको सङ्ख्या न्यून नै रहेको उनीहरू बताउँछन्।

गीत-सङ्गीत बजाउने काम पुरुषहरूको बाहुल्यता रहेको पेसा भएको यी महिला डीजेहरू स्वीकार्छन्।

यस्तै क्लबमा आउने पनि महिलाको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गएको उनीहरू बताउँछन्।

अनुभव

सुष्मिता

तर पनि क्लब सञ्चालन गर्ने र त्यहाँ आउनेहरू चाहिँ अझै पनि धेरै पुरुष नै हुने गरेका छन्।

त्यस्तोमा आफ्नो सुरक्षाप्रति चनाखो हुनुपर्ने डीजे ग्याल बताउँछिन्, "म जहिले पनि डीजेलाई कस्तो सुरक्षा दिनुभएको छ भनेर सोध्दछु अनिमात्र अरु कुरा अघि बढाउँछु।"

काममा व्यस्त रहँदा एकजना पुरुषले अभद्र व्यवहार गर्न खोजेको अनुभव सुष्मिताको छ।

"अचानक एउटा केटा आएर मलाई अङ्गालो मार्ने कोसिस गर्‍यो र मैले तुरुन्तै त्यहाँ रहेका दाइहरूलाई भनेर त्यो मान्छेलाई बाहिर पठाउन लगाएँ। तर यस्तो घटना कहिलेकाहीँ आकलझुकल हुनेगर्छ। त्यसैले चनाखो भएर काम गर्नुपर्छ," उनले भनिन्।

रुचि

प्रायः मानिसहरूले फोन नम्बर मागेर हैरान पार्ने गरेको उनीहरु बताउँछन्।

विद्यालयमा पढ्दादेखि नै यो पेसाप्रति आकर्षित भएको उनीहरू बताउँछन्।

थुप्रैले उच्च माध्यमिक शिक्षा हासिल गर्दासम्म त काम नै शुरू गरिसेको बताए। त्यस्तैमध्येकी एक "डीजे क्वीन"को नामले क्लबहरूमा चिनिने २१ वर्षीय शालु महर्जन भन्छिन्, "मैले १२ कक्षा पढिसक्दा बित्तिकै मैले डीजेको तालिम लिएँ। जसमा गीतहरू मिसाउन मात्र सिकेकी बाँकी काम थालेपछि सिक्दै गएँ।"

सङ्गीतमा विशेष रुचि भएका कारण यो पेसाले तानेको उनीहरू बताउँछन्।

माग

क्लबमा आएको भिडको मनस्थिति अनुसार गीत बजाएर उनीहरूलाई नचाउनको मच्चाबारे डीजे ग्याल भन्छिन्, "हाम्रो कामको आनन्द भनेकै त्यहाँ आएका मानिसहरु मनस्थिति बुझ्ने र त्यही अनुसारको गीत बझाउने हो। आफूले बजाएको गीतमा उनीहरु झुम्न थाल्दा एकदम रमाइलो लाग्छ।"

शुरूमा काम पाउन त्यति सजिलो नभएको र काम पनि निकै गाह्रो भएको उनीहरू बताउँछन्।

तर पछिल्लो समय उनीहरूलाई काम पाउन त्यति गाह्रो भने छैन।

शहरहरूमा जीवनशैली बदलिँदै गएसँगै डीजेहरूको माग पनि बढी हुन थालेको छ।

"डीजे क्वीन"को नामले चिनिने २१ वर्षीय शालु महर्जन

तस्बिर स्रोत, DJQuinn

क्लबहरूको सङ्ख्या बढ्दै गएको र विवाह, नयाँ वर्षलगायत अवसरमा पनि डीजे बोलाउने चलन बढ्दै गएपछि केही सहज भएको उनीहरूको भनाइ छ।

परिवर्तन

तर अझै पनि आफूले गरेको कामको पारिश्रमिक लिन सहज नभएको शालु बताउँछिन्, "महिला र पुरुषको काम चाहिँ उस्तै छ कि छैन भनेर दाँज्ने थुप्रै भेटिन्छन्। तर काम गरेपछि पारिश्रमिक दिने समयमा चाहिँ यो केटीले गरेको काम हो भनेर पैसा दिन निकै समयसम्म कुराउँछन्।"

यस्तो अवस्थामा चाहना हुँदाहुँदै पनि लामो समयमा यो पेसालाई निरन्तरता दिन कठिन हुने उनीहरू बताउँछन्।

राति अबेरसम्म काम गर्ने र निश्चित आम्दानी पनि नभएको क्षेत्रमा यी महिला डीजेहरूले गरेको सङ्घर्षले समाजमा महिलाहरूले चाहे भने जुनसुकै काम गर्न सक्छन् भन्ने सन्देश दिएको महिला अधिकारकर्मीहरू बताउँछन्।

यस्तै समाज बदलिँदै जाँदा महिला र पुरुषका लागि भनि छुट्याइएका पेसाहरूमा पनि परिवर्तन आउने उनीहरू बताउँछन्।