भारत निर्वाचन: नतिजा प्रभावित गर्न लाटोकोसेरोको प्रयोग

तस्बिर स्रोत, Getty Images
- Author, इमरान कुरैशी
- Role, बीबीसी हिन्दी
भारतमा चुनावका बेला अधिकारीहरू खासगरी "उपहार" (जुन मतदातालाई प्रभावित पार्न प्रयोग हुन्छ) लाई लिएर चिन्तित हुने गर्छन्।
तर यसपटक कर्नाटक राज्यका अधिकारीहरूले गत शुक्रवार स्थानीय चुनाव भएको छिमेकी राज्य तेलङ्गानामा लाटोकोसेरोको तस्करी रोक्न निकै प्रयास गर्नु पर्यो।
तेलङ्गानासँग सिमाना जोडिएको सेडमबाट ६ जनालाई पक्राउ गरिएको थियो।
सो क्षेत्रबाट चराहरूको तस्करी हुने गरेको छ र पक्राउ गरिएकाहरूले लाटोकोसेरोको अहिले "उच्च माग" रहेको अनुसन्धानकर्तालाई बताएका छन्।
तर भारतको वन्यजन्तु संरक्षण ऐन अनुसार गैरकानूनी रूपमा लाटोकोसेरो राख्नु र त्यसको किनबेच गर्नु दण्डनीय छ।
टुनामुना
नाम नखुलाउने शर्तमा एक प्रहरी अधिकारीले बीबीसी हिन्दीलाई बताए अनुसार यो सन्दर्भमा फरक कुरा के छ भने लाटोकोसेरोलाई चुनावी उपहारका रूपमा प्रयोग गरिँदैछ।
उनले भने, "प्रतिद्वन्द्वी उम्मेदवारका लागि लाटोकोसेरोको कुनै पनि अङ्गलाई अलच्छिन मान्ने गरिन्छ।"
कर्नाटकस्थित एक वन अधिकारी रामकृष्ण यादवले भने, "पक्राउ गरिएका सन्दिग्धहरूले बताए अनुसार तेलङ्गानाबाट एकजनाले फोन गरी प्रतिद्वन्द्वी उम्मेदवारमाथि टुनामुनाका लागि लाटोकोसेरोको माग गरेका थिए।"

तस्बिर स्रोत, Getty Images
"विपक्षी खेमामा मनोवैज्ञानिक डर पैदा गर्नका लागि पनि लाटोकोसेरोको प्रयोग गर्ने गरेको देखिन्छ। यो गर्नुको मुख्य उद्देश्य प्रतिद्वन्द्वीको मनोबल गिराउनु पनि रहेको देखिन्छ।"
अर्का अधिकारीले बीबीसी हिन्दीलाई भने, "सन्दिग्धहरूको कुनै राजनीतिज्ञसँग सम्बन्ध रहे वा नरहेको पत्ता लगाउनु ठूलै काम हुनेछ।"
"राजनीतिज्ञ आफैँले त्यसो चाहेका हुन् अथवा उनीहरूका समर्थकले त्यस्तो चाहेका हुन् त्यो हामीलाई थाहा हुन सकेको छैन।"
उच्च माग
भारतमा ३० प्रजातिका लाटोकोसेरो पाइन्छन्। तिनीहरूमध्ये दुई प्रकारका निकै लोकप्रिय छन्- इन्डियन इगल र बार्न।
यी दुई थरी लाटोकोसेरोको माग बजारमा अहिले उच्च छ। तिनीहरूको प्रयोग अन्धविश्वास र टुनामुनासँग जोडिएका कुरामा हुन्छ।
वन्यजन्तुको कानूनी तथा गैरकानूनी व्यापारसम्बन्धी मामिला हेर्ने 'ट्राफिक इन्डिया' नामक संस्थाका प्रमुख डा. सकेत बडोलाले गैरकानूनी विक्रीको स्तर थाहा पाउने कुनै संयन्त्र नभएको बीबीसी हिन्दीलाई बताए।
बडोलाले भने, "तर अनौपचारिक रूपमा हामीलाई प्राप्त जानकारी अनुसार लाटोकोसेरोको व्यापक मात्रामा किनबेच हुने गरेको छ। उत्तरी राज्यहरूमा निकै बढी छ तर दक्षिणी भारतमा पनि हुने गरेको छ। तान्त्रिक विद्यामा विश्वास गर्नेहरूले त्यसको प्रयोग गर्छन्।"
"दिपावलीका बेला लाटोकोसेरोको माग उच्च हुन्छ। तिनीहरूले लक्ष्मीको वाहनका रूपमा घर-घरमा धन भित्र्याउने गरेको विश्वास छ। हामीले त पछिल्लो दिपावलीमा लाटोकोसेरोको प्रयोग नगर्नेबारे एउटा सुझाव पनि जारी गरेका थियौँ।"

तस्बिर स्रोत, karnataka police
हामीले पक्षीविज्ञ अबरार अहमदको एउटा अनुसन्धान नतिजालाई पनि त्यसमा समेटेका थियौँ जसअनुसार टुनामुना लगायत अन्धविश्वाससँग सम्बन्धित कार्यमा लाटोकोसेरोको शरीरका ३९ वटा अङ्गको प्रयोग गर्ने गरिएको पाइएको छ।
नाङ्ग्रा, रगत र चुच्चो
अबरार अहमदका अनुसन्धान गुरु तथा बम्बे न्याचुरल हिस्ट्री सोसाइटीका पूर्वनिर्देशक डा. असद आर रहमानीले बीबीसी हिन्दीलाई भने, "फरक-फरक क्षेत्रमा नङ्ग्रा, रगत र चुच्चोको प्रयोग फरक फरक ढङ्गले गर्ने गरेको पाइएको छ।"
"लाटोकोसेरो अन्धकार र खण्डहरमा बस्ने गरेकोले अधिकांश क्षेत्रमा त्यसलाई अपशकुनको रूपमा लिइन्छ। अपशकुनकै कारण तिनीहरू बस्ने क्षेत्र खण्डहरमा परिणत भएको मानिसहरू बुझ्ने गर्छन् जुन सत्य होइन।"
डब्ल्यूडब्ल्यूएफ ट्राफिकका सरथ बाबुका अनुसार लाटोकोसेरोलाई यातना दिने पनि चलन रहेको छ।

तस्बिर स्रोत, karnakata forest dept
लाटोकोसेकोका आँखामा सियोले घोच्ने र तिनीहरूका पखेटा भाँच्ने गरिएको सरथले आफ्नै आँखाले देखेका छन्।
"यदि कुनै उम्मेदवारले अर्कोलाई हराउन चाहन्छ भने दोस्रो पक्षको कुनै लुगा लाटोकोसेरोको शरीरमा बाँधिन्छ र उम्मेदवारको घर अगाडि फालिन्छ। यी सबै गर्न तिनीहरूले ठूलो रकम कुम्ल्याउँछन्।"
जोखिममा विवेक
गैरकानूनी बजारमा ती पक्षीहरूको बेग्लै नाम हुने गरेको छ।
संसारका केही भागमा लाटोकोसेरोलाई बुद्धिमान चरा मानिन्छ। एउटा भनाइ नै छ- "लाटोकोसेरो जस्तो बुद्धिमान।"
तर भारतीय उपमहाद्वीपमा कसैलाई सानो देखाउँदा र अपमान गर्दा लाटोकोसेरोको संज्ञा दिने गरेको पाइन्छ।
डा रहमानी भन्छन्, "भारतमा कसैलाई मूर्ख भन्नुपर्दा 'ऊल्लुका पठ्ठा' अर्थात् लाटोकोसेरोको छोरो भनेर भन्छन्।"
"तर पारिस्थितिक प्रणालीमा सन्तुलनका लागि लाटोकोसेरोको महत्त्वपूर्ण भूमिका छ। शिकारीका रूपमा तिनीहरूले ठूला मुसा, सर्प, झ्याउँकीरी खान्छन्। लाटोकोसेरोका केही प्रजातिलाई राम्रो वातावरण र स्वस्थ बसोबासको द्योतकका रूपमा लिइन्छ।"

तस्बिर स्रोत, Getty Images
यद्यपि तिनीहरू लोप हुँदै गएका छन् र अन्धविश्वाससँग जोडिएका चलनका लागि तिनीहरूको बढ्दो मागले स्थिति झन् नराम्रो बनाउँदै लगेको छ।
"वास्तवमा लाटोकोसेरोले बच्चा पाउन लामो समय लिन्छन्। ठूला लाटोकोसेरोले वर्षमा एउटा वा दुइटा बच्चा पाउँछन्। त्यसमाथि तिनीहरूको चोरीशिकारले झन् खतरा निम्त्याएको छ।"








