अनुहार प्रत्यारोपण: उनको मुस्कुराहट फेरि फर्क्यो

अनुहार प्रत्यारोपण

तस्बिर स्रोत, NYU LNAGONE HEALTH

आत्महत्या गर्न आफैले आफैलाई गोली हान्दा क्यामरन अन्डरवुडले नाक, चिउँडोको सबैजसो भाग र एउटा बाहेक सबै दाँत पनि गुमाए।

त्यसको दुई वर्षपछि बोल्दै उनले भने, "मेरो नाक छ, मुख छ, म मुस्कुराउन सक्छु, बोल्न सक्छु र ठोस पदार्थ खान सक्छु।"

क्यामरन २६ वर्षका छन्। न्यूयोर्कमा बोल्दै उनले भने, "अनुहार प्रत्यारोपण गर्न पाउँदा म असाध्यै आभारी छु यसले मलाई जिउने दोश्रो मौका दिएको छ।"

अन्डरवुड

तस्बिर स्रोत, UNDERWOOD FAMILY

तस्बिरको क्याप्शन, क्यामरन(दायाँ) सन २०१६को नयाँ वर्षका दिन परिवारसँग

यसै वर्षको जनवरी महिनामा न्यूयोर्क विश्वविद्यालयको ल्याङ्ग्वान हेल्थ सेन्टर म्यानहटन न्यू योर्कमा १०० जना स्वास्थ्यकर्मीहरूले २५ घण्टा लगाएर क्यामरनको अनुहार प्रत्यारोपण गरेका थिए। उनको स्वास्थ्य अवस्थाबारे गत हप्ता मात्र सावर्जनिक गरिएको थियो।

क्यामरनले आत्महत्या प्रयास गरेको १८ महिनापछि शल्यक्रिया गरिएको थियो।

बाहिर घुम्न, खेल्न, साथीभाइ र परिवारसँग समय बिताउन उनलाई असाध्यै मन पर्छ। ती सबै काम अहिले गर्न पाएको बताउँदै उनले भने, "म छिटै काममा फर्कने आशामा छु र कुनै दिन परिवार बसाउन सक्छु।"

पहिलोपटक सन २००५ मा अनुहार प्रत्यारोपण गरिएपछि अहिलेसम्म विश्वभर गरी ४० शल्यक्रिया सम्पन्न भइसकेको छ।

स्याली

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दाता वीलकी आमा स्याली फिशरले क्यामरनलाई अङ्ग दान गर्न नपाएको भए आफूलाई बाँच्न कठीन हुने बताएकी थिइन्

शल्यक्रियाको नेतृत्व गरेका डा. एडवार्डो डी. रोड्रिगेज भन्छन्, "स्वास्थ्य क्षेत्रमा भएको विकास मात्रैले होइन क्यामरनको बलियो इच्छाशक्तिले शल्यक्रिया सफल भएको हो। उपचारको सफलता त बिरामीमै निहित छ। क्यामरनले कटिबद्ध भएर गर्नुपर्ने काम सबै गरे।"

अमेरिकी इतिहासमा घाइते भएको छोटो समयमै अनुहार प्रत्यारोपण गरेको यो पहिलो अवसर भएको बताइएको छ।

डा. रोड्रिगेजले भने, "त्यसका कारण क्यामरनले मानसिक समस्याका कुराहरू लामो समय भोग्नु परेन। त्यस्ता कुराहरू लामो समय भोग्नुपरे मानिस गम्भिर मानसिक अवसादमा पुग्न सक्छ र अन्य घातक व्यवहार पनि गर्न सक्छ।"

शल्यक्रियाका बेला डाक्टरहरूले उनका ३२ वटै दाँत, चिउँडो र माथिल्लो भाग पुनर्स्थापित गरेका थिए।

उनको मुखको तल्लो र माथिल्लो भित्ता आँखाको तल्लो भाग र नाकहरू नयाँ बनाइएको थियो। जिब्रो पनि बनाइएको थियो।

फिशर

तस्बिर स्रोत, FISHER FAMILY

तस्बिरको क्याप्शन, वीलले अङ्ग दान गर्ने इच्छा दर्ता गराएका थिए

केन्द्रका अनुसार शल्यक्रिया अनुहार प्रत्यारोपणको पछिल्लो विकसित प्रविधि प्रयोग गरेर बनाइएको थियो। पहिलोपटक अनुहार ३ डी प्रविधि प्रयोग गरेर दाताको अनुहारको उपयोग गरिएको थियो।

दाता २३ वर्षीय उदीयमान लेखक, फिल्म निर्माता र चेस च्याम्पियन वील फिशर थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विश्वको पहिलो मुटु प्रत्यारोपण

वीलकी आमा स्यालीले भनिन्, "मेरो छोराको दु:खदायी निधन भयो। उसको निर्णयको सम्मान गर्दै हामीले अरुलाई जीवन दिन सफल भएकोमा धन्य छु। वील र डाक्टर रोड्रिगेजले क्यामरन र उनको परिवारलाई उनीहरूको सपना पुन: पुरा गर्ने मौका दिएका छन्।"

"यसले मलाई असाध्यै कठीन समयमा पनि शक्ति दिएको छ। क्यामरनलाई दिन नपाएको भए मैले छोराको मृत्यु सहन सक्ने थिइन कि जस्तो लाग्छ- मेरो छोराले क्यामरनलाई राम्रो जीवनका लागि सहयोग गर्‍यो भन्ने सोच्न पाउँदा मलाई खुशी लागेको छ।"

क्यामरनले अस्पतालको प्रेस सम्मेलनका बेला वील र फिशर परिवारप्रति सम्मान प्रकट गरेका थिए।

अडिओ क्याप्शन सुरु हुँदैछ, अंग प्रत्यारोपण गरेका व्यक्तिको आकर्षण बढ्दै

"स्याली र उनका परिवारको योगदानको म र मेरा परिवारले उच्च प्रशंसा गर्छौं र म सँधै वीलको विरासत धान्नेछु।", उनले भने, "शल्यक्रियामा असाध्यै आश्चर्यजनक विकासहरू भएका छन्, म त्यसको जिउँदो उदाहरण हुँ तर त्यो त वील र उनका परिवार जस्तै विशेष मानिसहरूका कारण मात्र संभव हुन्छ।"