उमादेवी वादी: सङ्घर्षशील वादी नेत्री 'बीबीसी १०० महिला' सूचीमा
बीबीसी विश्व सेवाले प्रकाशित गरेको 'बीबीसी १०० महिला' को सूचीमा यस वर्ष नेपालकी उमादेवी वादी परेकी छन्।
'बीबीसी १०० महिला' मा प्रत्येक वर्ष संसारभरिका १०० प्रभावशाली र प्रेरणादायी महिलाको नाम र कामबारे उल्लेख गरिएको हुन्छ।
सो सूचीमा पर्ने उनी पहिलो वादी महिला हुन्।
वादी हाल प्रदेश नम्बर ७ अर्थात् सुदूरपश्चिम प्रदेशको प्रदेशसभामा सांसद छिन्।
बीबीसी सम्वाददाता नेत्र केसीसँग कुराकानी गर्दै आफूले आफ्नो समुदायको आत्मसम्मानका लागि सङ्घर्ष गरेको र त्यसबाटै वादी समुदायका महिला तथा केटाकेटीको उत्थान सुरु भएको वादीले बताइन्।
उनले भनिन्, "आत्मसम्मानको लडाइँमा हाम्रो जित भयो। साथै आमाको नामबाट नागरिकता लिन चाहने नेपालीहरूको जित भयो। आफ्नो शरीर बेच्ने समुदायबाट आएका वादी महिला तथा केटाकेटीहरू अहिले अघि बढ्न थालेका छन्।"

तस्बिर स्रोत, BBC
बीबीसी विश्व सेवाको विश्वका १०० जना प्रेरणादायी महिलाको सूचीमा परेको समाचारले अहिले उनी निकै खुसी भएकी छिन्। त्यसलाई उनी आफ्नो र आफ्नो समुदायको सफलता मान्छिन्।
गत वर्षको सूचीमा नेपालबाट इन्दिरा राना परेकी थिइन्।
उनले कैदी जीवन बिताइरहेका व्यक्ति र उनीहरूका छोराछोरीलाई सहयोग गर्दै आएकी छन्।
