बीबीसी '१०० विमिन' २०१७

'१०० विमिन' २०१७

तस्बिर स्रोत, Getty Images

'१०० विमिन' अर्थात् १०० महिला समाचार श्रृङखला अन्तर्गत बीबीसीले सन् २०१७ का लागि प्रेरणादायी तथा सृजनशील महिलाहरुको सूची तयार पारेको छ।

यो वर्षको सूचीमा परेका महिलाहरुले '१०० विमिन च्यालेन्ज' अन्तर्गत विश्वका महिलाले भोगिरहेका प्रमुख समस्याको सामना गर्दै हल खोज्ने प्रयत्न गरिरहेका छन्।

चारवटा टोलीमा बाँडिएका ती महिलाहरुले सृजनशील तरिकाको यी विषयहरुसँग जुध्ने उपायबारे आफ्ना अनुभव साट्ने छन्:

  • उच्चपद प्राप्ति - #Teamlead
  • महिला निरक्षरता - #Teamread
  • सडक दुर्व्यवहार - #Teamgo
  • खेलमा लैङ्गिक-विभेद - #Teamplay

यसपालि अझै पनि ४० जना महिलाको चयन हुन बाँकी नै छ।

'१०० विमिन' अन्तर्गतका प्रसारण जारी रहँदै गर्दा महिलाका प्रमुख चुनौतीहरुको सामना गरिरहेका थप महिलाहरुलाई यो सूचीमा समावेश गरिनेछ।

'१०० विमिन' अन्तर्गत अहिलेसम्म छानिएका ६० जनामा नासाकी अन्तरिक्षयात्री पेगी ह्वीट्सन्, लाइबेरियाकी राष्ट्रपति एलेन जनसन सर्लीफ र इन्गलण्डका फुटबल खेलाडी स्टेफ हग्टन रहेका छन्।

अन्य ४० जनाको नाम अक्टोबर महिना लागेपछि थपिने छ।

कलाकार तथा कवयित्री रुपी कौर एसिड आक्रमणबाट बच्न सफल रेशम खान र टीभी स्टार जीन सिङ पनि यो सूचीमा रहेका छन्।

'१०० विमिन' २०१७

नेपालबाट को?

नेपालकी इन्दिरा राना मगर पनि १०० विमिनको प्रारम्भिक सूचीमा समावेश छन्।

उनी प्रिजनर्स असिस्टेन्स् नेपालकी संस्थापक हुन्।

उनी भन्छिन्, "हरेक बालकमा अँध्यारोको जुनकिरीको जस्तै आफ्नै अद्वीतीय प्रकाश हुन्छ।"

जेल सुधार अभियानकर्ता समेत रहेकी इन्दिरा राना मगरले विगत २७ वर्षदेखि कैदी जीवन बिताइरहेका व्यक्ति र उनीहरुका छोराछोरीलाई सहयोग गर्दै आएकी छन्।

उनले ती बालबालिकाको शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको दिशामा काम गर्दै आएकी हुन्।

उनी एसिया महादेशबाट मानवअधिकारको क्षेत्रमा काम गर्ने अग्रणी महिलाको रुपमा (#teamread अन्तर्गत) छानिएकी छन्।

आउने सातादेखि बीबीसी नेपाली सेवाले पनि पुरुषहरुको आधिपत्य तोड्दै उच्च पद सम्हाल्न सफल भएका प्रभावशाली महिलाहरुबारे रेडियो र अनलाइनमा विभिन्न सामाग्री राख्दैछ।

(तस्वीर सौजन्य: ड्यान केनेडी, एल्मा रेसेल अग्विलेरा, नासा/जोनसन, स्टेमेट्स्/ फिल स्मिथ, टम कावानाग, नाइरोबी गराज, बलजित सिंह, ज्यारन जन्स्, जुलिया रोनाइ, रोमिना बर्नाडो, एटिकेट म्यागाजिन, रकवुल, ड्यामी ओएटेड्, रेशम कान)