'बिरामीलाई कम समय: चिकित्सा धर्म विपरीत'

अस्पताल

तस्बिर स्रोत, BISHNU POKHAREL

काठमाण्डूमै निजी अस्पताल र क्लिनिकमा नाम चलेका कैयौं डाक्टरहरूले बिरामीलाई पर्याप्त समय नदिएर गरिरहेको जाँच पेशागत धर्म र विश्वव्यापी मान्यता विपरीत भएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ।

कति समय दिने भन्ने कुरा रोगको प्रकृतिमा निर्भर हुने भए पनि उनीहरूलाई सन्तुष्ट पार्ने दायित्व मूल उद्देश्य हुनु पर्ने चिकित्सकले नै बताएका छन्।

निजी अस्पतालका विरामीको भीड लाग्ने एकजना डाक्टरसँग जाँच गराउने समयबारे सोधेखोज गर्न खोज्दा उसैदिन समय पाइएन्।

जवाफ आयो, "आजको लागी बिरामी पूरा भइसक्यो, एक दिनमा सयजना जाँच्नु हुन्छ। पहिलेनै समय लिएका बाहेक इमरजेन्सी र अरू डाक्टरले पठाएका बिरामी गरेर त्यो सङ्ख्या पनि नाघ्छ।"

पाँच मिनेट?

ती महिलाका अनुसार डाक्टरले विहान ११ देखि ६ बजेसम्ममा ती बिरामीको जाँच गर्छन्।

सात घण्टाभित्र त्यति जाँच्दा एकजना विरामीले सरदर पाँच मिनेट पनि पाउने देखिन्न।

नेपाल मेडिकल काउन्सिल, आचार संहिता समितिका संयोजक तथा नेपाल मेडिकल एशोसियसनका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेलका अनुसार बिरामीलाई दिने समयबारे स्पष्ट व्यवस्था छैन, त्यो बिरामीको समस्यामा निर्भर हुन्छ।

तर उनी भन्छन्, "विश्व स्वास्थ्य संगठनले एकजना चिकित्सकले बिरामीलाई हेरेर विवेकसम्मत निर्णय लिन र अनुसन्धान गर्न एक दिनमा ३० भन्दा बढी बिरामी हेर्नु उपयुक्त नहुने दिग्दर्शन बनाएको छ। एकजना बिरामीलाई दिने समय सालाखाला १५ मिनेट हुन आउँछ।"

टिचिङ हस्पिटल

तस्बिर स्रोत, Teaching Hospital

नाम एउटा जाँच्ने अर्कै

तर डाक्टरले पर्याप्त समय नदिने गुनासो नयाँ होइन्।

सामान्यतया सरकारी होस् वा निजी अस्पताल एउटै अस्पतालको कमाइ सन्तोषजनक नरहेको डाक्टरहरूको गुनासो पाइन्छ।

उनीहरू त्यसैले विभिन्न अस्पताल धाउनु पर्दा जतिसक्दो धेरै बिरामी जाँच्नु पर्ने बाध्यता रहेको तर्क सुनिन्छ।

तर जनस्वास्थ्यविद् डा. अरूणा उप्रेती एउटा डाक्टरले विभिन्न अस्पताल वा क्लिनिकमा गएर जाँच्नु ठीक नभएको बताउँछिन।

उनी भन्छिन्, "त्यसले गर्दा बिरामीलाई दिने सेवामा एकदम भर पर्छ, यो नैतिक प्रश्न हो। तर चिकित्सा शिक्षा दिँदा बिरामीलाई दिने परामर्श, उसँग गर्ने संवाद र नैतिकताको बारेमा पढाइँदैन। त्यसले गर्दा थुप्रै समस्या देखिन्छन्।"

नाम चलेका कैयौं डाक्टरले त आफै विरामी नहेर्ने चलन पाइन्छ। कनिष्ठ डाक्टरबाट बिरामीसँग सोधपुछ गराउने, उसकै भरमा बिरामीलाई थप सुझाव दिने अनि कार्डमा हस्ताक्षर समेत नगर्ने।

कान्ति बाल अस्पताल

तस्बिर स्रोत, BISHNU POKHAREL

अर्को कारण

तर मेडिकल कान्सिलका सदस्य संयोजक डा. ढुण्डीराज पौडेल त्यसलाई आचार संहिता विपरीत काम भन्छन्, "जुन चिकित्सकका लागी बिरामीले शुल्क बुझाउँछ, उसैले बिरामी हेर्नुपर्छ। उसकै हस्ताक्षर र मेडिकल काउन्सिलको दर्ता नम्बर उल्लेख हुनुपर्छ।"

त्यस्तो अवस्था भोग्नेहरूलाई उजुरी गर्न कान्सिलले प्रेरित गर्ने गरेको डा. पौडेल बताउँछन्।

तर कतिपय जनकारका भनाइमा सामान्य खालका समस्या आउँदा पनि विशेषज्ञ र नाम चलेका डाक्टरलाई देखाउनु पर्ने मानसिकता विरामीहरूमा देखिन्छ। त्यो पनि भिडभाड बढाउने र डाक्टरले कम समय दिने प्रवृतिलाई बल पुर्‍याउने अर्को कारण भएको उनीहरुको बताउँछन्।