इन्धन मूल्य वृद्धिको असर के केमा पर्दैछ

इन्धन

अन्तर्राष्ट्रिय बजारमा केही महिनायता लगातार बढिरहेको इन्धनको मूल्यको प्रत्यक्ष असर नेपालीहरूको भान्सा परेको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार इन्धनको मूल्य यही रफ्तारमा बढिरह्यो भने ठूला आयोजनाको लागत बढ्नेछ भने सबैभन्दा ठूलो असर नेपालले बेहोरिरहेको व्यापार घाटामा पर्नेछ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उकालो लाग्ने क्रम जारी रहँदा देखिने गरी सवारीसधानको भाडा बढेको छ। हालै मात्र यातायात व्यवसायीले १० प्रतिशत भाडा बढाएका छन्।

इन्धनको मूल्य वृद्धिका कारण खाद्यवस्तुदेखि कलकारखानासम्म प्रभाव पार्ने राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए।

असर

उनले भने, "पेट्रोलियम पदार्थ कुनै न कुनै रुपमा कल कारखानामा कच्चा पदार्थको रुपमा प्रयोग हुने गरेको छ। त्यसैले उद्योग व्यवसायको मूल्य बढ्ने देखिन्छ।"

"यस्तै सामान ढुवानीको खर्च बढ्छ र त्यसले खाद्यानदेखि दैनिक प्रयोग हुने वस्तुको मूल्य बढ्छ। जुन हिसाबले अहिले तेलको मूल्य बढिरहेको छ त्यसले ठूला आयोजनाको लागत बढेर बजेट अपुग हुन सक्छ।"

सात महिनाअघि प्रतिलिटर १०४ रुपैयाँमा पाइने पेट्रोलको भाउ अहिले काठमाण्डू उपत्यकामा ११४ पुगेको छ भने ८३ रुपैयाँ रहेको डिजेल र मटीतेल १०१ रुपैयाँ रहेको छ।

इन्धन

राष्ट्र ब्याङ्कले हालै सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय स्थितिमा ४.२ प्रतिशत मुद्रास्फिति रहेको देखिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा २.३ प्रतिशत मुद्रास्फिति रहेको थियो।

असन्तुलित

चाडपर्वको मुखमै बढेको बजार भाउले तनाव बढाएको अनुभव काठमाण्डू गैरीधाराकी ४५ वर्षीया रमा श्रेष्ठ बताउँछन्।

"पहिले १५ सय पर्ने चामल १९ सय पुगेको छ। दाल, तरकारी, फलफूल सबैको मूल्य बढेको छ। चाडपर्वको मुखमा यसरी धान्नै नसक्ने गरी खानेकुराको भाउ बढेको छ।"

पछिल्लो समय सवारी साधनको सङ्ख्या निकै बढेका कारण सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ पर्छ।

इन्धनको माग र मूल्य दुवै बढ्दा नेपालको अर्थतन्त्रलाई असन्तुलित बनाउने गरेको व्यापार घाटा झनै बढ्ने अर्थविद्हरू बताउँछन्।