नाकाबन्दीको झल्को दिने इन्धन तस्करी

इन्धनको तस्करी

तस्बिर स्रोत, NOC

कतै ड्रममा त कतै भरियालाई बोकाएर अनि कतै निजी सवारी साधनमा टन्न भरेर, यस्तै विभिन्न शैलीमा गरिने इन्धन तस्करीले अढाइ वर्षअघिको नाकाबन्दीको झल्को दिइरहेको छ।

फरक यत्ति छ, नाकाबन्दीका बेला भारतबाट नेपालतर्फ इन्धन आउँथ्यो यतिखेर नेपालबाट भारततर्फ गइरहेको छ।

नेपालबाट भारततर्फ तीव्र रूपले इन्धन तस्करी बढे पनि त्यसलाई रोक्न चालिएका कदमहरू भने सफल हुन नसकेको सरकारी अधिकारीहरूले स्वीकारेका छन्।

नेपालमा बिक्री हुने इन्धनको भाउ तुलनात्मक रुपमा सस्तो भएपछि सीमा क्षेत्रबाट खासगरी पेट्रोल तथा डिजेलको तस्करी बढेको उनीहरुले बताए।

लिटरमा २४ रुपैयाँसम्म सस्तो

सीमा क्षेत्रका भारतीय बजारको तुलनामा नेपालतर्फ इन्धनको भाउ एक लिटरमै १५/१६ रुपैयाँदेखि २३/२४ रुपैयाँसम्म सस्तो छ।

करिब तीन महिनाअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थानीय प्रशासनलाई पत्र पठाउँदै सीमा क्षेत्रमा हुने इन्धन तस्करी रोकिदिन आग्रह गरेको थियो।

त्यसपछि इन्धन तस्करी रोक्न गरिएका प्रयत्न खासै सफल हुन नसकेको सीमा क्षेत्रका अधिकारीहरू बताउँछन्।

तस्करी रोक्न सीमा क्षेत्रका पेट्रोल पम्पको आपूर्ति ५० प्रतिशतले कटौती गरिएको भारतसँग सीमा जोडिएको पूर्वी नेपालको एउटा जिल्ला मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए।

उनले भने, "भारतबाट आउने गाडीलाई सीमादेखि उनीहरूको पेट्रोलपम्पसम्म पुग्नका लागि १५ देखि २० लिटर दिने व्यवस्था गरेका छौं। किसानलाई चाहिँ वडा समितिको सिफारिसमा १० लिटर दिने व्यवस्था छ।"

भरिया बने किसान

आचार्यका अनुसार किसानलाई समेत कतिपयले भरियाको रुपमा प्रयोग गरेर इन्धन तस्करी गरिरहेकाले त्यसलाई नियन्त्रण गर्न समस्या भएको बताए।

त्यसबाहेक भारतबाट ट्याङ्कर नै ल्याएर इन्धन लगेको र ठूला सवारी साधनमा पालैपालो भरेर लैजाने गरेका घटना समेत हुने गरेको उनको भनाइ छ।

यस्ता गतिविधि नियन्त्रण गर्न सहज नभएको आचार्यले बताए।

सरकारी अधिकारीहरु इन्धनको अनधिकृत निकासीमा कतिपय पेट्रोल पम्प सञ्चालकहरूको समेत संलग्नता रहेको आरोप लगाउँछन्।

तर, पेट्रोल पम्प सञ्चालकहरू भने सीमामा भइरहेको तस्करीमा व्यवसायीको संलग्नता नभएको बताउँछन्।

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान भन्छन्, "सबैभन्दा सजिलो अरुलाई आरोप लगाइ दिन हुन्छ। प्रमाण जुटाउनु परेन, आरोप लगाएपछि सीमामा सुरक्षा गर्ने सुरक्षा निकायलाई पनि दोष भएन"।

समस्या खुला सिमाना

दुई मुलुकको मूल्य समान नहुँदा र खुला सिमानाका कारण यस्तो समस्या पटक-पटक दोहोरिने गरेको नेपाल आयल निगमका अधिकारीहरूको भनाइ छ।

सरकारी स्वामित्वको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराई भन्छन्, "सीमामा कडाइ गर्ने मात्र होइन मूल्यमा पनि समायोजन गर्नुपर्छ। मूल्यचाँहि कमसेकम हामीले सस्तो भएकोमा घाटा खानु भएन नि।"

नेपाल आयल निगमका अनुसार, हाल नेपाली सीमाको एउटा बजार वीरगञ्जमा नजिकैको भारतीय बजार रक्सौलको तुलनामा पेट्रोल प्रतिलिटर २२ र डिजेल प्रतिलिटर २४ रुपैयाँ सस्तो रहेको छ।

भारततर्फ तस्करी बढ्दै गए नेपाली सीमा क्षेत्रमा माग अनुसार सहज रुपमा इन्धन आपूर्तिमा कठिनाइ हुनसक्ने बताइन्छ।