बलात्कारविरोधी अभियानकर्तालाई नोबेल शान्ति पुरस्कार

मुराद र मक्वेग

तस्बिर स्रोत, EPA

पढ्ने समय: ३ मिनेट

युद्धका बेला हुने बलात्कारविरुद्ध अभियान चलाएका दुई मानव अधिकारवादी नादिया मुराद र डेनिस मक्वेगलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ।

नोबेल पुरस्कार विजेता चयन गर्ने समितिकी अध्यक्ष बेरिट राइस-आन्डर्सनले उनीहरू दुई जनाले त्यस्ता अपराधविरुद्धको सङ्घर्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन्।

मुराद इराकी यजिदी महिला हुन्। उनलाई लडाकु समूह इस्लामिक स्टेटले अपहरण गरेर यौनदासी बनाएका थियो।

मक्वेग कङ्गोका स्त्रीरोग विशेषज्ञ हुन्। उनी हजारौँ बलात्कृत महिलाहरूको उपचारमा संलग्न भएका छन्।

यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि विभिन्न व्यक्ति र संस्था गरेर कुल ३३१ वटा नाम सिफारिस भएका थिए।

सन् २०१६ मा सर्वाधिक ३७६ नाम मनोनयनमा परेका थिए।

विजेताहरूको नाम शुक्रवार ओस्लोमा घोषणा गरिएको हो।

यौनहिंसालाई युद्धमा हतियारका रूपमा प्रयोग हुन नदिने प्रयासका लागि उनीहरूलाई नोबेल पुरस्कार दिइएको राइस-आन्डर्सनले बताइन्।

को हुन् मुराद र मक्वेग?

मुराद

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१४ मा मुराद यजिदी समुदायका मानिसहरूलाई मुक्त गराउने अभियानमा संलग्न भइन्

सन् २०१४ नोभेम्बरसम्म इराकको मोसुल सहरमा मुराद इस्लामिक स्टेटकी बन्धक थिइन्।

तर पछि उनी भाग्न सफल भइन् र यजिदीहरूको मुक्तिका लागि र मानवतस्करी रोक्न अभियान चलाइन्।

उनीलगायत झन्डै तीन हजार यजिदी महिलाहरूलाई इस्लामिक स्टेटले बन्धक बनाएको थियो। उनीहरूले बलात्कार र अन्य दुर्व्यवहार खेप्नु परेको थियो।

ती दुर्व्यवहार सङ्गठित रूपमै सैन्य रणनीतिअन्तर्गत भएका नोबेल कमिटीकोले जनाएको छ।

कङ्गोका मक्वेग स्त्रीरोग विशेषज्ञ हुन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कङ्गोका मक्वेग स्त्रीरोग विशेषज्ञ हुन्

उनीहरूलाई यजिदी र अन्य धार्मिक अल्पसङ्ख्यकविरुद्धको लडाइँमा हतियारका रूपमा प्रयोग गरिएको थियो।

मुराद २३ वर्षको उमेरमा सन् २०१६ मा मानवतस्करीबाट जोगिएका व्यक्तिको आत्मसम्मानका लागि संयुक्त राष्ट्रसङ्घकी सद्भावनादूत बनिन्।

आफ्ना सहकर्मीहरूसँग मिलेर मक्वेगले यौनहिंसाबाट पीडित झन्डै ३० हजार महिलाहरूको उपचार गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

युद्धग्रस्त क्षेत्रमा महिलालाई यौनहिंसाबाट हुने घाउचोटको उपचारमा उनको विशेषज्ञता छ।

उनले निरन्तर रूपमा दण्डहीनता र सामूहिक बलात्कारका घटनाको निन्दा गरेका छन्। युद्धका बेला महिलाविरुद्ध हुने यौनहिंसालाई हतियारका रूपमा प्रयोग गर्ने चलनलाई रोक्न पर्याप्त काम नगरेको भन्दै उनले कङ्गोको सरकार र अन्य देशको आलोचना गर्दै आएको नोबेल समितिले जनाएको हो।

पुरस्कार पाएपछि मक्वेगले भने, "प्रत्येक बलात्कृत महिलामा म आफ्नी श्रीमती देख्छु। प्रत्येक बलात्कृत आमामा म आफ्नी आमा देख्छु र प्रत्येक बलात्कृत बच्चामा म आफ्नो बच्चा देख्छु। हामी कसरी चुप बुस्नसक्थ्यौ?"

अरू विधाका विजेता

लेजर फिजिक्सको क्षेत्रमा गरिएका आविष्कारका लागि एक महिलासहित तीन वैज्ञानिकलाई भौतिक शास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार दिइएको छ।

क्यानडाकी डोना स्ट्रिक्ल्यान्ड ५५ वर्षमा भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार पाउने प्रथम महिला वैज्ञानिक भएकी छन्। सो विधामा नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन्।

शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएका दुई वैज्ञानिकले संयुक्त रूपमा सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन्।

अमेरिकाका प्राध्यापक जेम्स पी एलिसन र जापानका प्राध्यापक तासुकु होन्जोको अनुसन्धानले छालाको डरलाग्दो क्यान्सरको उपचारमा सम्भावनाको नयाँ बाटो खोलिदिएको थियो।

त्यसैगरी एन्जाइमबारे गरिएका अनुसन्धानका लागि एक महिलासहित तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फ सन् २०१८ को नोबेल पुरस्कार प्रदान गरिएको छ।

नोबेल

तस्बिर स्रोत, ALFREDNOBEL.ORG

अमेरिकी वैज्ञानिकहरू फ्रान्सेस आर्नोल्ड, जोर्ज पी स्मिथ र ब्रिटेनका वैज्ञानिक ग्रेगरी विन्टरले संयुक्त रूपमा सो पुरस्कार पाएका हुन्। उनीहरूले 'डिरेक्टिड इभ्युलुशन' नाम दिइएको प्रविधि प्रयोग गरेर नयाँ प्रोटिनहरू बनाएका थिए। त्यसरी बनाइएका प्रोटिन नयाँ औषधिदेखि इन्धनसम्म बनाउन र विभिन्न क्षेत्रमा प्रयोग गरिन्छ।

कुन विधामा बाँकी

अब आगामी सोमवार अर्थशास्त्र तर्फका विजेताका नाम घोषणा गरिनेछ।

तर एउटा यौनदुर्व्यवहारको घटनाका कारण स्वीडिश अक्याडमीले यस वर्ष साहित्यविधाको नोबेल पुरस्कार विजेताको नाम घोषणा गर्नेछैन।

अर्को वर्ष सन् २०१८ र २०१९ का विजेताको घोषणा एकैचोटि गरिने बताइएको छ।