रुसले साइबर हमला गर्यो: अमेरिका, ब्रिटेन तथा नेदर्ल्याण्ड्स

तस्बिर स्रोत, Dutch Government
अमेरिकी न्याय मन्त्रालयले सातजना रुसी एजेन्टको नामै तोकी अभियोग लगाएको छ भने ब्रिटेन तथा नेदर्ल्याण्ड्सका गुप्तचर निकायले गरेको संयुक्त कारबाहीमा चारजना रुसी गुप्तचर दोषी पाइएको बताइएको छ।
रुसले भने ती आरोप अस्वीकार गरेको छ।
के छन् आरोप?

तस्बिर स्रोत, FBI
अमेरिकाको न्याय मन्त्रालयले सातजना रुसी गुप्तचर एजेन्टमाथि फिफा, खेलकूदमा लागु औषध प्रयोग निषेध गर्ने निकाय वाडा, तथा अमेरिकास्थित परमाणु ऊर्जा कम्पनीका प्रणालीहरूमा ह्याक गर्ने षडयन्त्र गरेको दोष लगाएको छ।
तीमध्येका चार जनाको नाम ब्रिटिश तथा डच गुप्तचर निकायले रुसी जासुस संस्था जी आर यु का एजेन्ट विरुद्ध गरेको संयुक्त कारबाहीका क्रममा पनि आएको छ।
तिनीहरूमाथि हेगस्थित रसायनिक अस्त्र निषेध गर्ने निकाय ओपीसीडब्लुको कम्प्युटर ह्याक गर्ने प्रयास गरेको आरोप लगाइएको छ।
नेदर्ल्याण्ड्सका गुप्तचर निकायका प्रमुखका अनुसार ती चारजना रुसी एप्रिल महिनामा कूटनीतिक राहदानीमा त्यहाँ आएका थिए।
उनीहरूले सो निकायमाथि साइबर हमला गर्न खोजेको र त्यसलाई विफल पारिएको उनले बताए।
क्यानडाले पनि मन्ट्रियलस्थित वाडाको कार्यालयमा भएका साइबर हमला रुसी गुप्तचर निकायले गराएकोमा आफू विश्वस्त भएको जनाएको छ।
बीबीसीका कूटनीतिक सम्वाददाता जेम्स ल्यान्डेल भन्छन् खासगरि ब्रिटिश र डच गुप्तचर निकायले विस्तारमा आफ्ना कारबाही सार्वजनिक गर्नु आफैँमा अनौठो थियो।
सामान्यतया गुपचुप राखिने यस्ता विषयहरूबारे खुलेर बताउनुको अर्थ पश्चिमा राष्ट्रहरू मिलेर रुसका कारबाहीविरुद्ध लाग्न खोजेको देखिन्छ।








