उत्तर कोरियाबाट भाग्नेको सङ्ख्या ‘घट्दो’
सात वर्षअघि किम जङ-अन सत्तामा आएपछि उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया जाने मानिसहरूको सङ्ख्यामा कमी आएको एक दक्षिण कोरियाली वकिलले बताएका छन्।

तस्बिर स्रोत, United States Forces Korea
दक्षिण कोरियाली एकीकरण मन्त्रालयललाई उद्धृत गर्दै पार्क बियङ-सिउगले सन् २०११ मा २,७०६ जना उत्तर कोरियालीहरू देश छाडेर भागेकोमा गत वर्ष त्यसमा कमी आएर १,१२७ मा झरेको बताए।
भगौडाहरूको सङ्ख्यामा कमी आउनुको प्रमुख कारणमा उत्तर कोरिया र चीनबीचको सिमानामा अझ बढी कडाइ हुनु र तस्करहरूले बढी रकम लिनु रहेको छ।
प्योङयाङले त्यसबारे कुनै सार्वजनिक टिप्पणी गरिसकेको छैन। भगौडामध्ये अधिकांशले ढिलो वा चाँडो दक्षिण कोरियाको नागरिकता पाउने गरेका छन्।
गैरकानूनी
सोल भन्छन्, सन् १९५३ मा कोरियाली युद्ध समाप्त भएपछि ३० हजारभन्दा बढी उत्तर कोरिया नागरिकहरू गैरकानूनी रूपमा सीमा कटेर दक्षिण कोरिया पुगेका छन्।
अधिकांश भगौडाहरू उत्तर कोरियासँग सबैभन्दा लामो सीमा जोडिएको छिमेकी देश चीन भएर दक्षिण कोरिया पुग्ने गर्छन्।
सैन्य गतिविधि नहुने दुई कोरियाबीचको क्षेत्र भएर जानुभन्दा चीन भएर दक्षिण कोरिया जानु उनीहरूलाई सजिलो हुन्छ।

तस्बिर स्रोत, Reuters
चीनले भगौडाहरूलाई शरणार्थी नभइ गैरकानूनी आप्रवासीका रूपमा लिने गर्छ र प्रायः उनीहरूले बलपूर्वक उत्तर कोरिया फर्काइदिन्छ।
प्राविधिक रूपमा अझै युद्धको अवस्थामा रहे पनि पछिल्ला महिनाहरूमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ।
निरस्त्रीकरण
यसै महिनाको शुरूतिर दुई देशका नेताले प्योङयाङमा भेटवार्ता गरे, जुन अवरुद्ध निरस्त्रीकरण वार्तामाथि केन्द्रित थियो।
गत जुनमा सिंगापुरमा अमेरिकी राष्ट्रिपति डोनल्ड ट्रम्प र किम जङ-अनबीच भएको ऐतिहासिक शिखर बैठकपछि दुई कोरियाली नेताले प्योङयाङमा भेटवार्ता गरेका हुन्।
सिंगापुर शिखर बैठकमा ट्रम्प र किमले कोरियाली प्रायःद्वीपलाई पारमाणविक अस्त्र मुक्त बनाउने दिशामा काम गर्ने सहमति गरेका थिए।
तर न्यूयोर्कमा शनिवार संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्री रि यङ-होले अमेरिकाले प्रतिबन्धहरू जारी राखेमा आफ्नो मुलुकले निरस्त्रीकरण नगर्ने चेतावनी दिए।
उनले प्रतिबन्धहरूले अमेरिकाप्रतिको उत्तर कोरियाको 'अविश्वासलाई गहिरो बनाउँदै लगेको' बताए।
उनले भने, "अमेरिकामाथि विश्वास नहुञ्जेल हाम्रो राष्ट्रिय सुरक्षामा विश्वस्त हुन सकिँदैन र त्यस्तो परिस्थितिमा हामीले पहिला निरस्त्रीकरण गर्ने कुरा हुँदैन।"








