किमसँग दोस्रो शिखर बैठक छिट्टैः ट्रम्प

तस्बिर स्रोत, AFP/Getty
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनसँग दोस्रो शिखर बैठक 'धेरै टाढा नरहेको' आशा व्यक्त गरेका छन्।
न्यूयोर्कमा दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनसँगै उभिएका ट्रम्पले 'धेरै प्रगति' भएको बताए।
उनले भने, "सम्बन्ध एकदम राम्रो छ र केही दृष्टिकोणले असाधारण।"
एक वर्षअघि मात्रै अमेरिका र उत्तर कोरिया पारमाणविक मुठभेडबारे सार्वजनिक रूपमा बोल्ने गर्थे। तर गत जुनमा ट्रम्ले किमसँग पहिलो पटक ऐतिहासिक शिखर वार्ता गरे।
निर्णय
त्यसअघि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बोल्दै ट्रम्पले विदेशमन्त्री माइक पोम्पेओले अर्को शिखर बैठकको व्यवस्थापन 'छिट्टै गर्ने' बताएका थिए।
शिखर बैठक कहाँ हुने भन्नेबारे चाहिँ निर्णय भइनसकेको उनले बताए।
दक्षिण कोरियाली राष्ट्रपति मूनले हालै प्योङयाङको उच्चस्तरीय भ्रमण गरेका थिए।

तस्बिर स्रोत, Reuters
गत एक दशकमा कुनै पनि दक्षिण कोरियाली राष्ट्रपतिले प्योङयाङको भ्रमण गरेको त्यो पहिलो पटक थियो।
सोमवार बोल्दै मूनले 'निरस्त्रीकरणलाई पूरा गर्ने अध्यक्ष किमको प्रतिबद्धतालाई पुष्टि गराउन आफू सक्षम भएको' बताए।
इच्छा
भेटवार्ताका क्रममा किमले राष्ट्रपति ट्रम्पलाई पुनः भेट्न चाहेको इच्छा समेत व्यक्त गरेको मूनले उल्लेख गरेका छन्।
बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच सिंगापुरमा जुनमा भएको शिखर बैठक हालसम्मकै पहिलो अवसर थियो।
दुवै नेताले नयाँ सम्बन्ध स्थापित गर्ने, 'पूर्ण निरस्त्रीकरणका लागि काम गर्ने' र कोरियाली प्रायःद्वीपमा दीर्घकालीन शान्तिका लागि काम गर्नेबारे एउटा सहमतिमा हस्ताक्षर गरेका थिए।
यद्यपि निरस्त्रीकरण कहिलेसम्म हुने र त्यसको प्रमाणीकरण कहिलेसम्म गरिने भन्नेबारे उक्त सहमति स्पष्ट छैन।









