'हमलाको कठोर जवाफ दिन्छौँ: रुहानी

सैनिक परेड

तस्बिर स्रोत, AFP

बन्दुकधारीहरूले इरानको एहवाज शहरमा एउटा सैनिक परेडमा गोली चलाँदा आक्रमणमा परी सर्वसाधारणसहित २९ जनाको ज्यान गएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

सरकार विरोधी एउटा अरब समूह "एहवाज न्याश्नल रिजिस्टेन्स" तथा इस्लामिक स्टेट दुवैले सो हमलाको जिम्मा लिएका छन्।

सैन्य परेड भएको स्थल नजिकै रहेको एउटा पार्कबाट हमलाकारीहरूले हमला गरेका थिए र उनीहरूले सैनिक पोशाक लगाएको विवरणहरूमा जनाइएको छ।

हमलामा परी अन्य ५० जना भन्दा धेरै घाइते भएका छन्।

आरोप

इरानले उसको क्षेत्रीय प्रतिद्वन्द्वी साउदी अरेबियालाई इरानभित्र रहेका अल्पसङ्ख्यक अरब समुदायले गर्ने पृथकतावादी गतिविधिलाई सहयोग गरेको आरोप लगाएको छ।

राष्ट्रपति रुहानीले उनको देशमाथि आउने सानोभन्दा सानो जोखिमको पनि कडा रूपमा प्रतिक्रिया जनाइने तर आतङ्कवादीहरूलाई सहयोग गर्नेहरूलाई पनि जिम्मेवार ठहराइनुपर्ने बताएका छन्।

एकजना इरानी सैन्य प्रवक्ताले भने हमलाकारीहरू इस्लामिक स्टेटसँग आबद्ध नभएको र 'दुईवटा खाडी देशहरूले हमला गराएको' बताएका छन्।

इरान

तस्बिर स्रोत, AFP

इरानका विदेशमन्त्री जवाद जारिफले पनि हमलाकारीहरूलाई विदेशी शक्तिले सहयोग गरेको दोष लगाएका छन्। उनको त्यस्तो भनाइ इजरेल वा साउदी अरेबियाप्रति लक्षितजस्तो देखिन्छ।

तर आफ्नो दाबीलाई पुष्टि गर्ने केही सबुत भने ‍उनले प्रस्तुत गरेनन्।

इरानको फार्स समाचार संस्थाका अनुसार हमलाकारीहरूले करिब १० मिनेटसम्म हमला गरेका थिए र चार जना बन्दुकधारीहरूको ज्यान गएको बताइएको छ।

हमला कसले गर्‍यो भनेर बाझिने खालका विवरणहरू आएका छन्।

इरानी प्रान्त खुजस्तानस्थित अरब अल्पसङ्ख्यकको अधिकारका लागि लडिरहेको बताउने एउटा अरब समूहले हमला आफूले गराएको बताएको छ भने इस्लामिक स्टेटसँग सम्बन्धित अमाक समाचार संस्थाले सो हमला इस्लामिक स्टेटले गराएको दाबी गरेको छ।

यसअघि पनि इस्लामिक स्टेटले इरानमा एउटा ठूलो हमला गरेको थियो।