किन आममाफी चाहँदैनन् नेपाली कामदार

दुई महिनाअघि मलेशियाबाट नेपाल फर्किएका गोरखाका शेखर पाण्डे केही वर्षदेखि गैरकानुनी हैसियतमा बसेर सुरक्षा गार्डका रूपमा काम गरिरहेका थिए।
मलेसियाले त्यस्ता कामदारलाई स्वदेश फर्कन दिएको अवसरलाई उपयोग गर्दै नेपाल आएका पाण्डेसँगै गैरकानुनी रूपमा कार्यरत कतिपय नेपाली भने अझै उतै छन्।
आफूसँगै काम गर्ने करिब दुई सय गैरकानुनी नेपाली कामदारमध्ये आधाभन्दा केही बढीले मात्र आममाफीको उपयोग गरेर स्वदेश फर्किएको उनी बताउँछन्।
गैरकानुनी भएपनि कतिपय कामदारले आममाफी उपयोग नगर्नुका विभिन्न कारण रहेको उनी बताउँछन्।
ऋण
उनले भने, "भर्खर गएकाहरू कमाइ नभएपछि कम्पनी छाडेको दुई/तीन महिनामा नै नेपाल फर्कने अवस्था छैन। यता आए ऋण धेरै छ, साहुले टेन्सन दिन्छ भन्नेहरू छन्। उनीहरू फर्कन चाहन्छन् तर आर्थिक कारणले गर्दा सक्दैनन्।"
गत अगस्टमा अवधि सकिएको उक्त आममाफीका समयमा नेपाल फर्कन चाहने कामदारले फेरि मलेशिया जान नपाउने गरी एकतर्फी स्वदेश फिर्तीको अवसर पाएका थिए।
सुरुमा एउटा कम्पनीमा काम गर्नका लागि गएका र पछि त्यो कम्पनी छाडेर गैरकानुनी बनेका कतिपय कामदारहरूले उक्त आममाफी उपयोग नगर्दा अझैपनि ठूलो संख्यामा नेपाली गैरकानुनी रूपमा रहेको सरकारी अधिकारीहरू स्वीकार्छन्।
मलेसियास्थित कार्यवाहक नेपाली राजदूत कुमारराज खरेल भन्छन्, "अझैपनि अवैधानिक भएर बसेका मान्छेहरूको संख्याहरू ५०-६० हजारभन्दा पनि बढी हुनसक्छ। कतिपय कामहरूमा अवैधानिक भएपनि सन्तुष्ट भएर नै बसेका छन्। समस्या परेपछि मात्र बाहिर आउँछन्।"
बिचौलिया
दूतावासका अधिकारी र कामदारका अनुसार गैरकानुनी रूपमा कार्यरत नेपालीहरूलाई कतिपय रोजगारदाताले समेत आममाफीमा सहभागी नहुन प्रेरित गर्ने गर्छन्।
गैरकानुनी कामदारलाई केही सस्तोमा काम गराउन पाइने भएकाले उनीहरूले त्यस्तो गर्ने गरेको बताइन्छ।
त्यसका लागि केही नेपाली बिचौलिया समेत सक्रिय रहेको नेपाल फर्किएका कामदारहरू बताउँछन्।
मलेशियाले जस्तै खाडी मुलुकहरू कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई) लगायतले पनि बेलाबखत गैरकानुनी कामदारलाई यस्तै अवसर दिँदै आएका छन्।
अनिच्छा
तर, ती मुलुकहरूमा कार्यरत कतिपय नेपाली कामदार यस्ता अवसरमा सहभागी हुन अनिच्छुक देखिन्छन्।
गत अगस्ट १ तारिखदेखि तीन महिनाका लागि युएईले पनि गैरकानुनी कामदारलाई त्यस्तैखाले आममाफीको अवसर दिएको छ।
त्यस अवसरमा कम्पनी परिवर्तन गरेर वा भिसा अवधि सकिएर गैरकानुनी बनेकाहरू सहभागी हुनसक्ने छन्।
तर, कतिपय नेपालीहरूले त्यसलाई बेवास्ता गरिरहेको त्यहाँस्थित दूतावासका अधिकारीहरू बताउँछन्।
कारण
आममाफीमा सहभागी भई गैरकानुनी कामदारले आफूलाई कानुनी बनाउन वा स्वदेश फर्कन सक्छन्।
तर, आममाफीलाई उपयोग गर्न चाहनेमध्ये अधिकांशले स्वदेश फर्कने विकल्पलाई नरोजेको युएईस्थित कार्यवाहक नेपाली राजदूत सागरप्रसाद फुँयालले बताए।
उनले भने, "यहाँको रहनसहन र सिस्टमहरू सबै थाहा भइसकेको अवस्था हुँदा र कतिपयको रोजगारदाताहरू र कम्पनीहरूसँग पनि पहुँच भइराख्ने हुदा वैध बनेर बस्न खोजेको नै देखिन्छ।"
उक्त अवसर उपयोग गरि गैरकानुनी कामदारले काम खोज्नका लागि ६ महिने भिसा लिन वा फेरि युएई फर्कन रोक नलाग्ने गरि स्वदेश फर्कन पाउँने बताइन्छ।
बेवास्ता
करिब डेढ वर्षअघि साउदी अरेबियाले दिएको यस्तै आममाफीमा पनि सबै गैरकानुनी नेपाली कामदार सहभागी नभएको बताइन्छ।
त्यसका कारण अझै पनि साउदी अरेबियामा गैरकानुनी नेपाली कामदार रहिरहेको अधिकारीहरू बताउँछन्।
खाडी मुलुकमा नेपाली कामदारको सबैभन्दा आकर्षक गन्तव्य मानिएको कतारमा पनि दुई वर्षअघि यस्तै आममाफी दिइएको थियो।
त्यसबेला पनि कतिपय नेपालीहरूले उक्त अवसरलाई सदुपयोग नगरेको त्यहाँस्थित नेपाली दूतावासका अधिकारीहरू बताउँछन्।
नयाँ व्यवस्था
हालै कतार सरकारले विदेशी कामदारले लिनुपर्ने अनिवार्य अनुमतिको व्यवस्था हटाउने निर्णय गरेको छ।
कार्यान्वयन भइनसकेको उक्त व्यवस्थाले गैरकानुनी हैसियतमा बसेका नेपालीहरूलाई मद्दत पुग्ने बताइएका बेला कतिपय नेपालीले भने त्यसलाई पनि उपयोग नगर्ने सम्भावना रहेको त्यहाँस्थित गैर आवासीय नेपाली संघका पदाधिकारीहरू बताउँछन्।
त्यसको कारणबारे गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका द्वितीय उपाध्यक्ष एवम् श्रमिक विभागका संयोजक सुदर्शन भट्ट भन्छन्, "सबै व्यक्तिहरू सञ्चारमाध्यमबाट नजिक त्यसपछि दूतावासबाट र पत्रपत्रिकाबाट नजिक हुने सम्भावना कमै हुन्छ। भागेर साइट तिर गएर काम गर्ने, बिहान र दिउँसो ड्यूटी गर्ने अनि बेलुका आएर सुत्ने मात्र काम गर्नेलाई कहिले खुल्यो, कति खुल्यो भन्ने जानकारी नभएर नै त्यस्तो सम्भावना छ।"
अधिकारीहरूका अनुसार हाल कतारमा तीन लाख ७५ हजार भन्दा बढी नेपाली कामदारहरू रहेको औपचारिक तथ्याङ्क छ।
तर, अवैध रूपमा कार्यरत रहेकाहरू सो तथ्याङ्कमा नसमेटिएकाले साढे चार लाखदेखि पाँच लाख हाराहारीमा नेपाली कामदार हुनसक्ने कतारमा रहेका गैरआवासीय नेपालीहरू बताउँछन्।
वैदेशिक रोजगारीमा जानका लागि गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएकाको तथ्याङ्क हेर्ने हो भने दैनिक एक हजार ६ सय भन्दा बढीको संख्यामा नेपाली कामादार विदेश गएका थिए।
त्यसमध्ये कतार मलेसिया र साउदी अरेबियामा मात्र आधाभन्दा बढी कामदार गएका थिए।








