क्रिकेट मैदानमा विपक्षीले ‘ओसामा’ भनेपछि

तस्बिर स्रोत, Getty Images
इङ्ग्ल्याण्ड क्रिकेटका अलराउण्डर मोइन अलिले आफ्नो 'आत्मकथा'मा तीन वर्षअघि अष्ट्रेलियासँगको खेलका क्रममा एक विपक्षी खेलाडीले आफूलाई 'ओसामा' भनेको दाबी गरेका छन्।
सन् २०१५ मा संयुक्त अधिराज्यको कार्डिफमा इङ्ग्ल्याण्ड र अष्ट्रेलियाबीच भइरहेको टेस्ट क्रिकेटका क्रममा आफूविरूद्ध उक्त आरोपयुक्त टिप्पणी गरिएको अलिले छिट्टै सार्वजनिक हुन लागेको आफ्नो पुस्तकमा उल्लेख गरेका छन्।
बाक्लो दाह्री पालेका ३१ वर्षीय मुस्लिम खेलाडी अलिका अनुसार विपक्षी टोलीका एक खेलाडीले उनीतर्फ फर्किएर 'ओसामा, त्यो लग' भनेका थिए। उनले ती खेलाडीको नाम खुलाएका छैनन्।
अष्ट्रेलिया क्रिकेटले त्यसलाई गम्भीर रूपमा लिएको जनाएको छ।
अस्वीकार
त्यसका प्रवक्ताले भनेका छन्, "खेलकुद होस् वा समग्र समाजमा त्यस्तो भाषाको स्थान हुँदैन। आरोप लगाइएको घटनाका विषयबारे विस्तृत जानकारीको खाँचोको अनिवार्यताका कारण इङ्ग्ल्याण्ड र र वेल्स क्रिकेट बोर्डसँग पनि छलफल गर्छौं।"
अलिले अल-कायदाका मारिसकिएका नेता ओसामा बिन लादेनसँग आफूलाई दाँज्दा आफ्नो अनुहार रातो भएको उल्लेख गरेका छन्।
द टाइम्स पत्रिकाले मोइनको किताबको अंश उद्धृत गर्दै लेखेको छ, "मैले जे सुनेँ आफैँलाई पत्यार लागेन। मलाई सम्झना छ, म रातोपिरो भएँ, क्रिकेट मैदानमा म कहिल्यै त्यसरी रिसाएको थिइनँ।"

तस्बिर स्रोत, Getty Images
तर पछि अष्ट्रेलियाली खेलाडीले आफूले त्यस्तो टिप्पणी गरेको कुरा अस्वीकार गरेको अलिको भनाइ छ।
उनका अनुसार अष्ट्रेलियाली कोचले ती खेलाडीलाई 'मोइनलाई तिमीले ओसामा भनेको हो?' भनेर सोधेका थिए।
तर ती खेलाडीले त्यो कुरा अस्वीकार गरेको अलिले लेखेका छन्।








