भुटानी शरणार्थी फिर्तीबारे कुरा गर्छौँ: ज्ञवाली

भुटानी शरणार्थी

अमेरिका तथा युरोपका कतिपय देशमा पुनर्वासका लागि नगइ नेपालमा बसोबास गरिरहेका भुटानी शरणार्थीले स्वदेश फिर्तीको माग गरिरहेका बेला यस विषयमा नेपालले औपचारिक कुराकानी थाल्ने नेपालका एक मन्त्रीले बताएका छन्।

लामो समयदेखि भुटानी शरणार्थीबारे नेपाल र भुटानबीच कुनै पनि वार्ता नभइरहेका बेला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको यस्तो भनाइ आएको हो।

बिहीवार र शुक्रवार काठमाण्डूमा भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका भूटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकारसँग समेत यस विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताए।

बिम्स्टेक शिखर सम्मेलनको ‌औपचारिक सत्रमा भुटानी शरणार्थीको विषय उठेन।

आग्रह

तर, नेपाल र भूटानबीच छुट्टै भएको द्विपक्षीय वार्तामा भने त्यस विषयबारे छलफल भएको थियो कि भन्ने प्रश्नको जवाफमा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले भने, "हाम्रा केही मुद्दाहरू छन् तपाईँहरूसँग कुरा गर्ने तर तपाईँको कामचलाउ सरकार हो। त्यसैले लामो समयदेखि थाती रहेका विषयमा निर्वाचनपछि बन्ने नयाँ सरकारसँग हामीले कुरा गर्छौँ है भन्यौँ।"

सम्मेलनमा भुटानको प्रतिनिधिका रूपमा त्यहाका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङ्चुक नेपाल आए लगत्तै भुटानी शरणार्थीहरूले आफूहरूलाई स्वदेश फर्कने वातावरण बनाइदिन पुन: आग्रह गरेका थिए।

भुटानी शरणार्थीहरूले स्वदेश फर्कन पाउनुपर्ने र निर्वासनमा बसेको समयको क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै आएका छन्।

तर यस्तो माग पूरा गर्न नेपाल सरकारको एक्लो प्रयास पर्याप्त नहुने ठम्याइ भुटानी शरणार्थी महिला मञ्चकी सचिव अमृता नेपालको छ।

भुटानी शरणार्थी बस्ने क्षेत्र

तस्बिर स्रोत, .

पुनर्वास

उनी भन्छिन्, "स्वादेश फिर्तीको लागि नेपाल सरकारले भारत र भुटानसँग पहल गरिदिए हुन्थ्यो। हुन त कुरा भुटानको हो तर मुख्य त भारतसँग कुरा गर्नुपर्छ। यो तीनवटा देशको कुरा मिलेको भए शायद ७ हजारको हाराहारीमा बाँकी रहेका हामी अहिले आफ्नो देश फर्किसकेका हुन्थ्यौँ होला। शरणार्थीको सूचीमा नाम दर्ता गर्न छुटाएका समेतको गरेर त्यतिको सङ्ख्या पुगेको हो।"

सन् १९८०को उत्तरार्द्ध र १९९० को दशकमा भुटानबाट लखेटिएका एक लाखभन्दा बढी शरणार्थीलाई फिर्ता पठाउने पहल असफल भएपछि अन्तराष्ट्रिय संघ संस्थाहरूको सहयोगमा केहीलाई युरोप, अस्ट्रेलिया अमेरिका लगायतका मुलुकहरूमा पुनर्वास गरिएको छ।

हालसम्म एक लाखभन्दा बढी भुटानी शरणार्थी पुनर्वास भइसकेका छन्। हाल यो कार्यक्रम रोकिएको छ।

नेपालमै जन्मिएका नयाँ पुस्ताका शरणार्थीका सन्तानले भने यहीँ बस्ने इच्छा व्यक्त गरेको बताइन्छ।