हलो र गोरु छोडेर ट्र्याक्टर जोत्दै नुवाकोटका किसान

राजधानी काठमाण्डूसँगै जोडिएको नुवाकोट जिल्लामा किसानहरूले आधुनिक कृषिसामग्री र प्रविधि प्रयोग गर्न थालेका छन्।
परम्परागत कृषिकर्ममा अभिन्न अङ्ग मानिएको होलो र गोरुलाई हिजोआज ट्र्याक्टरले विस्थापित गर्न थालेको छ। किसानहरूले बिस्तारै गोरु पाल्न छोडेको देखिन्छ।
आधुनिक जीवनशैली र वैदेशिक रोजगारीका कारण कृषिकर्ममा प्रभाव पर्न थालेपछि ट्र्याक्टरको प्रयोग बढेको किसानहरू बताउँछन्।
उनीहरूका अनुसार ट्र्याक्टरले खेतीबाली लगाउने, माटो धुल्याउने काममा निकै सजिलो बनाइदिएको छ।
पहिला खेतबारी जोत्न, दाइँ गर्न तथा विभिन्न कृषिकर्मका लागि गोरु आवश्यक हुन्थे। तर अहिले बजारमा ट्र्याक्टर, हातेट्र्याक्टर, मिनिटिलर तथा अरू उपकरणहरू भित्रिएका छन् र तिनप्रति कृषकको आकर्षण बढेको छ।
फाइदा
असारमा र चैतमा धान रोप्न, मकै रोप्न र तरकारी लगाउनेलगायत काममा गोरुको लागि पालो कुर्नुपर्दा समयमा खेती लगाउन नपाएको स्मरण गर्दै ट्र्याक्टर पाएपछि त्यस्तो समस्या हटेको नुवाकोट म्यगाङ गाउँपालिकाका प्रताप तामाङ बताउँछन्।
उनी भन्छन्, "एउटा ट्रयाक्टरले चार-पाँच हल गोरुको मेला भर्छ। किसानहरूलाई एकदम फाइदा भएको छ।हिलोमा पनि प्रयोग हुन्छ। ट्याक्टर हिउँदमा डल्लो फुटाउनदेखि लिएर मकै छर्न, गहुँ छर्न बाह्रै महिना प्रयोग गर्न सकिन्छ।"
कम जनशक्तिले थोरै समयमा काम सकिने र आवश्यकतानुसार जस्तो ठाउँमा पनि प्रयोग गर्न सकिने हुँदा हलो र जुवा काँधमा राखेर गोरु धपाउँदै हिँड्नु पर्ने झन्झट नभएको कृषकहरू बताउँछन्।
गोरुको विकल्पमा खेतबारी जोत्न हातेट्र्याक्टर सजिलो माध्यम भएकाले राज्यले अब अन्य कृषकहरूलाई पनि ट्र्याक्टरको महत्त्व र यसको प्रयोगबारेमा चेतना जगाउन आवश्यक रहेको तुप्चेका नवराज नेपालले बताउँछन्।
"ट्र्याक्टर अत्यन्त महत्त्वपूर्ण साधन हो। यो किसानहरूलाई अति आवश्यक छ।"

यसमा राज्यले जतिसक्दो धेरै अनुदानको सुविधा दिएर किसानको हातमा पुर्याउन म अनुरोध गर्दछु" ।
अनुदान
जिल्ला कृषि विकास कार्यालयले हरेक वर्ष समुदायको माग हेरेर ५० देखि ९० प्रतिशतसम्म सहुलियतमा ट्र्याक्टर अनुदान दिँदै आएको जनाएको छ।
जिल्लामा ट्र्याक्टर, हातेट्र्याक्टर र मिनिटिलर गरी झन्डै १५ सय थान वितरण भइसकेको परियोजना कार्यान्वयन एकाइ, तरकारी जोन नुवाकोटको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो समय कृषकहरूको ट्र्याक्टरप्रति आकर्षण बढेको बताउँदै कार्यालयका कृष्ण उपाध्याय भन्छन्, "यस वर्ष लगभग एक सय ८० वटा माग भइआएकोमा किसानहरूलाई हामीले ६० वटा मात्र मिनिटिलर वितरण गर्न सक्यौँ।"
उनका अनुसार मिनिटिलरको प्रयोगबाट उत्पादन लागत कम आएको र काम गर्न पनि सजिलो भएको हुनाले यसको माग बढेको छ।
खाद्यान्न तथा तरकारीका लागि उपयुक्त मानिएको जिल्लाका विभिन्न क्षेत्रमा गोरुको सट्टा ट्र्याक्टरको प्रयोग गर्नेको सङ्ख्या बढेको अधिकारीहरू बताउँछन् ।
तर यसको प्रयोग र महत्त्वबारे चेतनाको अभावले थुप्रै कृषकहरू यस्तो सुविधबाट वञ्चित भएको देखिन्छ।









