‘फोहोर थुप्रिनुमा स्थानीय सरकार पनि जिम्मेवार’

स्थानीय सरकारले फोहोर प्रशोधन गर्ने र त्यसलाई वैकल्पिक ऊर्जाको रूपमा प्रयोग गर्न अग्रसरता नदेखाएका कारण देशका विभिन्न शहरमा लामो समयसम्म फोहोर थुप्रिने समस्या दोहोरिने गरेको अधिकारीहरूले बताएका छन्।
राजधानी काठमाण्डूमा बारम्बार त्यस्तो समस्या बल्झिने गरेको छ।
काठमाण्डू महानगरपालिकाले पनि फोहोर फाल्ने जग्गाको खोजीलाई प्राथमिकता दिएको जनाएको छ।
फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको भए पनि भर्खरै संघीयताको अभ्यासमा होमिएका स्थानीय तहले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा नराखेको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले बताए।
प्राथमिकता
फोहोर प्रशोधन गरी वैकल्पिक प्रयोग योग्य बनाउन सरोकारवालाले ध्यान पुर्याउन सके देशका विभिन्न भागमा देखिने समस्या निकै कम हुने ज्ञवालीको भनाइ छ।
उनले भने, "फोहोर व्यवस्थापन गर्ने नगरपालिकाको प्रमुख जिम्मेवारी हो। तर उनीहरूले यसलाई प्राथमिकता दिन सकेका छैनन्।"
"फोहोर पनि स्रोत हो। विकसित देशहरूले यसबाट बिजुली निकालिरहेका छन्। तर यहाँ फोहोरले प्रदूषण बढाएको छ। थुप्रै नगरपालिकाले फोहोर विसर्जन गर्ने र प्रशोधन गर्ने ठाउँ खोज्न पनि चासो देखाएका छैनन्।"

तस्बिर स्रोत, Alamy
शहरी क्षेत्रको करिब दुई तिहाइ फोहोर जैविक फोहोर हुने गरेको बताइन्छ।
तर काठमाण्डू र ललितपुरमा एक महिना अघिदेखि फोहोर उठ्न नसकेपछि दुर्गन्धले निम्त्याउन सक्ने स्वास्थ्य जोखिम बेहोर्न राजधानीवासी बाध्य छन्।
बढ्दो शहरीकरणसँगै फोहोर पनि बढ्दो छ। वर्षौँदेखि यी शहरको फोहोर फालिने नुवाकोटको सिसडोल भरिएको छ।
विकल्प
तर अझै पनि फोहोर प्रशोधन गर्ने लागयतका दिगो उपाय खोज्नुको साटो काठमाण्डू महानगरपालिका जस्तो सुविधा सम्पन्न स्थानीय सरकार नै फोहोर फाल्ने जग्गाको खोजिमा छ।
महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले भनिन्, "बर्खामा लगातार पानी परेको कारण फोहोरको डङ्गुरमा पहिरो आयो। तर हामीले नयाँ विकल्प खोजिरहेका छौँ र सिसडोलभन्दा अलि पर वनचरी डाँडा विकल्प हुनसक्छ।"
वनचरीका स्थानीयवासीले विरोध गरेको विवरण आए पनि काठमाणुडू महानगरपालिकाले यसबारे प्रतिक्रिया दिन चाहेन।
फोहोरबाट मल बनाउने, फोहोरमा मिसिएका कागज र कपडा प्रशोधन गरी पुन: प्रयोग गर्ने प्रयास सानै स्तरमा भए पनि शुरू गरिएको छ।
गत वर्ष काठमाण्डू महानगरपालिकाले एक कम्पनीको सहकार्यमा फोहोरबाट बिजुली निकाल्ने प्रयास गरेको थियो।
तर त्यो लामो समयसम्म टिक्न सकेन। फोहरको वैकल्पिक उपयोगका लागि उपयुक्त र दिगो प्रविधिको प्रयोग नै समस्या समाधानको उपयुक्त विकल्प हुने जानकारहरू बताउँछन्।









