फोहोर व्यवस्थापन सम्झौता "केही हप्तामा"

तस्बिर स्रोत, Alamy
काठमाण्डू उपत्यकाको फोहोरको वैज्ञानिक, वातावरण अनुकूल र दीर्घकालीन व्यवस्थापनकालागि बृहत् परियोजना विकास सम्झौता (पिडिए) आगामी केही हप्ताभित्रै टुङ्गो लाग्ने नेपाल लगानी बोर्डका अधिकारीले जनाएका छन्।
लगानी बोर्डले बारम्बार तत्काल टुङ्गो लाग्ने भन्दै आएपनि भाका सर्दै जाँदा काठमाण्डूमा फोहोर दीर्घकालीन समस्याका रुपमा रहँदै आएको छ।
राजधानी काठमाण्डूका सडकमा फोहोरको डङ्गुर देखिन थालेको हप्तौं बितिसकेको छ।
फोहोर व्यवस्थापनकालागि पटकपटकको पहल खेर गएपछि स्थानीय जनप्रतिनिधिहरुले यसअघि सरकारले अगाडि सारेको परियोजनालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन ध्यानाकर्षण गराएका छन्।
प्रतिकूल असर
उपत्यकाको फोहोर व्यवस्थापन वैज्ञानिक र दीर्घकालीन नभएको कारण उपत्यकाको सुन्दरता तथा उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर परेको उनीहरुले बताएका छन्।
तर सरकारी अधिकारीहरुले भने करिव १३ अर्ब लागतको उक्त परियोजनाको तयारी अन्तिम चरणमा पुगेको बताउँदै परियोजनाको विभिन्न पक्षबारेमा सम्बन्धित कम्पनीसँग वार्ता जारी रहेको बताएका छन्।
नेपाल लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले भने, ''काठमाण्डूको फोहोरलाई छुट्टयाउने, कम्पोष्ट मल बनाउने, अलिकति बिजुलीपनि निकाल्ने, सबै फोहोरको २० प्रतिशत मात्र नष्ट गर्ने र त्यो भन्दा अगाडि सबै फोहोर पुन: उपयोग गर्ने भन्ने प्राविधिक प्रस्ताव छ। यीनै विषयमा हाम्रो कुराकानी भईरहेको छ। सायद एक डेढ महिनामा केही निष्कर्षमा पुग्छौं।''
उक्त परियोजना छिट्टै कार्यान्वयनको आश्वासन दिँदै काठमाण्डू र ललितपुर महानगरपालिकालाई स्थानीय स्रोत साधनको प्रयोग गरेर फोहोर व्यवस्थापन गर्ने अन्य परियोजनामा लगानी नगर्न नेपाल लगानी बोर्डले सचेत गराएको जनप्रतिनिधिहरुले बताएका छन्।

तस्बिर स्रोत, Reuters
हाल सिसडोलमा रहेको फोहोर फाल्ने ठाउँमा भक्तपुर नगरपालिका बाहेक उपत्यकाका १८ नगरपालिकाले दैनिक एक हजार टनभन्दा बढी फोहोर फाल्दै आएका छन्।
विकल्प
लगानी बोर्डको आश्वासनले स्थानीय तहलाई ढुक्क बनाउन भने सकेको छैन।
सरकारको परियोजनामा भर पर्न नसकिने र वैकल्पिक रुपमा फोहोर व्यवस्थापनकालागि आफूहरुले बुङमती नजिकैको फर्सिडोलमा फोहोर फाल्ने जग्गा किन्ने प्रकृया जारी रहेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए।
उनले भने, ''पटक-पटक फोहोर उठ्न नसक्दा जनप्रतिनिधिहरुले कुनै गल्ती नगरिकनपनि गाली खानुपर्ने अवस्था आयो। त्यसैले फोहोर व्यवस्थापनकालागि विकल्प स्वरुप एउटा समिति बनाएर ललितपुर महानगरपालिकामै जग्गा खोज्न थालिसकेका छौं।''
पछिल्ला केही दिनयता फोहोर फाल्ने सवारीचालकले फोहोर ढुवानीमा समयको पावन्दी हटाउनुपर्ने भन्दै हड्ताल गरेका कारण काठमाण्डूमा ठाउँ ठाउँमा फोहोरको डङ्गुर देखिन्छ।
त्यसको समाधान खोज्न जनप्रतिनिधिले पहल गरिरहेको काठमाण्डू महानगरपालिका वातावरण प्रमुख रबिनमान श्रेष्ठले बताए।








