फेसबुकले हटायो ३२ वटा शंकास्पद खाता

तस्बिर स्रोत, GETTY IMAGES/FACEBOOK
अमेरिकाकी आन्तरिक सुरक्षासम्बन्धी मन्त्रीले मध्यावधि चुनावलाई प्रभावित गर्ने उद्देश्यले खोलिएको देखिएका ३० वटा खाता बन्द गर्न फेसबुकले गरेको निर्णयको स्वागत गरेकी छन्।
कियर्स्टिन निल्सनले चुनावमा हस्तक्षेप गर्ने कुनै पनि प्रयास प्रजातन्त्रमाथि प्रत्यक्ष हमला भन्दै अमेरिकाले त्यस्तो कुनै दखल नसहने बताइन्।
फेसबुकले झण्डै १० हजार पोष्ट र १ सय ५० वटा विज्ञापन हटाएको हो।
सामाजिक सञ्जालको उक्त कम्पनीले अभियानको स्रोतबारे आफू पक्का हुन नसके पनि कतिपय झूटा पोष्ट क्रेम्लिनले प्रयोग गरेका खाताहरूसँग सम्बन्धित भएको जनाएको छ।
चलाखी
उसले आफूहरू अनुसन्धानको निकै प्रारम्भिक चरणमा रहेको र ती पेजहरू कसले बनाएको भन्ने थाहा नभएको फेसबुकले जनाएको छ।
सन् २०१६ को राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपको तुलनामा यी खाता बनाउनेले आफ्नो परिचय लुकाउन निकै प्रयास गरेको बताइएको छ।
कम्पनीले आफ्नो ब्लगमा भनेको छ उसले फेसबुकमा १७ वटा शंकास्पद प्रोफाइल र सातवटा इन्स्टाग्राम खाताहरू पहिचान गरेको छ।
उसले फेसबुकका ती खाताहरूले ९ हजार पाँच सय पोष्ट र इन्स्टाग्रामले एउटा पोष्ट गरेको जनाएको छ।

तस्बिर स्रोत, FACEBOOK
अनुसन्धान
२ लाख ९० हजार खाताले कम्तीमा एउटा त्यस्तो पेजलाई पच्छाएको उसले जनाएको छ।
फेसबुकले शंकास्पद खाताहरूले ११ हजार डलर बराबरका १ सय ५० वटा विज्ञापन फेसबुक र इन्स्टाग्राममा चलाइरहेको पनि जनाएको छ।
सबैभन्दा चर्चित त्यस्ता नक्कली खाताहरूमा ब्ल्याक इलिभेसन, माइन्डफुल बिङ्ग, रेसिस्टर्स लगायत छन्।
तर फेसबुकले आफू अनुसन्धानको शुरूवाती चरणमै रहेकोले त्यसमा को जिम्मेवार छ भन्ने चाहिँ पक्का गर्न नसकिएको जनएको छ।
र, आफूहरूले रुसी इन्टरनेट प्रोटोकलको ठेगानाबारे पनि कुनै प्रमाण फेला नपारेको जनाएको छ।










