सीबीएसका प्रमुखमाथि यौन दुर्व्यवहारको आरोप

यौन दुर्व्यवहार

तस्बिर स्रोत, Getty Images

अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका निर्देशकहरूले यौन दुर्व्यवहारबारे सो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएका आरोपबारे आफूहरूले अनुसन्धान गर्ने बताएका छन्।

लेज मून्भेसले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको ६ जना महिलाले न्यू योर्कर म्यागजिनलाई बताएका छन्।

त्यसैगरी अभिनेत्री इलियाना डग्लससहित चारजनाले बैठकका दौरान आफूहरूलाई मून्भेसले जबरजस्ती छोएको अथवा चुम्बन गरेको आरोप लगाएका छन्।

एक लेखमा समाविष्ट एउटा विज्ञप्तिमा ६८ वर्षीय मून्भेसले आफ्नो कारणले केही महिलाहरूलाई 'असहज भएको' स्वीकारेका छन्।

अस्वीकार

तर यौन दुर्व्यवहार गरेको आरोप चाहिँ उनले अस्वीकार गरेका छन्।

उनले भनेका छन्, "त्यो गलत थियो र त्यसका लागि म एकदमै प्रायश्चित्त गर्छु। तर मैले सधैँ बुझ्ने गरेको छु र सम्मान गरेको छु।"

यौन दुर्व्यवहार

तस्बिर स्रोत, Getty Images

"मैले कसैको जागिरमा क्षति पुर्‍याउन अथवा तगारो हाल्न आफ्नो पदको कहिल्यै दुरुपयोग गरेको छुइनँ।"

एउटा वक्तव्यमा सीबीएसले मून्भेसमाथि लगाइएका आरोपबारे अध्ययन गरिरहेको र 'उपयुक्त कदम चाल्ने' जनाएको छ।

खुलासा

हलिवूड चलचित्रका निर्माता हार्भी वाइन्स्टिनले यौन दुर्व्यवहार गरेका रिपोर्टहरू बाहिर ल्याएकोमा यस वर्षको पुलित्जर पुरस्कार पाएका रोनन फ्यारोले पछिल्लो समाचार प्रकाशमा ल्याएका हुन्।

मून्भेसले यौन दुर्व्यवहार गरेको भनिएका केही घटना २० वर्षभन्दा पहिले भएको बताइएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, हलिउडका गन्नेमान्ने निर्माता वाइन्सटिनमाथि यौन दुर्व्यवहारको आरोप कसरी लाग्यो?

आफ्नो वक्तव्यमा सीबीएसले भनेको छ, "व्यक्तिगत रूपमा दुर्व्यवहार गरिएका आरोपहरूलाई गम्भीरतापूर्वक लिइनेछ।"

पछिल्लो समाचार प्रकाशमा आएसँगै सीबीएसको शेयर मूल्यमा ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।