सहमति पछि डाक्टर केसीले अनशन तोडे

गत २७ दिनदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागहरू पूरा गर्न सरकार सहमत भएपछि बिहीवार राति उनले अनशन तोडेका छन्।
प्रा. केदारभक्त माथेमा र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जुस ख्वाएर उनको अनशन तोडाएका थिए।
सरकार तथा डा. केसी पक्षबीच डा. केसीका मागहरू र केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा विधेयक संशोधन गर्न सहमति भएको बताइएको छ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै आएका डा. केसीको यो पन्ध्रौँ अनशनमा थियो।
सम्बोधन
यसअघि उनका मागहरू सम्बोधन गर्न भइरहेको वार्ता १० वर्ष सम्म काठमान्डू उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न दिने वा नदिने भन्ने विषयमा अड्किएको वार्ता टोलीका सदस्यहरूले बताएका थिए।
दुवै पक्षले हस्ताक्षर गरेको सहमतिपत्रमा नयाँ ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाण्डू, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने उल्लेख छ।
आशयपत्र प्राप्त गरी पूर्वाधार पुरा गरेका शिक्षण संस्थाका हकमा भने निम्नानुसार गर्न सकिने सहमतिमा उल्लेख छ:
- सम्बन्धित शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा नेपाल सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्न सक्ने
- यस्ता शिक्षण संस्थाले आयोगले प्राथमिकता तोकेको क्षेत्रमा स्थानान्तरण गर्न चाहेमा नेपाल सरकारले प्रोत्साहन सुविधा उपलब्ध गराउने

तस्बिर स्रोत, RSS
नौबुँदे सहमतिपत्रमा दुवै पक्षबीच भएको सहमतिका बुँदाहरू मन्त्रिपरिषद्बाट अनुमोदनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव पेस गर्ने पनि उल्लेख छ।
सहमतिपत्रमा हस्ताक्षर पछि बीबीसीसँग कुरा गर्दै सरकारी वार्ता टोलीका एक सदस्य केदार न्यौपानेले भने, "यो सहमतिमा नेपाल सरकारको प्रतिबद्धता छ। अब डाक्टर केसीले उठाउँदै आउनुभएका सबै कुराहरू समाधान भएर जान्छन् भन्ने लाग्छ।"
प्रधानमन्त्रीको संलग्नता
सरकारी र डाक्टर गोविन्द केसीको वार्ता टोलीबीच संसद्मा रहेको चिकित्सा शिक्षा विधेयकको संशोधनमा सहमति जुटन नसके पछि प्रधानमन्त्री केपी ओलीले नै बुधवार राति गोविन्द केसीपक्षको वार्ता टोलीसँग छलफल गरेका थिए।
प्रधानमन्त्री नै प्रत्यक्ष संलग्न भएपछि अड्किएको चिकित्सा शिक्षा विधेयकको संशोधनका बुँदाहरूमा बिहीवार दुवै पक्षका वार्ता टोलीबीच छलफल भएको थियो।
बालुवाटारमा छलफल गर्दै त्यसको खाका लिएर डाक्टर केसीलाई देखाउने क्रम दिनभर जसो चलेको थियो।
केसीको अनशन लम्बिँदै जाँदा उनको खस्किँदो स्वास्थ्यस्थिति र झन्डै एल सय वटा कानुन बनाउनु पर्ने संसद् नै अवरुद्ध रहँद दुवै पक्ष निकासको खोजी गर्न दबावमा परेका थिए।
सहमति पछि एक ट्वीट गर्दै डा. केसी पक्षका एक वार्ताकार डा. अभिषेकराज सिंहले डा. केसीको अभियानमा साथ दिने सबैलाई धन्यवाद दिएका छन्।
उपचार टोली गठन
जुम्लामा आमरण अनशनमा बसेका डा गोविन्द केसीलाई सरकारले गत हप्ता हेलिकप्टरमा राखेर काठमाण्डू ल्याएको थियो। उनलाई ल्याउने क्रममा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञानमा तनाव सिर्जना भएको र प्रहरीले बल प्रयोग गरेको थियो।
काठमाण्डू ल्याइएपछि सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै डा. केसीले उपचार गर्न अस्वीकार गर्दै त्रिविवि शिक्षण अस्पताल परिसरमा अनशनलाई निरन्तरता दिएका थिए।

तस्बिर स्रोत, RSS
बिहीवार नै डा. केसीको स्वास्थ्य परीक्षण र उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले एउटा विशेष टोली गठन गरेको छ।
सत्ताइस दिनदेखि अनशनमा बसेका डा. केसीको स्वास्थ्यस्थिति गम्भीर भएकाले प्रा. डा. प्रदीपकृष्ण श्रेष्ठ र प्रा. डा. दिव्या सिंह शाहको संयोजकत्वमा सात चिकित्सक, एक प्रशासक र एक नर्सिङ अधिकृत सम्मिलित टोली गठन गरिएको हो।








