जापानमा चर्को गर्मी : तापक्रम ४१ डिग्रि सेल्सियसभन्दा बढी

जापानमा गर्मी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एक दर्जनभन्दा बढी शहरहरुमा तापक्रम करिव ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ

जापानमा तापक्रम हालसम्मकै सबैभन्दा उच्च, ४१ दशमलब एक डिग्री सेल्सियस, पुगेको मापन गरिएको छ।

सोमबार जापानको राजधानी टोक्यो नजिकको कुमागाया शहरमा तापक्रम त्यस्तो उच्च विन्दूमा पुगेको थियो।

कुमागाया शहरले १९ औं शताब्दीको अन्त्यदेखि नै तापक्रम र मौसमको अभिलेख राख्‍दै आएको छ।

जापानमा केही समयदेखि जारी चर्को गर्मीका कारण हजारौं मानिसहरु अस्पताल भर्ना हुनु परेको छ भने गर्मीका कारण नै एक दर्जनभन्दा बढीको ज्यान गैसकेको बताइएको छ।

चेतावनी

जापानमा तापक्रम यसअघि राखिएका अभिलेखहरुको दाँजोमा निकै माथि पुग्दा अधिकारीहरुले सर्वसाधारणलाई सुरक्षित रहनका लागि नयां चेतावनी जारी गरेका छन्।

जापानमा केही दिनदेखि गर्मी चर्केको छ र त्यसका कारण ज्यान गुमाएकाहरुको संख्या १५ देखि ४० जनासम्म पुगेको बताइंदैछ।

सोमबार राजधानी टोक्यो नजिकको कुमागाया शहरमा तापक्रम ४१ दशमलब एक डिग्री सेल्सियस पुगेको छ।

जापानको मौसम पूर्वानुमान निकायका अनुसार यसअघि सन् २०१३ को अगष्टमा पश्चिमी कोची शहरमा तापक्रम ४१ डिग्री सेल्सियस पुगेको थियो।

जापानमा गर्मी

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, क्योडो सामाचार संस्थाका अनुसार यो वर्ष गर्मीका कारण दश हजारभन्दा बढी मानिसलाई अस्पताल लगिसकिएको छ

एक दर्जनभन्दा बढी शहरहरुमा तापक्रम करिव ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ।

आराम

जापानको विपद् व्यवस्थापन निकायले मानिसहरुलाई गर्मीबाट बच्न हावा चिसो पारिएको स्थानमा बस्न, प्रशस्त पानी पिउन र गर्मीबाट हुने थकानबाट जोगिन आराम गर्न आग्रह गरेको छ।

मौसम पूर्वानुमान निकायका एक जना अधिकारीले ३५ डिग्री वा त्योभन्दा बढी तापक्रम भएका स्थानका मानिसहरुले अत्यन्त होशियारी अपनाउनु पर्ने एएफपी समाचार संस्थालाई बताएका छन्।

उनले त्यो भन्दा केही कम तापक्रममा पनि त्यहांको वातावरण र त्यहां मानिसहरुले गर्ने क्रियाकलाप अनुसार बालबालिका र पाका उमेरका मानिसहरुका लागि गर्मीले नोक्सान पुराउन सक्ने भनी सावधान गराएका छन्।

क्योडो सामाचार संस्थाका अनुसार यो वर्ष गर्मीका कारण दश हजारभन्दा बढी मानिसलाई अस्पताल लगिसकिएको छ।

जापानमा तापक्रम उच्च विन्दूमा पुगेसँगै सन् २०२० मा टोक्योमा हुने ग्रीष्मकालिन ओलिम्पिक्सका सम्बन्धमा समेत चिन्ता व्यक्त हुन थालेको छ।