पाकिस्तान: मताधिकार लिन अग्रसर हुँदै महिला

पाकिस्तानका विभिन्न स्थानमा पुरुषहरूले महिलाहरूलाई मतदान गर्न दिँदैनन् तर एउटा ठूलो अभियानले गर्दा धेरैभन्दा धेरै महिलाहरूले २५ जुलाईको चुनावअघि मतदाता नामावलीमा आफ्नो नाम लेखाइरहेका छन्।
हामीदा शाहिदले इतिहास बनाउँदै छिन्। उनी अफगानिस्तानको सीमा नजिकै पर्ने आदिवासी क्षेत्रबाट संसदीय चुनावमा उठेकी छिन्।
कुनै बेला तालिबानको पकड रहेको दिर क्षेत्रमा महिलाहरूलाई मतदान गर्न प्रतिबन्ध लगाइएको थियो। उनी पूर्व क्रिकेट खेलाडी इमरान खानको तेहरीक-ए-इन्साफ दलको तर्फबाट चुनावमा होमिएकी हुन्।
उनी भन्छिन्, "यदि महिलाले मतदान गर्न सक्छिन् भने उनले चुनाव लड्न पनि सक्छिन्। मेरो धारणामा परिवर्तन आएको छ।"
गत वर्ष पाकिस्तानको निर्वाचन आयोगले दिरमा कुनै पनि महिलाले मतदान नगरेको भन्दै चुनावी परिणामलाई मान्यता दिन अस्वीकार गरेको थियो।
त्यसपछि आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा १० प्रतिशत मतदाता महिला भएमात्रै चुनाव वैध हुने बतायो।
लगत्तै हामीदा शाहिद चुनावमा उठेकी हुन्।
"म विभिन्न दल निकटका महिलाहरूलाई भेट्न व्यस्त छु। उनीहरू मलाई मत दिन्छु भनिरहेका छन्।"
देशव्यापी समस्या

महिलाहरू दिरमा पहिलो पटक चुनावी मैदानमा छन्। तर महिलाहरूले चुनावमा भाग नलिने समस्या दिरमा मात्र छैन। त्यो समस्या पाकिस्तानको सबैभन्दा विकसित भनिएको पञ्जावसहितका राज्यहरूमा व्याप्त छ।
महिलालाई मत हाल्ने अधिकार कानुनमा सुरक्षित गरिएको भए पनि कमैले त्यो अधिकारको प्रयोग गरिरहेका छन्।
इस्लामावाददेखि १५० किलोमिटर पर पर्ने धुर्नाल गाउँ अर्को उदाहरण हो।
सन् १९६२ मा महिलाहरू मतदानमा सहभागी हुन थालेपछि त्यहाँ निकै तनाव भयो।
धेरै पाकिस्तानी पुरुषहरु ठान्छन् आफ्नो परिवारतको प्रतिष्ठा महिलाहरूमा निहित हुन्छ। त्यसो भन्दै पुरुषहरुले महिलालाई मतदान गर्न दिएनन्।
त्यसको आधा शताब्दिपछि पनि त्यो हट्न सकेको छैन।
निकै सुन्दर खेतबारीहरू रहेको धुर्नालमा १५ हजार जति मानिस बसोबास गर्छन्। साक्षारता प्रतिशत अन्यत्रभन्दा बढी छ।
त्यहाँ भेटिएकी एक युवतीले भनिन्, "मैँले हाम्रो गाउँमा कहिल्यै महिलाले मतदान गरेको देखेको छैन। कुनै पुरुषले महिलालाई मतदान गर्न अनुमति दिने साहस देखाएको छैन।"
संगठित हुने क्रम
ती युवतीले आफ्नो अनुहार बुर्काले छोपेकी थिइन्। उनी एउटा गैरसरकारी संस्थामा काम गर्छिन् र गोप्य रूपमा बैठक गर्दै मतदान गर्नुका फाइदाबारे महिलाहरूलाई जानकारी दिन्छिन्।
अब उनी पुरानो रबैया बदल्ने प्रयास गर्दै छिन्।
नहीदा अब्बासी पोटोहार विकास तथा पैरवी संघ नामक संस्थाकी क्षेत्रीय व्यवस्थापक हुन्। उनी भन्छिन् उनले गाउँका पुरुषहरूलाई महिलालाई मतदान गर्न प्रेरित गर्दै १० वर्ष बिताइन्। तर उनी विफल भइन्।
उनले गरेको महिला जागरण सभामा आएकी बुर्का लगाएकी अर्की महिलाले उनलाई चुनौती दिइन्।
"पुरुषहरुले हाम्रा सबै माग पूरा गरिदिएका छन्। तर उनीहरू हामीलाई बाहिर जान दिँदैनन्। हामी चुनावको दिन घरमैँ बस्छौँ।"
आशा

नजिकैको मस्जिदमा रहेका धर्मगुरु काजी हफीज अली प्रार्थनमा व्यस्त रहन्छन्। उनी गाउँमा निकै प्रतिष्ठित छन्। उनी भन्छन्, "कसैले महिलालाई मतदान गर्नबाट रोकेको छैन। विगतमा झगडा परेको थियो।"
चुनावी मैदानमा रहेका अर्का उम्मेदवार अम्मार यसिरको प्रचारप्रसारमा पुरुषहरु मात्रै देखिन्छन्।
उनले भने, "म अहिले गाउँका पाका व्यक्तिहरूसँग छलफल गर्न व्यस्त छु। उनीहरूलाई आफ्नो चलनमाथि पुनर्विचार गर्दैछन्।"
२५ जुलाईमा हुने चुनावमा बढीभन्दा बढी महिला मतदाताहरूको नाम दर्ता गर्ने प्रयास जारी छ।
दशौँ लाख नयाँ महिला मतदाता थपिने अपेक्षा गरिएको छ। तैपनि लाखौँ लाख महिलाहरू मतदानको अधिकारबाट वञ्जित हुने चिन्ताहरू कायमैँ छन्।
पाकिस्तानी निर्वाचन आयोगकी लैङ्गिक मामिला विभागकी निघत सिध्दिक भन्छिन्, "हामी महिलाहरूलाई सचेत बनाउने अभियानमा छौँ। १० प्रतिशत महिला सहभागिता नभएसम्म हामी चुनावी परिणामलाई वैध मान्ने छैनौँ। त्यस्ता स्थानमा पुन: चुनाव गराउँछौँ।"








