'फर्जी बीमाबारे सूचना सङ्कलनमै समस्या'

सगरमाथा

तस्बिर स्रोत, Krishna Mani

हिमाल आरोहण अथवा पदयात्रामा आउने पर्यटकहरूको उद्धार गर्ने क्रममा हुने गरेको फर्जी बीमा दावीबारे छानबिन थालेको सरकार कडा रुपमा प्रस्तुत भए त्यसले पर्यटन व्यवसायमा असर पर्न सक्ने बताएका छन्।

विगतमा भएका गल्तीमा सरकारको पनि कमजोरी रहेको बताउँदै आगामी दिनमा सरकारले कडा नियम बनाउनुपर्ने उनीहरूको सुझाव छ।

सरकारी छानबिन टोलीले गम्भीर विषय भएकोले छानबिनमा समय लाग्ने बताएका छन्।

नक्कली रुपमा बिरामीको उद्धार गरी उनीहरूको नाममा बीमा कम्पनीसँग हेलिकप्टरदेखि अस्पताल शुल्क र औषधि उपचारका नाममा मोटो रकमको फर्जी बीमा दावी गर्ने प्रवृत्ति मौलाउन थालेको उजुरी बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिनमा तीव्रता दिएको हो।

खुकुलो

तर कतिपय पर्यटन व्यवसायीले चाहिँ यसले पर्यटन क्षेत्रमा नकारात्मक असर पर्नसक्ने भन्दै कारबाही प्रक्रिया खुकुलो बनाउनुपर्ने बताउन थालेका छन्।

ट्रेकिङ एजेन्सी अफ नेपालका अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी नवराज दाहालले आगामी सन् २०२० पर्यटन वर्ष मनाउने तयारी भइरहेको बेला यसले व्यवसायमा असर पर्ने बताउँछन्।

उनले भने, "जसले विगतमा गल्ती गरेका छन्। तिनीहरूलाई गल्ती नगर। अबदेखि मर्यादित व्यवसाय गर भन्नुपर्नेमा बाहिर बढी हल्लाखल्ला गर्नु गलत छ।"

उनका अनुसार नक्कली उद्धार फस्टाउनुमा सरकारको पनि कमजोरी छ।

सगरमाथा आधारशिविर

तस्बिर स्रोत, RSS

"विगतमा यस्तो व्यवसाय फस्टाउनुमा राज्यले त्यो खालको खुल्लापन दिनु र त्यो खालको छुट दिनुले पनि हो।"

छानबिन

सरकारले झण्डै दुई दर्जन पर्यटन एजेन्सी, एक दर्जन जति हेलिकप्टर कम्पनी र अस्पतालमा छानबिन गरिरहेको जनाएको छ।

तर कतिपयबाट समयमा जवाफ नआएको बताउँदै गम्भीर विषय भएकोले छानबिनमा समय लाग्ने समितिका संयोजक घनश्याम उपाध्यायले बताए।

उनले भने, "विभिन्न निकायबाट सूचना समयमा आइपुगेको छैन। हामी सूचनाहरू सङ्कलन गरिरहेका छौँ र अझ एक दुई महिना यसले समय लिनेछ।"

यसअघि मन्त्रालयले छानबिन समितिलाई गत असार १५ मा बुझाउन समय तोकेको थियो।

हिमाल आरोहण र पदयात्राका लागि विश्वको उत्कृष्ट गन्तव्यमध्येको एक नेपालमा यस्तो गलत काम हुन थालेसँगै पर्यटकको उद्देश्य पुरा नहुने भएको तथा यसले नेपालको छवि अन्तर्राष्ट्रिय रुपमा बिग्रन थालेको बताइन्छ।