विश्वकप हेर्दै, फुटबल कौशल सिक्दै

खेलाडी

विश्वकप फुटबलमा विश्वभरका समर्थक झुम्मिरहेका बेला भविष्यमा उत्कृष्ट खेलाडी बन्ने सपना पालेर एकेडेमीमै बसी प्रशिक्षण लिइरहेका किशोर खेलाडीहरू आकर्षित नहुने कुरै छैन।

विद्यालयको परीक्षा चलिरहेको बेलामा र रातको निन्द्रा मारेर भए पनि उनीहरू आफ्ना मनपर्ने खेलाडीको खेल कौशल भने पछ्याइरहेका छन्।

बुटवलस्थित एन्फा एकेडेमीमा खेलिरहेका विकल्प बञ्जाडे त्यहाँबाट उत्पादन भएका विमल घर्तीमगर जस्तै खेलाडी बन्न चाहन्छन्।

विश्वकपमा उनको मनपर्ने खेलाडी चाहिँ अर्जेन्टिनाका लियोनेल मेस्सी हुन्।

सिकाइ

उनी भन्छन्, "ठूलो भएर मेस्सी जसरी नै खेल्ने रहर छ।"

अनाथ बालबालिकाहरू मात्रै रहेको पोखराको सहारा एकेडेमीका खेलाडीहरूलाई पनि विश्वकपले मज्जाले छोपेको छ।

दोबिल्लास्थित उक्त एकेडेमीमा प्रशिक्षणरत चितवनका प्रणेश गुरुङ विश्वकप हेर्दै नयाँ कुरा सिक्ने गरेको बताउँछन्।

"आफ्नो पोजिसनमा कसरी खेल्ने, आफूसँग बल हुँदा र नहुँदा कसरी खेल्ने भन्ने कुरा विश्वकप हेर्दा अझ ज्ञान हुन्छ नि। त्यसैले म नछुटाइ खेल हेर्छु।"

खेलाडी

नेपालमा बुटवल र सातदोबाटोस्थित एन्फा एकेडेमी र पोखराको सहारा संस्थागत रुपमा चलिरहेको ठूला एकेडेमी हुन्।

उनीहरू होस्टेलमै फुटबल हेर्छन्। समूहमा बसेर आफ्ना मनपर्ने टोलीको समर्थन र मन नपर्ने टोलीको विरोध गर्नमा बेग्लै रमाइलो हुने प्रणेश गुरुङको अनुभव छ।

समर्थक

उनी भन्छन्, "म अर्जेन्टिनाको विरोधी हुँ। म त रोनाल्डोको समर्थक हुँ।"

सातदोबाटोको एकेडेमीमा तीन दर्जनभन्दा बढी खेलाडी छन्।

ती सबैजनाले त्यहाँ रहेको १४ इञ्चको सानो टीभीमा खेल हेर्नुपर्दा भने नरमाइलो मानेका रहेछन्। थुप्रैको गुनासो त्यहीँ थियो।

एकजना खेलाडी आशिष श्रेष्ठले गुनासो पोख्दै भने, "गोल गरेपछि सबै उफ्रिन्छन्। केही देखिँदैन। ठूलो पर्दामा हेर्न पाए कति मज्जा हुन्थ्यो। के गर्ने?"

खेलाडी

कक्षा ९ र १० मा अध्ययनरत यी खेलाडीहरू यहीँ बेला विद्यालयमा परीक्षा चलिरहेकोले गर्दा थप समस्यामा पनि देखिन्छन्।

राति फुटबल, बिहानै प्रशिक्षण र त्यसपछि परीक्षाको एकसाथ सामना गरिरहेका उनीहरूमध्येका एक नमस थापा मगरले भने, "दिउँसो पढ्ने हो। कहिलेकाहीँ राम्रो टोलीको खेल नपरेको बेला रातिको खेल हेरिँदन। यसरी परिक्षामा असर नपार्ने प्रयास गर्दैछु।"

विश्वकप खेलको विश्लेषणमा उनीहरू तीक्ष्ण देखिन्छन्।

योजना

धनगढीका धिरज बलायरको विचार यस्तो छ, "फ्रान्सको काउन्टर एट्याक असाध्यै बलियो छ।"

किशोरहरूको मनस्थिति बुझेका पदाधिकारीहरूले ठूलो पर्दामा फुटबल देखाउने योजना बुनेको बताएका छन्।

एकेडेमी प्रमुख रहेका एन्फा केन्द्रीय सदस्य दिनेश व्यञ्जनकारले भने, "फाइनल खेल चाहिँ ठूलो पर्दामा देखाउने र प्रशिक्षक राखेर त्यसबारे थप शिक्षा दिने योजनामा हामी छौँ।"

अडिओ क्याप्शन सुरु हुँदैछ, फुटबल: मुगुका किशोरीहरूको स्पेन यात्रा

नेपालको राष्ट्रिय टोलीमा एकेडेमीबाट उत्पादन हुने खेलाडीहरूको बाहुल्यता बढी हुने गरेको इतिहास छ।

विदेशी खेलाडीहरूलाई पछ्याउन माहिर उनीहरू युरोपेली फुटबलका पनि पारखी देखिन्छन्।

यी अन्तर्राष्ट्रिय खेल प्रतियोगितालाई उनीहरू विदेशी परिष्कृत खेल कला वा तरिका सिक्ने मौकाको रुपमा पनि लिन्छन्।