दक्षिण सुडानमा द्वन्द्व अन्त्य गर्ने सहमति

दक्षिण सुडान

दक्षिण सुडानका राष्ट्रपति साल्भा किइर र विद्रोही नेता रिएक मचारले देशमा पाँच वर्ष देखि जारी गृहयुद्ध अन्त्य गर्ने प्रयास स्वरूप एउटा सहमतिमा हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता अन्तर्गत त्यहाँ ७२ घण्टाभित्र युद्धविराम लागु हुनेछ।

सो देशका छिमेकीहरूले त्यहाँ लडाईं अन्त गर्न दिइरहेका दबाबका माझ सुडानको राजधानी खार्तुममा त्यस्तो सहमतिमा हस्ताक्षर भएको हो।

द्वन्द्व अन्त्य गर्ने सहमति पत्रमा हस्ताक्षर समारोह अघि दक्षिण सुडानका राष्ट्रपति साल्भा किइर र विद्रोही नेता रिएक मचारका साथ युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी र उनका सुडानी समकक्षी ओमार अल-बशिर पनि उपस्थित थिए।

द्वन्द्वले दक्षिण सुडानलाई तहसनहस पारेको छ। दशौं हजारको ज्यान गइसकेको छ भने चालिस लाख भन्दा बढी मानिसहरू हिंसाका कारण विस्थापित भएका छन्, जुन देशको कुल जनसंख्याको एक तिहाइ हो।

लडाईं अन्त्य गर्ने यसअघिका प्रयासहरू लागु हुन सकेका थिएनन्। विवरणहरूका अनुसार यो पछिल्लो सम्झौता अन्तर्गत केही राजनीतिक बन्दीहरूलाई पनि रिहा गरिनेछ।

ती दुई नेताहरु किइर र मचारबीच खार्तुममा भेटवार्ता भएको हो। उनीहरूले गत हप्ता दुईवर्षमा पहिलो पटक इथियोपियामा भेट गरेका थिए।