नेपाल: शान्ति मिसनमा महिलाको सङ्ख्या बढाउन आग्रह
शान्ति स्थापनासम्बन्धी संयुक्तराष्ट्रसङ्घका एक वरिष्ठ अधिकारीले नेपाललाई राष्ट्रसङ्घीय शान्ति अभियानमा महिलाहरूको प्रतिनिधित्व कम्तीमा २० प्रतिशत पुर्याउन आग्रह गरेका छन्।

तस्बिर स्रोत, UN
नेपाल भ्रमणमा रहेका राष्ट्रसङ्घका उपमहासचिव जँ पिएर् लक्र्वाले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू लगायत सुरक्षा फौजका तीनवटै निकायका प्रमुखलाई भेटेर सो आग्रह गरेका हुन्।
द्वन्द्वग्रस्त क्षेत्रमा महिला तथा बालबालिकाहरू सबैभन्दा बढी जोखिममा हुने भएकाले त्यहाँ खटाउन महिलाहरूको सङ्ख्या आवश्यक रहेको भन्ने धारणा उनले भेटका क्रममा राखेको अधिकारीहरूले बताएका छन्।
शान्ति सेना पठाउने नेपाल छैठौँ ठूलो मुलुक भए पनि देशभित्रै चाहिँ सुरक्षा निकायमा महिलाहरूको उपस्थिति निकै कम छ।
अवस्था
नेपालले छ दशकअघि तत्कालीन शाही नेपाली सेनाको एउटा टोली पठाएर राष्ट्रसङ्घीय शान्ति अभियानमा सहभागिता थालेको थियो। पछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल समेत त्यसमा सहभागी भए।
सुरक्षा निकायका यी तीनैवटा सङ्गठनमा महिलाहरू १० प्रतिशतभन्दा पनि कम सङ्ख्यामा छन्। त्यसैले राष्ट्रसङ्घीय अभियानमा जाने सदस्यहरूको सङ्ख्या पनि स्वत: थोरै छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने, "२०६२ सालयता मात्र हामीले साधारणतर्फ महिलाहरूलाई भर्ती लिन थालेका हौँ। त्योभन्दा अगाडि प्राविधिकमा रूपमा मात्र महिलाहरू सेनामा हुने गर्थे। अहिले उनीहरूको सङ्ख्या ४,२७९ छ।"
अधिकारीहरूका अनुसार सुरक्षा फौजमा आएका अधिकांश महिलाहरूको ठूलो भाग खुला प्रतिस्पर्धाबाट भन्दा पनि आरक्षणबाट आएको पाइन्छ।
जसले गर्दा शान्ति मिसनमा पठाउन आवश्यक पर्ने क्षमताहरूको विकासमा सङ्गठनभित्रै पनि महिला सुरक्षाकर्मीहरूलाई प्राथमिकता दिइएको छ।
"ड्राइभिङमा पोख्त हुनुपर्ने देखिन्छ, कम्प्युटर चलाउन जान्नुपर्ने हुनुपर्छ र कतिपय अवस्थामा भाषा सकेसम्म मिसनहरू हुने ठाउँका स्थानीय भाषामा पोख्त हुनुपर्ने देखिन्छ," नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले भने।
"त्यो देखेर हामीसँग कार्यरत महिला प्रहरीहरूको सीप तथा क्षमता बढाउन विभिन्न कार्यक्रमहरू ल्याइराखेका छौँ।"
प्रोत्साहन
स्थानीय भर्तीको सङ्ख्या बढाएर मात्र त्यस्तो काम प्रभावकारी ढङ्गबाट गर्न सकिने भन्दै महिलाहरूलाई सुरक्षा निकायमा आउन पुरूषलाई भन्दा सहज बाटो बनाइएको छ।
"महिलाको उचाइ पाँच फिट मात्र भए पुग्छ भने पुरुषको ५.२ फिट चाहिन्छ । तौल महिलाको ४२ केजी भए पुग्नेमा पुरुषलाई ५० केजी चाहिन्छ," सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी बाबुराम पाण्डेयले भने, "पुरुषहरूले ३,२०० मिटर दौड १८ मिनेटमा सके पुग्छ भने महिलाहरूलाई २२ मिनेट छुट्याइएको छ। सिटअप र पुशअपमा पास हुन पुरुषहरूले १० पटक गर्नुपर्छ भने महिलाले तीन पटक मात्र गरे पुग्छ।"
शान्ति सेनामा खटिएका झन्डै एक दर्जन देशमा सुरक्षा निकायतर्फ नेपाली सेनाको सबैभन्दा बढी सङ्ख्या छ।
तर नेपालभित्रैका सुरक्षा निकायमध्ये सेनामा महिलाको निकै कम सङ्ख्या भएकोले राष्ट्रसङ्घको अपेक्षानुसार शान्ति सेनामा महिलाहरूको सङ्ख्या पठाउन त्यति सहज नहुने आकलन गरिएको छ।








