प्रधानन्यायाधीशमा दीपकराज जोशी सिफारिस

तस्बिर स्रोत, .
संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ।
उनी वरिष्ठतम न्यायाधीशको रूपमा कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा कार्यरत थिए।
न्यायपरिषद्द्वारा सिफारिस गरिएका तीन जनामध्ये रोलक्रममा रहेका जोशीको नाम सिफारिस गरिएको कानुनमन्त्री शेरबहादुर तामाङले बीबीसीलाई जानकारी दिए।
बहिर्गमन
संसद्को सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश नियुक्त हुने प्रावधान छ।
संसद्को कार्यसञ्चालन नियमावली नबन्दा सुनुवाइ समितिबारे अन्योल थियो। तर नियमावली बने पनि सुनुवाइ समिति गठन हुन बाँकी छ।
झण्डै तीन महिनाअघि विवादास्पद बन्न पुगेको गोपाल पराजुलीको बहिर्गमनयता जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेका छन्।
असन्तुष्टि
तर प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको सिफारिस गर्न गरेको ढिलाइप्रति कतिपयले असन्तुष्टि जनाएका थिए।
सरकारले भने सुनुवाइ समितिबारे यसअघि देखिएको अन्योल ढिलाइको कारण भएको बताउने गरेको थियो।
संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त, राष्ट्रिय वित्त आयोग लगायतका संवैधानिक अंगमा नियुक्तिको सिफारिस भने मङ्गलवार पनि गरेन।
कानुनमन्त्री तामाङले ती निकायमा पनि नियुक्ति गर्नेबारे छलफल भए पनि निर्णय नभएको जानकारी दिए।









