ट्रम्प-किमबीच सिंगापुरमा शिखर बैठक

किम र ट्रम्प

तस्बिर स्रोत, AFP

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अन आजभन्दा एक महिनाअघिसम्म पनि सोच्दै नसोचिएको एउटा शिखर बैठकमा सहभागी भएका छन्।

सिंगापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा राष्ट्रपति ट्रम्प र किमले एकअर्कासँग हात मिलाए।

आ-आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारे।

त्यसपछि उनीहरूले अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरे र एक्लाएक्लै वार्ताका लागि होटलको पुस्तकालयतर्फ लागे।

दुई नेताबीचको एक्ला एक्लै वार्ता सकिएपछि दुई पक्षका अधिकारीहरू कार्यसूची सहित दिवाभोजमा सहभागी हुँदै छन्।

एक्लाएक्लै

वरिष्ठ सल्लाहकार तथा अधिकारीहरू सहभागी हुनुपूर्व दुई नेताले एक्लाएक्लै वार्ता गरेका हुन्।

वार्ता शुरू हुनुभन्दा केही समयअघि ट्वीट गर्दै ट्रम्पले दुई देशका अधिकारीहरूबीचको वार्ता 'राम्रो तरिकाले अघि बढेको' बताएका थिए।

तर वार्ताको अन्त्यमा के हुनेछ त्यसले अर्थ राख्ने उनले उल्लेख गरेका छन्।

वार्ता

तस्बिर स्रोत, Reuters

त्यसअघि पत्रकारहरूसँग कुरा गर्दै किमले शिखर वार्तामा सहमति भए इतिहासमा सिंगापुरको नाम सदैव स्मरण गरिने बताएका थिए।

हालसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका थिएनन्।

निश्शस्त्रीकरण

ट्रम्पले निकै अपेक्षा राखिएको वार्ता शान्ति प्राप्तिका लागि 'एक पटकको अवसर' भएको बताएका छन्।

शिखर वार्ताले गत वर्ष आरोपप्रत्यारोप र एकअर्कालाई चेतावनी दिने गरेका दुई नेतामा आएको नाटकीय परिवर्तनलाई इंगित गर्दछ।

वाशिङटनको विश्वास छ शिखर बैठकले एउटा प्रक्रियाको शुरूवात गर्नेछ जुन प्रक्रियाले अन्ततः कोरियाली प्रायद्वीपलाई निश्शस्त्रीकरणतर्फ डोर्‍याउनेछ।

वार्ता

तस्बिर स्रोत, Reuters

उत्तर कोरियाले निश्शस्त्रीकरणका लागि आफू इच्छुक रहेको जनाएको छ।

तर त्यो कसरी हासिल हुने अथवा त्यसको बदलामा उसले के खोज्नेछ त्यो स्पष्ट भइसकेको छैन।