किम-ट्रम्प ऐतिहासिक वार्ताका लागि तम्तयार

तस्बिर स्रोत, Reuters
कोरियाली प्रायद्वीपमा तनाव अन्त्य गर्ने उद्देश्यका साथ हुन लागेको अभूतपूर्व शिखर बैठकका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अन तम्तयार अवस्थामा छन्।
हालसम्म कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरेका छैनन्।
ट्रम्पले निकै अपेक्षा राखिएको वार्ता शान्ति प्राप्तिका लागि 'एक पटकको अवसर' भएको बताएका छन्।
शिखर वार्ताले गत वर्ष आरोपप्रत्यारोप र एकअर्कालाई चेतावनी दिने गरेका दुई नेतामा आएको नाटकीय परिवर्तनलाई इंगित गर्दछ।
निश्शस्त्रीकरण
वाशिङटनको विश्वास छ शिखर बैठकले एउटा प्रक्रियाको शुरूवात गर्नेछ जुन प्रक्रियाले अन्ततः कोरियाली प्रायद्वीपलाई निश्शस्त्रीकरणतर्फ डोर्याउनेछ।
उत्तर कोरियाले निश्शस्त्रीकरणका लागि आफू इच्छुक रहेको जनाएको छ।

तस्बिर स्रोत, Reuters
तर त्यो कसरी हासिल हुने अथवा त्यसको बदलामा उसले के खोज्नेछ त्यो स्पष्ट भइसकेको छैन।
सिंगापुरको मूल भूभागदेखि केही सय मिटर टाढा रहेको एउटा प्रसिद्ध पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा दुई नेताहरूबीचको शिखर बैठक हुनेछ।
सुरक्षा
बैठकस्थल क्षेत्रमा सशस्त्र प्रहरीसहित बाक्लो सुरक्षा व्यवस्था मिलाइएको छ।
शिखर बैठक शुरू हुनुभन्दा केही घण्टाअघि ट्रम्पले उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्न नहुने तर्क गर्दै आएका आफ्ना आलोचकहरूको आलोचना गरेका छन्।
ट्रम्पले दुई देशका अधिकारीहरूबीचको वार्ता 'राम्रो तरिकाले अघि बढिरहेको' बताएका छन्।
यसअघि पत्रकारहरूसँग कुरा गर्दै किमले शिखर वार्तामा सहमति भए इतिहासमा सिंगापुरको नाम सदैव स्मरण गरिने बताएका थिए।









