नेपाल: विदेशी पर्वतारोहीलाई 'बिरामी बनाई उद्धारका नाममा ठगी'

पर्यटक

तस्बिर स्रोत, Krishna_Mani

हिमाल आरोहणमा जाने विदेशी पर्यटकलाई नियतवश बिरामी बनाई उद्धारका नाममा ठगी गर्ने प्रवृत्ति बढेको पाइएको अधिकारीहरूले बताएका छन्।

उद्धारका नाममा हेलिकप्टरदेखि अस्पतालसम्मको खर्च जोडी लाखौँ रुपैयाँ असुल्ने गरेको उजुरी बढेपछि सरकारले छानबिन कार्यदल गठन गरेको छ।

बिरामी पर्यटकले उपचारमा खर्च गरेको रकम विदेशी बीमा कम्पनीसँग दाबी गर्ने भएकाले यस्तो प्रवृत्तिले नेपालको समग्र पर्यटन उद्योगलाई नै बदनाम गराउने भन्दै सरकारी छानबिन कार्यदलका अधिकारीहरूले दोषीलाई कडा कारबाही गरिने चेतावनी दिएका छन्।

लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आएका ट्रेकिङ एजेन्ट्स एसोसिएशन अफ नेपाल टानका महासचिव आङ पेम्बा शेर्पाका अनुसार पनि विदेशी पर्यटकलाई जानाजान बिरामी बनाई उद्धारका नाममा कमाउने प्रवृत्ति बढेको छ।

कसरी हुन्छ ठगी?

शेर्पा भन्छन्, "विदेशीलाई उनीहरू सस्तोमा प्याकेज दिन्छन्। तर जब हिमालतिर उक्लिन थाल्छन् पर्यटकलाई पखाला लाग्ने औषधि खुवाइदिन्छन्। अनि तत्काल उद्धार गर्ने नाममा ठगी हुने गरेको छ।"

उनका अनुसार पथप्रदर्शकदेखि लिएर उद्धारका लागि प्रयोग गरिने हेलिकप्टर, पुर्‍याउने अस्पताल र उद्धार एजेन्सीसम्ममा पैसाको 'मिलेमतो' हुने गर्छ।

हिमाली भेतगमा बिरामी हुँदा हेलिकप्टरबाट उद्धार गर्नुबाहेक अरू विकल्प नभएपछि महँगो मानिने सो प्रक्रियालाई पैसा कमाउने बाटो बनाएको देखिन्छ।

एक जना पर्यटकको नाममा १० लाख रुपैयाँसम्मको रकम बीमाबाट उठाइने गरेको बताइन्छ।

एउटा ट्रेकिङ एजेन्सीका सबैजना पर्यटक नै बिरामी भई उद्धार गरिएका घटना रहेको तथा एक दिनमा १५ जनासम्मको उद्धार गरिएको घटना पर्यटन क्षेत्रमा रहेको कतिपय व्यवसायी अनुभव सुनाउँछन्।

पर्यटक

तस्बिर स्रोत, RSS

त्यस्ता गुनासा बढ्न थालेपछि मन्त्रालयले छानबिन कार्यदल गठन गरेको हो।

कार्यदलका संयोजक तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले भने, "हेलिकप्टरदेखि अस्पताल जस्ता जस्तोसुकै बहानामा गरिएका काम ठगी र राज्यविरुद्धको अपराध हो। यसमा गम्भीर छानबिन हुन्छ।"

कार्यदललाई आगामी असार १५ गतेभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।

कडाइ

पर्यटकलाई बिरामी बनाइदिँदा उनीहरूको भ्रमण लक्ष्य पूरा नहुने र अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूमा नेपालप्रति नराम्रो छाप परेपछि पछिल्ला दिनमा नेपाल आउने पर्यटकको बीमा गर्नसमेत कठिनाइ हुन थालेको बताइएको छ।

तर समस्या सोचेजस्तो ठूलो नभएको बताउनेहरू पनि छन्।

हेलिकप्टर कम्पनी एयर डाइनेस्टीका निर्देशक श्याम कंडेल भन्छन्, "समस्याहरू छन्। तर भनिएको जस्तो ठूलो पनि होइन। यसमा राज्य चनाखो भए चाँडै नै समाधान हुनेछ। जस्तै उद्धारका लागि विमानस्थलमा ल्याइने बिरामीको अवस्था बुझ्ने र त्यहाँ कडिकडाउ गर्ने हो भने एजेन्सीले अनैतिक काम गर्न आँट गर्नै सक्दैनन्।"

पर्यटन नेपालको आयस्रोतको एउटा प्रमुख आधार एक हो।

यस्तो संवेदनशील क्षेत्रमा भइरहेको विकृतिको चाँडोभन्दा चाँडो अन्त्य हुनुपर्ने माग पर्यटन व्यवसायीहरूको छ।