ट्रम्प-किम बैठक रद्द हुनुमा को जिम्मेवार?

तस्बिर स्रोत, Getty Images
- Author, सन्दीपकुमार मिश्रा
- Role, सह-प्राध्यापक, जवाहरलाल नेहरु विश्वविद्यालय
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे २४ मा उत्तर कोरियाली नेता किम जङ-अनलाई पत्र पठाउँदै सिंगापुरमा जुन १२ का लागि प्रस्तावित शिखर बैठक रद्द गरेको जानकारी गराए।
शिखर बैठक रद्द गरिएको खबर त्यतिबेला आयो जतिबेला उत्तर कोरियाले पुङ्गेरीस्थित आफ्नो पारमाणविक परीक्षणस्थललाई नष्ट पारिसकेको थियो।
उत्तर कोरियाको त्यो कदमले धेरैलाई आश्चर्यमा पारेको थियो र पछिल्ला हप्ताहरूमा त्यसप्रति प्रतिक्रियाहरू आउने क्रम जारी थियो।
मे १६ पछि उत्तर कोरियाले अमेरिकी धारणालाई लिएर धेरै पटक असन्तोष व्यक्त गरेको थियो।
असन्तुष्टि
यसबीचमा उत्तर कोरियाले दक्षिण कोरियासँगको अन्तर-कोरियाली सैनिक वार्ता रद्द गर्यो।
अमेरिका र दक्षिण कोरियाबीच भइरहेको संयुक्त सैन्य अभ्यासलाई लिएर उत्तर कोरियाले असन्तुष्टि जनायो।
त्यसबाहेक उत्तर कोरियाले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनको भनाइप्रति पनि विमति जनायो।
जसले उत्तर कोरियाको हकमा पनि लिबियालाई जस्तै परमाणु मुक्त बनाउने उपाय अवलम्बन गर्नुपर्ने आफ्नो सुझाव रहेको बताएका थिए।

तस्बिर स्रोत, Getty Images
त्यसअघि राष्ट्रपति ट्रम्पले भनेका थिए- उत्तर कोरियाले आफ्ना पारमाणविक अस्त्र नष्ट नगरे किमको नियति लिबियाका तत्कालीन कर्णेल गद्दाफीको जस्तै हुनेछ।
यसबीचमा अमेरिकी अधिकारीहरूले कडा अभिव्यक्ति दिए पनि उत्तर कोरियाले पूर्व निर्धारित योजना अनुसार नै पारमाणविक परीक्षणस्थल नष्ट गर्यो।
त्यसबाहेक दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले मे २३ मा अमेरिकाको भ्रमण गरे।
शर्त
त्यसक्रममा ट्रम्पले भनेका थिए- उत्तर कोरियाले केही शर्तहरू पूरा नगरे शिखर बैठक स्थगित गरिने छ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले दिएको एउटा अन्तर्वार्तापछि उत्तर कोरियाले उनलाई 'अज्ञानी' र 'बेवकुफ' भन्यो।
अन्तर्वार्तामा पेन्सले राष्ट्रपति ट्रम्पसँग किमले खेलाँची गरे त्यो उनको ठूलो भुल हुने बताएका थिए।
उत्तर कोरियाको विदेश मामिलासम्बन्धी उपमन्त्रीले भने- उत्तर कोरियाले वार्ताका लागि अमेरिकासमक्ष न त अनुनय गर्नेछ न त अमेरिकालाई मनाउन चिन्ता नै लिनेछ।

तस्बिर स्रोत, Getty Images
अचानक पारमाणविक अस्त्र मुक्त हुने उत्तर कोरियाको चाहनाले आशंका उब्जाए पनि अहिलेको समयमा आक्रामक अभिव्यक्तिले स्थिति प्रतिकूल हुन सक्छ।
खासमा अमेरिकी नेताहरूबाट त्यस्तो अभिव्यक्ति आउन थालेको थियो। उनीहरूको विश्वास थियो अमेरिकी दबाबमा आएर उत्तर कोरिया पारमाणविक अस्त्र मुक्त हुन राजी हुनेछ।
ट्रम्प प्रशासनको ठम्याइ छः ताजा प्रतिबन्धहरूका कारण उत्तर कोरियाले अभूतपूर्व रुपमा एक्लो भएको महसुस गरिरहेको छ।
प्रतिबन्ध
उत्तर कोरियाको कच्चा तेल, कपडा उद्योग र विदेश सम्पति लगायतमाथि प्रतिबन्ध जारी छ।
त्यसबाहेकका कैयौँ प्रतिबन्धका कारण पनि उत्तर कोरियासामु अमेरिकासँग वार्तामा बस्नुको विकल्प नभएको बुझाइ थियो।
त्यस्तै बुझाइका माझ ट्रम्प शिखर बैठकबारेको आफ्नो अडानमा टसमस नहुने स्थितिमा पुगेका थिए।
आफ्नो विदेश नीति समूहबाट रेक्स टिलर्सन र एच आर म्याकमास्टरलाई हटाएर ट्रम्पले माइक पोम्पेओ र जन बोल्टनलाई ल्याए।
ट्रम्प प्रशासनले एकतर्फी ढङ्गले इरानसँगको पारमाणविक सम्झौताबाट अलग भएको घोषणा पनि गर्यो।

तस्बिर स्रोत, Getty Images
उत्तर कोरियामाथिको दबाबले काम गरिरहेको अमेरिकाको ठम्याइ छ।
तर पहिल्यैदेखि एक्लिएको उत्तर कोरियालाई थप एक्ल्याइ पनि खासै असर पर्छ जस्तो लाग्दैन।
गम्भीरता
उत्तर कोरियामाथि चीनले पनि प्रतिबन्धहरू लगाएको देखिए पनि बेइजिङ र प्योङयाङबीच आदानप्रदान जारी रहेको बताइन्छ।
चीनले उत्तर कोरियालाई समर्थन गर्नुको आफ्नै कारणहरू छन्।
अमेरिकी दृष्टिकोणमा देखिएको आधारभूत त्रुटिका कारण किमसँगको शिखर बैठक रद्द भएको छ।
अमेरिकी अधिकारीहरूको विवादास्पद अभिव्यक्ति र गतिविधिका बावजुद उत्तर कोरियाले शिखर बैठकका लागि उसलाई सहमत गराउन प्रयत्न गरिरह्यो।

तस्बिर स्रोत, Getty Images
तर अमेरिकाले त्यसलाई गम्भीरताका साथ लिएको जस्तो देखिएन।
उत्तर कोरियाको विदेश मामिलासम्बन्धी उपमन्त्रीले मे २४ मा शिखर बैठक रद्द गरिएकोमा अमेरिकालाई चेतावनी पनि दिए।
उनले भनेका थिए- कुनै बैठक कुन पक्षले रद्द गर्छ, यो समय समयको कुरा हो।
सामञ्जस्य
बदलिँदो परिस्थितिमा उत्तर कोरियालाई झटका लागेको जस्तो देखिन्छ। अमेरिकासँग अहिले ऊ वार्ता गर्न समर्थ देखिँदैन।
खासमा उत्तर कोरिया र अमेरिकाबीचको शिखर बैठकको योजना दक्षिण कोरियाको थियो।
कारण उत्तर कोरियाली र अमेरिकी नेतृत्वलाई एकअर्काप्रति विश्वास हुन सकेको अवस्था छैन।
शिखर बैठक रद्द गर्ने ट्रम्पको घोषणाले दक्षिण कोरियाली विदेश नीतिलाई पनि द्विविधामा पुर्याइदिएको छ।
उसले नजिकको साथी अमेरिका र छिमेकी उत्तर कोरियामध्ये एउटालाई रोज्नुपर्ने हुन सक्छ। यद्यपि सोलले दुवै मुलुकसँग सामञ्जस्य कायम गर्ने प्रयत्न गर्नेछ।
शिखर बैठक रद्द भएसँगै दक्षिण कोरियाले उत्तर कोरियाप्रति कडा रवैया पनि अपनाउन सक्छ। तर अमेरिकासँग सहमतिमा रहिरहन पनि उसलाई गाह्रो हुनेछ।
पूरै घटनाक्रम हेरेर प्रारम्भिक निष्कर्ष निकाल्नुपर्दा यो समग्र प्रक्रियामा उत्तर कोरियाले बढी अङ्क हासिल गरेको देखिन्छ।








