अफगानिस्तान: आत्मघाती हमलामा ५७ जनाको मृत्यु

अफगानिस्तान

तस्बिर स्रोत, Reuters

इस्लामिक स्टेट लडाकु समूहले आफूले पछिल्लो हमला गराएको बताएको छ।

नाम दर्ता गर्ने केन्द्रभित्र जान लाममा बसिरहेका मानिसहरूको भीडलाई लक्षित गरी उक्त बम हमला भएको हो।

मृतकमध्ये २१ जना महिला रहेका छन् भने पाँच जना बालबालिका छन्।

११२ जना घाइते भएका छन्।

निन्दा

अफगानिस्तानमा कार्यरत उत्तर एटलान्टिक सन्धि संगठन-नेटोको मिसनले सो हमलाको निन्दा गरेको छ।

हमलापछि मतदाताका तस्बिरहरू तथा कागजात रगतमा डुबेको पनि उसले जनाएको छ।

विस्फोटक पदार्थले बाँधिएको पेटी लगाएका आत्मघाती बम हमलाकारीले मतदाता केन्द्रमाथि हमला गरेको बताइएको छ।

अक्टोबरमा हुन लागेको चुनावका लागि सुरक्षा ठूलो चिन्ताको विषय भएको अधिकारीहरूले बताएका छन्।

अफगानिस्तान

शृंखला

सोही चुनावका लागि अफगानिस्तानमा एकहप्ता अघिबाट नाम दर्ता गराउने कार्य सुरु गरिएको छ।

त्यसयता मतदाताको नाम गराउने दर्ता केन्द्रहरूलाई लक्षित गर्दै कम्तीमा चार वटा हमला भएका छन्।

उक्त चुनावपछि सन् २०१९ मा अफगानिस्तानमा राष्ट्रपतिको चुनाव हुनेछ।

यसै वर्षको सुरुवातमा बीबीसीले गरेको एक अध्ययनले अफगानिस्तानको तीस प्रतिशतभन्दा अलिक धेरै क्षेत्रमा मात्र त्यहाँको सरकारको पूर्ण नियन्त्रण रहेको देखाएको थियो।

देशको अन्य भाग अझै पनि तालिवान र केही हदसम्म इस्लामिक स्टेटको जोखिममै रहेको देखिएको थियो।

पछिल्लो हमला गत ज्यानुअरीमा सरकारी भवनहरू तथा कूटनीतिक नियोगका कार्यालयहरू भएको क्षेत्रमा १०० जनाको ज्यान जाने गरी भएको हमलायताकै सबैभन्दा घातक हमला हो।