सहकारीमार्फत नौमती बाजा संरक्षण प्रयास

विभिन्न उत्सव तथा कार्यक्रममा अचेल आधुनिक ब्याण्ड बाजाको प्रयोग बढेसँगै परम्परागत नौमती बाजा लोप हुन सक्ने भन्दै संरक्षणमा लागेकाहरूले चिन्ता व्यक्त गरेका छन्।
नयाँ पुस्तामा नौमती बाजाप्रतिको घट्दो आकर्षण र ती बाजा बजाउने मानिसहरूको समेत अभाव भइरहेका बेला मोरंगको सुन्दरहरैचामा चाहिँ सहकारीमार्फत नौमती बाजाको संरक्षण अभियान थालिएको छ।
आधुनिक बाजाको प्रभावले नौमती बाजालाई ओझेलमा पार्न थालेपछि अरूण उपत्यका सांस्कृतिक समूहको पहलमा थालिएको अभियान सहकारी संस्थाको रूपमा स्थापित भएको छ।
अरूण उपत्यका सांस्कृतिक समूहका अध्यक्ष हरिबहादुर खत्रीले नौमती बाजाको संरक्षणका लागि उक्त बाजालाई संगीतको रूपमा प्रयोग गरी लोकभाकामा आधारित गीत समेत बनाइएको बताए।
भाका
उनले भने, "विभिन्न ठाउँमा पुगेर हामीले भाका सङ्कलन गर्यौँ। धेरै भाकाहरूमध्ये नौमती बाजामा प्रयोग हुने भाका सङ्कलन गरेर घिनताङ घिनताङ मादल बज्यो कोशी किनारैमा भन्ने गीत बनायौँ।"
नौमती बचत तथा ऋण सहकारी संस्थाअन्तर्गत अहिले नौमती बाजा बजाउने करिब एक दर्जन समूह क्रियाशील रहेको संस्थाका अध्यक्ष वीरबहादुर बर्देवाले बताए।
उनले भने, "एउटा लगनमा ८-१० वटा समूह चलाउँछु म। पूर्वको काकडभिट्टा र पश्चिमको पोखरासम्म पुगेर हामी बाजा बजाउँछौँ।"
नौमती बाजालाई पछिल्लो समय विभिन्न भाकामा बजाउने चलन पनि बढेको छ।

नौमती बाजामा दुई-दुईवटा नर्सिंगा, सनाइ र दमाहा अनि एक-एकवटा झ्याम्टा, टयाम्को र ढोलक हुन्छ।
नौमती बाजामध्ये सनाइ बजाउन विशेष कला चाहिने बर्देवाको भनाइ छ।
ज्ञान
उनी भन्छन्, "खासगरी सनाइ बजाउँदा दिमागको प्रयोग गर्नुपर्ने हुन्छ।"
नौमती बाजा बनाउन तालिमको अभाव र पहिलो जस्तो राम्रो बाजा नपाइने समस्या रहेको उनी बताउँछन्।
सहकारीमार्फत अहिले युवा पुस्तालाई नौमती बाजा बजाउने आधारभूत तालिम र त्यसको लयबारे पनि जानकारी दिने गरिएको अरूण उपत्यका सांस्कृतिक समूहका सनाइवादक तेजराज पाँचकोटीले बताए।
उनले भने, "बजाउन त जसले पनि बजाउन सक्छ। तर शुरूवात कसरी गर्ने र अन्त्य कसरी गर्ने त्यसको ज्ञान हुनुपर्छ।"
नेपालका विभिन्न जिल्लाका साथै भारतको आसाम, दार्जिलिंग लगायतका ठाउँबाट समेत नेपाली नौमती बाजाको माग हुने गरेको उनीहरू बताउँछन्।
परम्परागत नौमती बाजाको निकै महत्त्व भए पनि सरकारी निकायबाट त्यसको संरक्षण र प्रवर्धनमा खासै चासो नभएको उनीहरूको गुनासो छ।























