यस्तो छ बझाङलाई कर्मथलो बनाएकी भारतीय चेलीको कथा

भिडिओ क्याप्शन सुरु हुँदैछ, गङ्गुदेवी खडायत

दक्षिण भारतको कर्नाटक राज्यमा जन्मिएकी गङ्गुदेवी गौडा बझाङका दिलबहादुर खडायतसँग प्रेमविवाह गरेर नेपाल आइपुगिन्।

बेङ्गलोरबाट विसं २०४१ सालमा पहिलो चोटि श्रीमान्‌को गाउँ आउँदा उनी गर्भवती थिइन्। उनलाई छोडेर श्रीमान् दिलबहादुर भारत फर्किए। अनि सुरु भए उनका सङ्घर्षका दिनहरू।

जन्मिएकी छोरी एक वर्षमै बितिन्। श्रीमान्‌ले वास्ता गरेनन् । तर उनकी दिवङ्गत सौताका बुवाआमाले उनलाई ढाडस दिए।

उनले बझाङलाई नै कर्मथलो बनाइन्। नेपाल आएपछि उनी दुई पटक मात्रै माइत गएकी छन्।

विसं २०५३ सालमा 'गङ्गुदेवी खडायत' को परिचयसहित उनले नेपाली नागरिकता लिइन्। अहिले उनी बझाङको थलारा गाउँपालिकाकी उपाध्यक्ष छिन्।

उनी सुदूरपश्चिम क्षेत्रमा हलो जोत्ने पहिली महिलाका रूपमा पनि चिनिन्छिन्।

महिला अधिकारका क्षेत्रमा क्रियाशील हुँदै वडाध्यक्ष र जिल्ला विकास समितिको सदस्य बनिन्। गत स्थानीय निर्वाचनमा थलारा गाउँपालिकामा सबै भन्दा बढी मत ल्याएर उपाध्यक्ष चुनिइन्।

उनको परिचय महिलाका पक्षमा बोल्ने जनप्रतिनिधिका रूपमा पनि बनेको छ।

आफूले भोगेको दु:ख र आफ्नो हकअधिकारका लागि गरेको सङ्घर्ष सम्झिँदै उनी भन्छिन्, "पहिला न्याय पाउने ठाउँ जान्थेँ। अहिले न्याय दिने ठाउँमा आफैँ बसेकी छु।"

अरू महिला आफूले दु:ख भोग्नु नपरोस् र हिंसा भोगेकालाई कसरी सहयोग गर्न सकिन्छ भनेर उनी लागेकी छन्।

(भिडिओ उमिद बागचन्द)

अनि यो पनि