मुद्दा नहेरेका न्यायाधीशको अपेक्षा: ‘सहज निकास’

तस्बिर स्रोत, .
सर्वोच्च अदालतका आठजना न्यायाधीशहरु मंगलवारको निम्ति आफूलाई तोकिएका कुनै पनि मुद्दाको सुनुवाइमा सहभागी भएनन्।
एकजना न्यायाधीशले प्रधानन्यायाधीशले गत साउनमै अवकाश पाइसकेको भन्दै आफूले उनीसँग बसेर कुनै मुद्दा नहेर्ने धारणा सार्वजनिक गरेको भोलिपल्ट थप न्यायाधीशको त्यस्तो कदम आएको छ।
प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो वैधानिक हैसियतमाथि प्रश्न उठाएका न्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीश सम्मिलित इजलासहरु गठन गरेका थिए।
भावी प्रधानन्यायाधीश
तीमध्ये आठजना न्यायाधीश सम्मिलित चारवटा इजलासमा कुनै पनि मुद्दाको सुनुवाइ नभएको सर्वोच्च प्रशासनले जनाएको छ।
औपचारिक रुपमा त्यसबारे सर्वोच्चका अधिकारीहरुले केही बताएका छैनन्।
एकजना न्यायाधीशले 'सर्वोच्चमा उत्पन्न वातावरणलाई सहजीकरण गर्न' मुद्दा नहेरेको बीबीसीलाई बताए।
नाम उल्लेख गर्न नचाहने ती न्यायाधीशका अनुसार आफूहरुको कदमले सहज ढंगले निकासमा सघाउ पुर्याओस् भन्ने उनीहरुको अपेक्षा हो।
मुद्दा नहेर्ने न्यायाधीशहरुमा प्रधानन्यायाधीश पराजुलीका उत्तराधिकारी ठानिएका वरिष्ठतम सहित भावी प्रधानन्यायाधीशको क्रममा रहेकाहरु अन्य न्यायाधीश पनि छन्।

तस्बिर स्रोत, Supreme Court
खतरनाक
इजलासमा नबस्ने न्यायाधीशहरुको निर्णयलाई कतिपयले न्यायाधीश जबराको कदमको समर्थनको रुपमा हेरेका छन्।
तर मुद्दा नहेरेका अर्का एकजना न्यायाधीशले आफूहरुको निर्णयलाई त्यस रुपमा बुझ्न नहुने बताए।
आफ्नो जन्ममिति र अदालतको अवहेलना मुद्दामा तोकेको इजलासलाई लिएर विवादमा तानिएका प्रधानन्यायाधीश पछिल्लो विवादले थप दबाबमा परेको ठानिएको छ।
उनी स्वयम् र सर्वोच्च प्रशासनले पछिल्ला प्रकरणलाई लिएर कुनै प्रतिक्रिया दिएका छैनन्।
एकजना पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालत स्वयंले आन्तरिक विवाद सुल्झाउनु पर्ने अन्यथा अदालतको विवाद निरुपणको जिम्मा विगतदेखि न्यायपालिकामा राजनीतिक हस्तक्षेप गर्न इच्छुक भनी आरोप खेप्ने गरेका राजनीतिक पार्टीको हातमा पुग्ने बीबीसीलाई बताए।
र, त्यो स्वतन्त्र न्यायपालीकाको निम्ति खतरनाक हुने उनको टिप्पणी थियो।








