ओलीद्वारा प्रमको शपथग्रहण, दुई मन्त्री पनि नियुक्त

तस्बिर स्रोत, RSS
बिहीवार नै प्रधानमन्त्री पदमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले अपराह्ण शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
लगत्तै उनले गरेको दुई जना मन्त्री नियुक्तिको सिफारिस बमोजिम एमालेका नेता लालबाबु पण्डित र थममाया थापालाई पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ दिलाइन्।
तर बिहीवार अन्य कोही मन्त्री नियुक्त भएनन्।
खासगरी नेकपा माओवादी केन्द्रबाट कोही पनि मन्त्री भएका छैनन्।
विवाद?

तस्बिर स्रोत, RSS
कतिपयले त्यसलाई दुई वाम पार्टीबीच एकताको कसरत र पद बाँडफाँटका विषय अझै टुंगोको नजिक नपुगेको अर्थमा लिएका छन्।
तर माओवादीका अध्यक्ष प्रचण्ड तथा अन्य माओवादी नेताहरू शपथग्रहण समारोहमा भने उपस्थित थिए।
राष्ट्रपति विद्या देवी भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरिएकी हुन्।
उक्त उपधारामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा रहेका दुई वा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ।









