अदुवा निकासीका लागि 'कूटनीतिक पहल'

झण्डै एक सातादेखि भारत निर्यातमा रोक लगाइएको नेपाली अदुवाको निकासीको व्यवस्था मिलाउन कूटनीतिक पहल शुरु गरिएको र केही दिनमै पुनः निकासी शुरु हुने वाणिज्य मन्त्रीले बताएका छन्।
हाल निकासीको काम अगाडि बढाइने तर दीर्घकालीन समाधानका लागि दुई देशबीच आगामी महिना हुने बैठकमा प्रयास गरिने उनको भनाइ छ।
एक सातासम्म भारतीय सीमामा रोकिएका अदुवा बोकिरहेका ट्रकहरु मंगलवार फेरि गोदाममा फर्काइएको व्यवसायीहरुले जनाएका छन्।
एक वर्षभित्र नेपाली अदुवा निर्यातमा देखिएको यो तेस्रो पटकको अवरोध हो।
शुरुवातमा भारतमा लगाइएको वस्तु तथा सेवा करका कारण र त्यसपछि नेपाली अदुवामा रासायनिक विषादि पाइएको विषयले केही दिन निर्यात रोकिएको थियो।
यस पटक भने खरिदकर्ताले भारतीय मन्त्रालयबाट निर्यात कोटा तोकेर ल्याएमात्रै नेपाली अदुवा भारत लैजान दिने भन्दै रोक लगाइएको नेपाली व्यवसायीहरुको भनाइ छ।
जसलाई सहज बनाउन पहल गरिरहेको वाणिज्य मन्त्रालयले केही दिनमै अदुवाको भारत निकासी पुनः शुरु हुने जनाएको छ।
'कुराकानी'
वाणिज्यमन्त्री मीन विश्वकर्माले भने, "भारत सरकारसँग दूतावास र मन्त्रालय तहमा इमेल र टेलिफोनमार्फत् कुरा भइरहेको छ। उहाँहरु सहजीकरण गर्छौं भनी रहनुभएको छ। हामीले छिटो गर्नुहोस् भनिरहेका छौं। यो केही दिनमै खुल्छ।"

हाल निकालिने निकास अल्पकालीन हुने र त्यसको दिगो समाधान आगामी महिना पोखरामा हुने दुई पक्षीय छलफलबाट प्रयास गरिने मन्त्री विश्वकर्माले बताए।
उनले भने, "फेब्रुअरी महिनामा पोखरामा दुई देशको बीचमा व्यापारसम्बन्धी छलफल हुँदैछ। त्यसमा व्यापक ढंगले कुरा उठाएर दीर्घकालिन समाधान खोज्छौं। "
भारत पठाउनका लागि पूर्वी नाकामा रहेका अदुवा बोकिरहेका ट्रकहरु एक सातासम्म पनि निकासी नभएपछि गोदाममा फर्काइएको व्यवसायीहरुले बताएका छन्।
नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काले भने, "अहिले भारत पठाउन लागेको १ सय ५० ट्रक छन्। किसानसँग भएको अदुवा अहिले ननिकाल्न भनेका छौं। पूर्वी क्षेत्रकै मात्र लगभग २५ सय ट्रक जति बाँकी नै छ।"
नेपालमा २४ हजार हेक्टर जमिनमा अदुवा खेती हुँदै आएको बताइन्छ।
देशमा उत्पादन भएको अदुवामध्ये ९५ प्रतिशत भारतमा निर्यात हुने गरेको व्यवसायीहरुको भनाइ छ।
वर्षेनी साढे चारलाख मेट्रिक टन नेपाली अदुवा भारतमा निर्यात हुने गरेको तथ्यांकले देखाउँछ।








