डा. केसी र सरकारबीच पाँच बुँदे सहमति

डा. गोविन्द केसी
तस्बिरको क्याप्शन, गत सोमवारदेखि अनशनरत डाक्टर गोविन्द केसीले अनशन तोड्ने सहमति जनाएका छन्

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा लगायतका माग राखी गत सोमवारदेखि अनशनरत डा. गोविन्द केसीले अनशन तोड्ने सहमति जनाएका छन्।

शुक्रवार अबेर स्वास्थ्यमन्त्री दीपक बोहरासँगको वार्तापछि उनले अनशन तोड्ने सहमति जनाएका हुन्।

शुक्रवार राति मन्त्री बोहरा र डा. केसीले हस्ताक्षर गरेको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा अध्यादेश बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सात दिनभित्र एउटा सिफारिस समिति गठन गर्ने उल्लेख छ।

सहमतिको ५ नं. बुँदामा डा केसीले आमरण अनशनको कार्यक्रम अन्त्य गर्ने पनि उल्लेख छ।

मानहानी

तर डा. केसीले माग गरेको प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र अदालतमा विचाराधीन केसी विरुद्धको मानहानिसंबन्धी मुद्दाका बारेमा भने सहमतिमा कुनै उल्लेख गरिएको छैन।

डा. केसीका एकजना सहयोगी डा. अभिषेकराज सिंहले बीबीसी नेपाली सेवासँग कुरा गर्दै डा. केसीले शनिवार बिहान अनशन तोड्ने बताए।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका बारेमा सरकारले केही बोल्न नमिल्ने भएकाले सहमतिमा त्यसबारे केही उल्लेख नभएको पनि उनले बताए।

डाक्टर केसी

तस्बिर स्रोत, KESHAV THAPA

तस्बिरको क्याप्शन, यसअघि पनि डा. केसी पटक-पटक अनशन बसेका थिए

यसअघि गत सोमवार अदालतको अवहेलना गरेको आरोपमा प्रहरीले डा. केसीलाई गिरफ्तार गरेको थियो।

तर बुधवार सर्वोच्च अदालतको आदेश पछि उनी रिहा भएका थिए।

केसीले आफूले अदालतको अनादर गर्ने अभिव्यक्ति नदिएको र अदालतको स्वच्छ आलोचना मात्रै गरेको बयान दिएपछि अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो।

रिहा

आदेशमा केसीले प्रश्न उठाएका प्रधानन्यायाधीश गोपाल पराजुलीका दुईवटा नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपिसमेत अदालतमा पेश गर्न भनिएको छ।

केसीले अदालतको अवहेलना हुने अभिव्यक्ति दिएको बारेमा भएको बहस र केसीको बयानपछि न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले तारेखमा रिहा गर्न आदेश दिएको थियो।

रिहा भएसँगै फागुन ८ गतेका लागि तारेख बुझेका डा. केसीले आफू कार्यरत त्रिवि शिक्षण अस्पताल परिसर फर्केर अनशनलाई निरन्तरता दिएका थिए।

चिकित्सा शिक्षामा सुधार लगायतका विषयमा यसअघि पनि डा. केसी पटक-पटक अनशन बसेका थिए।

पछिल्लो पटक सर्वोच्च अदालतले डा. शशि शर्मालाई त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानको डीन पदमा पुनर्बहाली गर्ने आदेश दिएपछि सो फैसलाको विरोध गर्दै डा. केसीले अनशन शुरु गरेका थिए।