कर्णालीमा विज्ञान प्रयोगशाला स्थापना

राष्ट्रपति

जुम्लाको चन्दननाथ उच्च माध्यामिक विद्यालयमा विज्ञान विषयको पढाइ शुरु भएपछि त्यही विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ।

त्यसको राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार उद्घाट्न गरेकी हुन।

उनले प्रयोगशालामा आवश्यक सामाग्री र त्यहाँ पाठ्य पुस्तक समयमै पठाउन पहल गर्ने आश्वासन दिएकी छन्।

बाध्यता अन्त्य

यसअघि विज्ञान विषय पढ्न कर्णालीका विद्यार्थी काठमाण्डू, नेपालगञ्ज वा सुर्खेत जानु पर्ने बाध्यता थियो।

चन्दननाथ उच्च माविका एकजना विद्यार्थी रुपेश उपाध्यायले भने, "त्यो बाध्यता अन्त्य भएको छ, अब विज्ञान पढ्न बाहिरी जिल्ला जान नसक्नेले यहीँ पढ्न पाउनु खुशीको कुरा हो। सक्षम जनशक्ति जुम्लाबाटै उत्पादन हुनसक्ने भएको छ।"

निर्वाचन क्षेत्र पूर्वाधार विकाश कोषको करिब ४० लाख रुपियाँको सहयोगमा ४ कोठे भवनमा प्रयोगशाला स्थापना गरिएको हो।

अवसर

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिंगो कर्णालीका विद्यार्थीलाई लक्षित गरेर उक्त प्रयोगशाला स्थापना गरिएको बताइएको छ।

राष्ट्रपति
तस्बिरको क्याप्शन, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोगशालाको उद्घाट्न गर्दै आवश्यक सामाग्री उपलब्ध गराउन पहल गर्ने आश्वासन दिइन्

चन्दननाथ उच्च माविका प्रधानाध्यापक टंकबहादुर महतले भने, "विज्ञान संकायको पढाई कर्णालीका जिल्लामा नहुँदा पढ्ने इच्छा मार्न बाध्य आर्थिक अवस्था कमजोर विद्यार्थीको निम्ति यो राम्रो अवसर बन्ने छ।"

बहुमूल्य जडिबुटी एवं स्याउ खेती लगायतको निम्ति ख्याति कमाएको कर्णाली देशको पिछडिएको क्षेत्रमध्ये पर्दछ।

त्यहाँका स्थानीय बासिन्दाले विकासकोनिम्ति राज्यले ध्यान नदिएको गुनासो लामो समयदेखि गर्दै आएका छन्।