लास भेगस गोलीकाण्डःको थिए आक्रमणकारी?

तस्बिर स्रोत, PADDOCK FAMILY
अमेरिकाको लास भेगसमा भयानक आक्रमण गर्ने स्टिभन प्याडक एक अवकाश प्राप्त लेखापाल थिए।
अधिकारीहरुका अनुसार ६४ वर्षीय स्टिभनले विमान चलाउने र शिकार गर्ने अनुमति पनि पाएका थिए।
स्टिभनका एक पूर्व छिमेकीका अनुसार उनलले जुवाको खेल्ने गर्थे र उनी अनौठो स्वभावका थिए।
स्टिभनलाई पहिल्यैदेखि कुनै मानसिक समस्या हुनसक्ने एकजना स्थानीय अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन्।
लुटेरा बुवा
स्टिभनका भाइ एरिक प्याडकले बताए अनुसार एफबीआइको खोजी सूचीमा परेका उनीहरुका बुवा ब्यांक लुटेरा थिए र एक पटक जेलबाट भागेका थिए।
आफ्ना दाइ गोलीकाण्डमा संलग्न भएको सुनेर आफूहरु स्तब्ध भएको एरिकले पत्रकारहरुलाई बताए।
दाइले त्यसो गर्नुको कारण आफूहरुलाई थाहा हुन नसकेको एरिकले उल्लेख गरे।

तस्बिर स्रोत, BBC/LAURA BICKER
एरिकले भने, "उनले भिडिओ पोकर खेल्थे र डुंगाबाट शयर गर्न रुचाउंथे।"
यद्यपि उनी बन्दुकको शौकिन नभएको र कुनै सैन्य पृष्ठभूमिको पनि नभएको एरिकले बताए।
एनबीबीसी न्यूजका अनुसार स्टिभनले हालै जुवा खेल्नका लागि आफ्नो ब्यांक खाताबाट हजारौं डलर झिकेका थिए।
शान्त स्वभाव
जुवामा उनले जिते वा हारेको स्पष्ट भइसकेको छैन।
स्टिभनका अर्का भाइ ब्रुसका अनुसार उनले आवास भवनबाट पैसा कमाएका थिए।
खानतलासी गर्दा स्टिभनको घरबाट १८ वटा बन्दुक, विस्फोटक पदार्थ र हजारौं राउण्ड गोली फेला पारिएको अधिकारीहरुले बताएका छन्।

तस्बिर स्रोत, POLICE HANDOUT
खानतलासी गरेका अधिकारीहरुका अनुसार स्टिभनको घर चिटिक्क परेको र सफासुग्घर पाइएको छ।
उनी आफ्नी महिला साथीसँग घरमा बस्दै आएका थिए र हाल ती महिला अमेरिकाबाहिर रहेको बताइएको छ।
उनकी अर्की पूर्व छिमेकीले वाशिङटन पोस्ट पत्रिकालाई बताए अनुसार आफ्नी महिला साथीसँग बस्दै आएका स्टिभन प्रायः शान्त देखिन्थे।








