जीका भाइरसबाट मस्तिष्कको क्यान्सर उपचार

तस्बिर स्रोत, GETTY IMAGES
अमेरिकाका अनुसन्धानकर्ताहरुले भ्रूणको मस्तिष्कमा आक्रमण गरेर माइक्रोसेफालीग्रस्त शिशु बनाइदिने जीका भाइरस मान्छेहरुमा हुने मस्तिष्क क्यान्सर उपचार गर्न प्रयोग गर्न सकिने बताएका छन्।
अहिलेसम्म जीकालाई समाधानको उपाय होइन कि विश्वव्यापी स्वास्थ्य खतराका रुपमा मात्र हेर्ने गरिएको छ।
तर पछिल्लो अनुसन्धानबाट जीका भाइरसले जवान मानिसहरुमा हुने मस्तिष्कको क्यान्सर उपचार गर्न सकिने देखाएको छ।
मस्तिष्कको 'ग्लीओब्लास्टोमा' क्यान्सर हुँदा तीब्र गतिमा बढ्ने ट्युमर केमोथेरापी र रेडियोथेरापीप्रति प्रतिरोधी भएकाले उपचार गर्न निकै मुस्किल रहँदै आएको छ।
मुसामा परीक्षण
मुसाहरुमा गरिएको प्रारम्भिक अध्ययनमा जीका भाइरसले ब्रेन क्यान्सर स्टेम सेललाई निशाना बनाएको छ जसले ट्युमर पुन: पलाउनबाट रोक्छ।
अहिलेसम्म मानिसहरुमा यो परीक्षण गरिएको छैन।

तस्बिर स्रोत, Getty Images
ट्युमर फाल्न गरिने शल्यक्रियाका बेला जीका भाइरस मस्तिष्कमा राखिदिन सकिने 'जर्नल अफ एक्सपेरिमेण्टल मेडिसिन'मा छापिएको लेखमा बताइएको छ।
प्रयोगशालामा मानव कोषमाथि गरिएको परीक्षणमा जीका उपचार प्रभावकारी पाइएको बताइएको छ।
त्यसले जवान मानिसको स्वस्थ्य मस्तिष्क कोषलाई आक्रमण नगरेको बताइएको छ।
यूकेमा अनुसन्धान
वाशिङटन युनिभर्सिटि स्कूल अफ मेडिसिन र युनिभर्सिटि अफ क्यालिफोर्निया स्यान डियागो स्कूल अफ मेडिसिन सम्बद्ध समूहले अतिरिक्त सावधानीकालागि जीका भाइरसमा केही परिवर्तन गरेर अहिलेको जीका भन्दा कम आक्रामक बनाउने उपाय खोजिरहेको बताएका छन्।
उक्त समूहका एक अनुसन्धानकर्ता डा माइकल डायमण्डले भने, "जीका उपचार पद्धतिलाई अठार महिना जतिमा मानिसमा परीक्षण गर्न सकिएला।"
भाइरसको प्रयोगले क्यान्सर उपचार गर्ने भन्ने नयाँ विचार हो।
क्याम्ब्रिज युनिभर्सिटि यूकेका वैज्ञानिकहरुले पनि जीकाबारे उस्तै परीक्षण शुरु गर्न लागेको बताएका छन्।
क्यान्सर रिसर्च यूकेकी डा. क्याथरिन पीकवर्थले भनिन्, "यो पद्धतिले उपचार गर्न कठिन क्यान्सरको नयाँ उपचारको उपाय थपिन सक्छ।"








