सामाजिक सञ्जालमा व्यंग्य: ‘मेयरभन्दा पहिले मेट्रो रेल?’

मतदान

तस्बिर स्रोत, EPA

आइतबार भएको स्थानीय तहको पहिलो चरणको चुनावको मतगणना सुस्त गतिमा अघि बढिरहेको विषयलाई लिएर सामाजिक सञ्जालमा कटाक्षहरु व्यक्त भइरहेका छन्।

२० वर्षपछि भएको स्थानीय तहको चुनावलाई ऐतिहासिक भनिएको थियो र करिब ७३ प्रतिशत मतदाताले चुनावमा मत हालेको निर्वाचन आयोगले तथ्यांक दिएको थियो।

तर मतदानको 'उल्लासमय' माहौल सकिन नपाउँदै पट्यारलाग्दो हिसाबमा एकदमै धीमा गतिमा मतगणना भइरहेको भन्दै समाजिक सञ्जालमा प्रतिक्रियाहरु व्यक्त भइरहेका छन्।

एक जना निर्वाचन आयुक्त ईश्वरी पौडेलले तीव्र गतिमा मतगणना प्रक्रिया अघि बढाउन कर्मचारी थप्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिइएको सोमबारसाँझ बीबीसीलाई बताएका छन्।

'रेल पहिला कि मेयर?'

समाजिक सञ्जालमा मतगणनाको ढिलाईप्रति कटाक्ष भइरहेका छन् र त्यसलाई लिएर चुनावी मैदानमा उत्रिएका दल र तीनका घोषणापत्रहरुलाई व्यंग्य गरिएका छन्।

मतदान

लेखक खग्रेन्द्र संग्रौलाले मतगणनाले नेपालको परम्परागत सोच र प्रशासन संयन्त्रको कार्यक्षमतालाई उदांगो पारेको भनेर व्यग्यं गरेका छन्।

उनले लेखेका छन्, "हाम्रो नोकरशाहीको कार्यक्षमता र कार्यगति-हरे! सात दिनमा नी मतगणना नसकिने भो। अन्तरिक्ष युगको यो गोरुगाढा, यो अगस्ती अजिङगर! धिक्कार!"

कतिपय प्रतिक्रियाहरुमा मतगणना नसकिएसम्म सञ्चारकर्मीहरुले सास्ती खेप्नुपर्ने वा सञ्चारमाध्यमहरुले सजिलो गरि समाचारहरु पाइरहने टिप्पणी पनि गरिएका छन्।

पत्रकार नारायण अमृत ट्विटरमा लेख्छन्, "यही तालको मतगणना हो भने त काठमाण्डूबाट हिँडेरै बटौली-नौतुना घुमेर आउँदा पनि परिणाम नआउने भो। सबैभन्दा गाह्रो त हामी सञ्चरमाध्यमलाई।"

'चुनाव एक कहानी'

दोस्रो चरणको मतदान प्रभावित हुने भन्दै प्रमुख विपक्षी नेकपा एमालेले एकैपटक मतगणना गर्नुपर्ने माग गरेको थियो।

ट्विटर

कतिपय समाजिक सञ्जाल प्रयोगकर्ताले दोस्रो चरणको चुनावसम्ममा मतगणना सकिने अपेक्षा गरेका छन्।

अहिलेकै गतिमा मतगणना हुने हो भने कैयौं नगरहरुको मतपरिणाम आउन महिनौं लाग्ने खालका धारणा सामाजिक सञ्जालमा व्यक्त भएका छन्।

मतदान

तस्बिर स्रोत, Reuters

संगिता आचार्यले ट्विटरमा लेखेकी छन्, "यसरी मतगणना हुँदा काठमाण्डूको नतिजा आउन २७७ दिन अर्थात एउटा बच्चा जन्मन लाग्ने अवधि लाग्ने देखियो, यो सिङगो प्राविधिक युगको उपहास होइन त?

कतिपय प्रयोगकर्ताले घरायासी कामकाजमा खेप्ने झन्झटसँग जारी मतगणनालाई तुलना गरेका छन्।

गौतम नानुले ट्विटरमा लेखेकी छन्, "निर्वाचन आयोगको मतगणना प्रकिया र आर्जन विलियम न्यौपानेको गृहकार्य गराइ उस्तै लाग्यो, स्कुल छुट्टी भएको दिनदेखि (६ दिन अगाडि) अहिलेसम्म गरेको गर्यैछ।"

मानवशास्त्री सुरेश ढकालले ट्विटरमा लेखेका छन्, "चुनाव हुन गाह्रो! चुनाव भयो, मतगणना शुरु गर्न गाह्रो, मतगणना शुरु भयो, गणना सक्न गाह्रो! चुनाव एक कहानी!"