श्रीलङ्कामा सङ्कटकाल घोषणा, प्रधानमन्त्री 'कार्यवाहक राष्ट्रपति' नियुक्त

श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष देश छोडेर पलायन भएपछि देशमा सङ्कटकाल घोषणा भएको छ भने प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति 'नियुक्त' भएका छन्।

लाइभ कभरेज

  1. अहिलेसम्म के भयो?

    श्रीलङ्कामा अभूतपूर्व घटनाहरू भइरहेका छन्। देशमा जनताहरू आन्दोलित भएपछि विकसित घटनाक्रमले आज नाटकीय मोड लिएको छ।

    • श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष सेनाको विमानमा देश छोडेर भागेका छन्। उनी माल्दिभ्स गएको भए पनि त्यहाँबाट अन्यत्र जाने योजनामा भएको बताइएको छ
    • प्रधानमन्त्री रनिल विक्रमसिङ्घ देशको कार्यवाहक राष्ट्रपति नियुक्त भएको संसद्का सभामुखले बताएका छन्
    • प्रदर्शनकारीहरू बलपूर्वक प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका छन्। तर प्रधानमन्त्री त्यहाँ छैनन्
    • विक्रमसिङ्घले श्रीलङ्कामा सङ्कटकाल घोषणा गर्दै सेनालाई शान्ति सुव्यवस्था बहाल गर्न आवश्यक काम गर्न निर्देशन दिएका छन्
    • राष्ट्रपतिले बुधवार पदत्याग गर्ने बताएको भएपनि अहिलेसम्म उनले औपचारिक रूपमा राजीनामा दिइसकेका छैनन्। सभामुखका अनुसार वाचानुरूप राजपक्षले आजै राजीनामा दिनेछन्

    यसका साथै हामी यो लाइभ पेजबाट बिदा हुन्छौँ। थप सामग्रीका लागि कृपया होमपेजमा जानुहोला।

    धन्यवाद।

  2. प्रधानमन्त्री कार्यालयभित्र प्रदर्शनकारी के गर्दैछन्?, टेसा वङ, कोलम्बो

    प्रधानमन्त्री कार्यालयभित्र प्रदर्शनकारी

    तस्बिर स्रोत, bbc

    तस्बिरको क्याप्शन, प्रधानमन्त्री कार्यालयभित्र प्रदर्शनकारीहरू

    हामी प्रधानमन्त्री कार्यालयभित्र छौँ।

    यो कोठा बैठक कक्षजस्तो देखिन्छ र यहाँका भित्ताहरूमा गण्यमान्य व्यक्तिहरूका तस्बिरहरू राखिएका छन्।

    यसमा विश्वभरिबाट आएका अधिकारीहरूसँग भेटघाट हुने गर्थ्यो।

    अहिले ठूलो सिसाको झुमरमुनि प्रदर्शनकारीहरू कुर्सी, टेबलमा उभिएका छन्।

    उनीहरूले श्रीलङ्काको झण्डा हल्लाइरहेका छन्। गीत गाइरहेका छन् र नारा लगाइरहेका छन्।

    कोठाबाहिर हतियारधारी सेनाहरू उभिएका छन् र प्रदर्शनकारीहरू रमाएको हेरिरहेका छन्।

    अन्य प्रदर्शनकारीहरू लाउन्जको सोफामा बसेका छन् र भित्ताहरूको तस्बिर लिएका छन्।

    उनीहरूले लिएका तस्बिरमा ब्रिटिश महारानी र राजकुमार चार्ल्सका तस्बिर पनि छन्।

  3. सेनालाई 'सुव्यवस्था फेरि कायम' गर्न प्रधानमन्त्रीको आदेश

    रनिल विक्रमसिङ्घ

    टेलिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री रनिल विक्रमसिङ्घले सेनालाई "सुव्यवस्था फेरि कायम गर्न जे आवश्यक हुन्छ त्यही गर्न" आफूले आदेश दिएको बताएका छन्।

    उनले प्रधानमन्त्रीको कार्यालय र अन्य सरकारी भवन ओगटेर बसेका प्रदर्शनकारीहरूलाई ती स्थान छोड्न र सरकारी निकायलाई सहयोग गर्न आह्वान गरेका छन्।

    "हामी संविधान च्यात्न सक्दैनौँ। हामी फासीवादीहरूलाई आउन दिन सक्दैनौँ। हामीले प्रजातन्त्रप्रति रहेको यो फासीवादी खतरा टुङ्ग्याउनुपर्छ," उनले भने।

    कोलम्बोस्थित एक बीबीसी संवाददाताका अनुसार विक्रमसिङ्घको भनाइ श्रीलङ्काको राजधानीमा सेनाले सुरक्षा प्रबन्ध मिलाउन लागेको सङ्केत भएको बताएका छन्।

  4. राजपक्षको राजीनामा आजः सभामुख

    राष्ट्रपति गोटाबय राजपक्षको राजीनामा आज आउने श्रीलङ्काको संसद्का सभामुखले बताएका छन्।

    देश छोडेर पलायन भएका राजपक्षले आफूलाई फोन गरेर शनिवार वाचा गरेअनुसार आज राजीनामा दिने बताएको जानकारी सभामुखले दिएका हुन्। राजपक्षको राजीनामाले नयाँ नेतृत्व छान्ने प्रक्रिया अगाडि बढाउन बाटो खोलिदिनेछ।

    एक महिनाका लागि अन्तरिम राष्ट्रपति नियुक्त भएपछि देशमा नयाँ निर्वाचन हुन सक्नेछ।

  5. प्रधानमन्त्री कार्यालयभित्र छिरे प्रदर्शनकारी

    प्रधानमन्त्री कार्यालयबाहिर प्रदर्शनकारीहरू

    तस्बिर स्रोत, Getty Images

    प्रदर्शनकारीहरू प्रधानमन्त्री कार्यालयको गेटबाट बलपूर्वक भित्र छिरेका छन्।

    घटनास्थलमा रहेकी बीबीसी टेसा वङका अनुसार त्यहाँ अहिले पूर्ण हर्षोल्लास छाएको छ र प्रदर्शनकारीहरू जे भेटिन्छ त्यसमा चढेर रमाइरहेका छन्।

    कौसीमा कैयौँ मानिसहरू खुसीका साथ चिच्याइरहेका छन्।

    त्यसरी भित्र पस्नुअघि उनीहरूको प्रधानमन्त्री कार्यालयबाहिर घण्टौँसम्म सशस्त्र प्रहरीसँग झडप भएको थियो।

  6. प्रदर्शनकारीहरू प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्न प्रयासमा

    कोलम्बोमा अश्रुग्यासको गोला सुरक्षाकर्मीतर्फ नै प्रहार गर्दै केही प्रदर्शनकारी
    तस्बिरको क्याप्शन, कोलम्बोमा अश्रुग्यासको गोला सुरक्षाकर्मीतर्फ नै प्रहार गर्दै केही प्रदर्शनकारी

    प्रदर्शनकारीहरूले श्रीलङ्कामा प्रधानमन्त्री कार्यालयको मुख्यद्वार खोलेको भए पनि सैनिकहरूको घेराले उनीहरूलाई पुन: बाहिर फर्काउन सफल भएको छ।

    त्यहाँ आक्रोशित भिड र सुरक्षाकर्मीबीच झडप भएको देखिन्छ।

    प्रधानमन्त्री कार्यालयभित्र प्रवेश गर्न नदिएपछि प्रदर्शनकारीहरू सुरक्षाकर्मीसँग चिच्याएको देखिन्छ।

    सुरक्षाकर्मी बस्ने घरको माथिल्लो भागमा सशस्त्र सुरक्षाकर्मी उभिएका छन् तर उनीहरूले आफ्ना हतियार झुकाएर राखेका छन्।

    उनीहरूको नजिकै रहेका प्रदर्शनकारीहरूले नारा लगाइरहेका छन्।

    प्रधानमन्त्री कार्यालयले देशव्यापी सङ्कटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यू लगाएको केही घण्टापछि प्रदर्शनकारीहरू उक्त कार्यालयबाहिर भेला भएका हुन्।

    सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पार्न खोजे पनि उनीहरूले सुरक्षाकर्मीमाथि दबाव सिर्जना गरिरहेका छन्।

    प्रहरीले एकदमै धेरै अश्रुग्यास प्रहार गरेको छ। त्यसले गर्दा त्यहाँ धुँवाको मुस्लो देखिएको छ।

    धुँवाले ढाकिएको अवस्थामा त्यहाँ मानिसहरू कुदिरहेको देखिन्छ।

    हामीले अग्लो ठाउँबाट खसेको टुक्रा एक व्यक्तिको काँधमा लागेको देख्यौँ।

    त्यसको प्रतिक्रियामा प्रदर्शनकारीहरूले अश्रुग्यासका बट्टाहरू सुरक्षाकर्मीतर्फै प्रहार गरिरहेका छन्।

    प्रधानमन्त्री तत्कालका लागि खतरामुक्त

    प्रधानमन्त्री यतिबेला आफ्नो कार्यालयमा नभएको र खतरामा नभएको बीबीसीले पुष्टि गरेको छ।

    उनको निवासमा प्रदर्शकारीहरूले आगो लगाइदिएपछि केही दिनदेखि उनी गुप्तवासमा छन्।

    राजपक्ष परिवारसँग निकट सम्बन्ध भएका उनी निकै अलोकप्रिय मानिन्छन्।

    प्रदर्शनकारीहरूले उनको पनि राजीनामा माग गरेका छन्।

  7. श्रीलङ्काको सरकारी टेलिभिजनको प्रसारण बन्द

    रूपवाहिनी

    श्रीलङ्काको सरकारी टेलिभिजन च्यानल रूपवाहिनीले आफ्नो प्रसारण बन्द गरेको छ।

    प्रदर्शनकारीहरूको भिड उक्त टेलिभिजनको कार्यालयमा छिरेपछि प्राविधिकहरूले प्रसारण बन्द गरेको अधिकारीहरूले बताएका छन्।

    यसैबीच श्रीलङ्गाको अर्को राष्ट्रिय टेलिभिजनले पनि प्रसारण बन्द गरेको खबर आएको छ।

  8. ब्रेकिंग, प्रधानमन्त्री विक्रमसिङ्घ कार्यवाहक राष्ट्रपति नियुक्त

    विक्रमसिङ्घ

    तस्बिर स्रोत, Reuters

    श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्‌का सभामुखले बताएका छन्।

    संविधानको धारा ३७ को १ अन्तर्गत राष्ट्रपति गोटाबय राजपक्षले उनलाई नियुक्त गरेको जानकारी आफूलाई गराएको ती अधिकारीले बताएका छन्।

    यसबारे राजपक्ष आफैँले कुनै सार्वजनिक घोषणा गरेका छैनन्।

    केही दिनदेखि सबै घोषणाहरू संसद्‌का सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन्।

  9. ‘भागिसके? हामी राजपक्ष परिवारका सबै जना जेल गएको हेर्न चाहन्छौँ’

    कोलम्बोस्थित मुख्य प्रदर्शनीस्थलमा भेला भएका केही मानिसहरू राष्ट्रपति गोटाबय राजपक्ष देश छोडेर भागेकोमा रुष्ट देखिएका छन्।

    “हामीलाई यो मन परेको छैन। उनलाई यहीँ राख्नुपर्थ्यो। हामी आफ्नो पैसा फिर्ता लिन चाहन्छौँ। हामी राजपक्ष परिवारका सबै जनालाई खुला कारागारमा राखेर खेती गरेको हेर्न चाहन्छौँ,” विगत ४३ दिनदेखि प्रदर्शनमा सहभागी भइरहेका जीपी निमलले भने।

    उनले बोलिरहँदा अरू युवाहरू पनि त्यहाँ आइपुगे। उनीहरूले राजपक्ष श्रीलङ्का छोडेर माल्दिभ्स पुगेको जानकारी गराए।

    यस्तो खबर सुन्नासाथ उनले अपशब्द बोले र हाँसे।

    “यो निकै लज्जास्पद छ,” उनले भने। “यो अनुचित भयो। माल्दिभ्स पनि भ्रष्टाचार हुने देश हो र यही बाटोमा गइरहेको छ।”

    प्रदर्शनकारी
  10. राजापक्षले अब के गर्लान्, कहाँ जालान्?

    श्रीलङ्कामा अब के होला भनेर अनुमान भइरहेको छ।

    पदासीन राष्ट्र्पतिले राजीनामा नदिएसम्म नयाँ राष्ट्रपति नियुक्त गर्न मिल्दैन। अर्थात् राजनीतिक गाँठो फुकाउन राजपक्षले राजीनामा दिनैपर्छ।

    स्रोतहरूका अनुसार राजीनामापत्र तयार भइसकेको छ। तर राजपक्ष आफ्नो मूल गन्तव्यमा पुगेपछि मात्र त्यसलाई सार्वजनिक गरिनेछ।

    बुधवार बिहान सबेरै राजपक्ष दम्पती दुई सुरक्षाकर्मीसहित श्रीलङ्कबाट माल्दिभ्स पुगेका थिए।

    सैन्य स्रोतले उनी त्यहाँबाट अन्यत्र जाने बताएको छ।

    तर राजपक्ष कहाँ जान्छन् भन्ने खुलेको छैन।

    राजपक्ष देश छोडेर भागेको थाहा पाएपछि प्रदर्शनकारीहरूले राष्ट्रपति भवन र राष्ट्रपतिको सचिवालयभित्र प्रवेश गरेका छन्

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, राजपक्ष देश छोडेर भागेको थाहा पाएपछि प्रदर्शनकारीहरूले राष्ट्रपति भवन र राष्ट्रपतिको सचिवालयभित्र प्रवेश गरेका छन्
  11. हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्री कार्यालयतिर जाँदै

    कोलम्बोमा प्रदर्शनकारी

    हजारौँ प्रदर्शनकारीहरू कोलम्बोस्थित मुख्य प्रदर्शनीस्थलबाट २० मिनेट पैदल दूरीमा रहेको प्रधानमन्त्री कार्यालयतिर र संसद् भवनतिर जान थालेका छन्।

    केही प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

    कोलम्बो

    राष्ट्रपति गोटाबय राजपक्ष विदेश पलायन भएपछि प्रधानमन्त्री रनिल विक्रमसिङ्घले सर्वदलीय अन्तरिम सरकार गठन गरेर आफू पनि पदबाट हट्ने बताएका छन्।

    श्रीलङ्काको संविधानअनुसार राष्ट्रपतिले पदत्याग गरेपछि स्वतः प्रधानमन्त्री ३० दिनका लागि कार्यवाहक राष्ट्रपति बन्छन्।

    "यदि साँझसम्म राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा आएन भने हामी फेरि भेला भएर संसद् वा अन्य सरकारी भवन कब्जा गर्छौँ," यसअघि एक प्रदर्शनकारी बुद्धि प्रबोध करुनारत्नले समाचारसंस्था रोएटर्सलाई बताएका थिए।

    "हामी गोटा-रनिल सरकारको विपक्षमा छौँ। दुवै जना हट्नुपर्छ।"

  12. ब्रेकिंग, श्रीलङ्कामा सङ्कटकाल घोषणा

    श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घले देशमा सङ्कटकाल घोषणा गरेका छन्। प्रधानमन्त्रीको कार्यालयका एक प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा निषेधाज्ञा पनि जारी गरिएको छ।

  13. भाग्न सघाएको आरोप भारतद्वारा खण्डन

    राष्ट्रपति गोटाबय राजपक्ष देश छोडेर माल्दिभ्स गएपछि विभिन्न सञ्चारमाध्यममा उनलाई भाग्न भारतले "सघाएको" भन्दै विवरणहरू प्रकाशित भएपछि भारतले त्यस्तो आरोपको खण्डन गरेको छ।

    श्रीलङ्कास्थित भारतीय दूतावासले ती विवरणहरूलाई निराधार भनेको छ।

    भारतले श्रीलङ्काका जनतालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  14. राजपक्ष कसरी माल्दिभ्स गए?

    श्रीलङ्काको वायुसेनाले राष्ट्रपति गोटाबय राजपक्ष, उनकी पत्नी र दुई सुरक्षाकर्मीलाई माल्दिम्स जान सैन्य विमान उपलब्ध गराइएको पुष्टि गरेको छ।

    त्यसका लागि सरकारले अनुरोध गरेको सेनाको भनाइ छ।

    तर उनी माल्दिभ्समै बस्छन् वा अन्यत्र जान तत्काल त्यहाँ गएका हुन् भन्ने स्पष्ट छैन।

  15. ब्रेकिंग, प्रधानमन्त्री कार्यालयनजिकै अश्रुग्यास प्रहार

    कोलम्बोको फ्लावर रोडस्थित प्रधानमन्त्री कार्यालयनजिकै भेला भएका प्रदर्शनकारीहरूलाई हटाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

    राजधानीमा अहिलेसम्म प्रदर्शनहरू शान्तिपूर्ण नै देखिएका छन्।

    प्रदर्शनकारीहरूले नाराबाजी छन् तथा भाषण गरिरहेका छन्।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  16. कोलम्बोमा विजय उत्सव, टेसा वङ, बीबीसी न्यूज, कोलम्बो

    प्रदर्शनमा सहभागि

    राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिने भनिएको दिन मानिसहरूले बिहानैबाट श्रीलङ्कामा विजय उत्सव मनाइरहेका छन्।

    राष्ट्रपति राजपक्ष देशबाट बाहिरिएसँगै हजारौँ प्रदर्शनकारीहरू राजधानी कोलम्बोस्थित मुख्य सहरका सडकहरूमा निस्किएका छन्।

    मुख्य प्रदर्शनस्थल गेल फेस ग्रीनमा मानिसहरू भेला भएका छन्।

    यसरी जम्मा हुनेमा विश्वविद्यालयमा अध्ययनरत २३ वर्षीय जुम्ल्याहा दिदीबहिनी रेसिनी र रेसानी समराकुन पनि छन्। प्रदर्शनमा भाग लिन मलाभाबाट उनीहरू आफ्नी आमासँग दुई दिनअघि राजधानी आएका हुन्।

    “मेरो विचारमा त राष्ट्रपति आतङ्ककारीजस्तै हुन्। उनले देशलाई लामो समयदेखि आतङ्कित बनाएका छन्। तर उनले छोड्दा मलाई धेरै खुसी लागेको छ। तर श्रीलङ्काको अवस्थाले मलाई दुःखी बनाएको छ,” रेसिनीले भनिन्।

    आफूहरू श्रीलङ्काको भविष्यबारे आशावादी रहेको रेसानीको भनाइ छ।

  17. श्रीलङ्काबारे जान्नुपर्ने केही कुरा

    श्रीलङ्का

    तस्बिर स्रोत, Getty Images

    • टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २.२ करोड छ। तीनवटा जातीय समुदाय - सिन्हाला, तमिल र मुस्लिम - ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन्
    • राष्ट्रपतिको शक्ति: श्रीलङ्काका राष्ट्रपति राज्य, सरकार र सेनाको शीर्ष व्यक्ति हुन्। तर उनले संसद्‌मा सत्तारूढ दलको नेतृत्व गर्ने प्रधानमन्त्रीसँग धेरै कार्यकारी जिम्मेवारी बाँडफाँट गर्नुपर्छ
    • शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरिरहेका छन्। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक भए। त्यतिबेला रक्षामन्त्री रहेका उनका भाइ गोटाबय राजपक्ष अहिले राष्ट्रपति छन्
    • आर्थिक सङ्कटले आक्रोशः अहिले श्रीलङ्काली जनताहरू आक्रोशित छन्। त्यहाँ उपभोग्य सामग्रीको सहज आपूर्ति हुन नसकेकाले महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन्
  18. को हुन् गोटाबय राजपक्ष?

    श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष

    तस्बिर स्रोत, Getty Images

    राष्ट्रपति गोटाबय राजपक्ष कुनै बेला श्रीलङ्कामा निकै शक्तिशाली व्यक्ति थिए। उनी यसरी देश छोडेर भाग्नुपर्ने अवस्था आउला भन्ने कसैलाई लागेको थिएन होला।

    देशमा तमिल विद्रोहीसँग युद्ध भएको बेला रक्षा प्रमुखको भूमिका निर्वाह गर्दा उनले सैन्य अभियानको नेतृत्व गरेका थिए। सन् २००९ मा युद्ध सकियो।

    युद्धका बेला मानवाधिकार उल्लङ्घन गरेको तथा आफ्ना विरोधीहरूलाई निसाना बनाएको आरोप गोटाबय राजपक्षलाई लागेको छ। तर उनले ती आरोपहरूको खण्डन गरेका छन्।

    श्रीलङ्काको राजनीतिमा दुई दशकदेखि राजपक्ष परिवारको वर्चस्व थियो। उनीहरूलाई बौद्धधर्मावलम्बी बहुसङ्ख्यक सिन्हला समुदायको समर्थन थियो।

    गोटाबय राजपक्ष सन् २०१९ मा राष्ट्रपति बनेका थिए।

    श्रीलङ्काको अर्थतन्त्रमा सिर्जित अव्यवस्था र सङ्कटका कारण आक्रोशित भएर सडकमा भेला भएका श्रीलङ्काली जनताका लागि उनको आकस्मिक बहिर्गमन एउटा महत्त्वपूर्ण विजय हो।

    उनका दाइ महिन्द राजपक्ष पनि देशको प्रधानमन्त्री र राष्ट्रपति बनेका थिए।

    आर्थिक सङ्कटविरुद्ध विरोध प्रदर्शन हुन थालेपछि केही महिनाअघि महिन्द राजपक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

  19. श्रीलङ्काको नेतृत्व अब कसले गर्ला?

    राष्ट्रपति गोटाबय राजपक्ष पलायन भएपछि श्रीलङ्काको सत्तामा ठूलो रिक्तता उत्पन्न भएको छ।

    राष्ट्रपतिको रूपमा उनीसँग व्यापक कार्यकारी अधिकार थियो। उनी देशका प्रधानसेनापति पनि थिए।

    राष्ट्रपति बाहरिएपछि श्रीलङ्काको संविधानअनुसार प्रधानमन्त्री रनिल विक्रमसिङ्घले सत्ताको नेतृत्व गर्नुपर्ने व्यवस्था छ। उनलाई संसद्‌मा उपराष्ट्रपतिको भूमिकामा पनि राखिने गरेको छ।

    तर राजपक्ष परिवारसँग निकट ठानिने विक्रमसिङ्घ निकै अलोकप्रिय छन्।

    रनिल विक्रमसिङ्घ

    तस्बिर स्रोत, Reuters

    उनको निजी निवासमा शनिवार प्रदर्शनकारीहरूले आगो लगाइदिए पनि विक्रमसिङ्घले राजीनामा दिने सङ्केत गरेका थिए। घरमा आगजनी भएको समयमा उनी र उनको परिवार त्यहाँ थिएनन्।

    राजीनामा दिने बताए पनि पनि कहिले दिने विषयमा उनले केही खुलाएका छैनन्।

    उनले पनि पदत्याग गरेको अवस्थामा महिन्द यापा अबेवर्दन कामचलाउ राष्ट्रपति बन्न सक्ने सम्भावना रहेको संविधानविद्‌हरू बताउँछन्। उनी सभामुख हुन्।

    राजपक्षका सहयोगीका रूपमा चिनिएकाले उनलाई जनताले स्वीकार गर्लान् कि नगर्लान् स्पष्ट छैन।

    सोमवार प्रमुख प्रतिपक्षी दलका नेता सजित प्रेमदासले आफू राष्ट्रपति बन्न इच्छुक रहेको बीबीसीसँग बताएका थिए। तर राजनीतिज्ञहरूमाथि चरम आशङ्का उत्पन्न भएको अवस्थामा उनले पनि जनसमर्थन पाउन सकिरहेका छैनन्।

    राजपक्षलाई सत्ताबाट हटाएका प्रदर्शनकारीहरूबाट पनि देशको नेतृत्वमा अहिलेसम्म कोही अघि सरेका छैनन्।

    प्रधानमन्त्रीको शपथ लिएपछि रनिल विक्रमसिङ्घ

    तस्बिर स्रोत, SRI LANKA PRESIDENT'S MEDIA DIVISION / HANDOUT via Getty Images

    तस्बिरको क्याप्शन, रनिल विक्रमसिङ्घ गत मे महिनामा प्रधानमन्त्री बनेका थिए
  20. श्रीलङ्का सङ्कटः लाइभ पेजमा तपाईँलाई स्वागत छ

    नमस्कार। बीबीसी न्यूज नेपालीको लाइभ पेजमा यहाँलाई स्वागत छ।

    श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपक्ष सैनिक विमानमा देश छोडेर बाहिरिएका छन्। उनले यसअघि आज राजीनामा दिने वाचा गरेका थिए।

    दक्षिण एशियामा अवस्थित यो टापु राष्ट्र केही समयदेखि चरम आर्थिक सङ्कटमा फसेको छ भने जनताहरू आन्दोलित भएका छन्।

    त्यहाँ अशान्ति र अस्थिरता देखा परेको छ।

    औपचारिक रूपमा पदत्याग नगरी राष्ट्रपतिले देश छोडेपछि विकसित घटनाक्रमबारे हामी यो लाइभ पेजमा तपाईँलाई जानकारी दिनेछौँ।