प्रधानमन्त्री ओलीद्वारा संसद् विघटनको प्रतिरक्षा, प्रतिगमन नभएको दाबी

यो दैनिक लाइभ पेजमा आज सोमवार दिनभरिका महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रम एवं जानकारीहरू प्रस्तुत गरिनेछ।

लाइभ कभरेज

  1. के भारतमा कोरोनाभाइरस महामारी अन्त्य हुन लागेको हो?, सङ्क्रमित मानिसको सङ्ख्या तीव्र गतिमा घट्नुका कारणहरू के-के हुन्,

    भारत

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या र कोभिडका कारण मृत्यु हुने सङ्ख्या तीव्र रूपमा घटेको छ

    भारतमा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा कम हुँदै जानु नाटकीय छ कि छैन?

    मध्य सेप्टेम्बरमा १० लाख जनाभन्दा बढी मानिस सक्रिय सङ्क्रमित थिए। त्यसपछि क्रमश: उक्त सङ्ख्या घट्दै गयो।त्यसयता स्थितिमा निकै सुधार आएको छ।

    गत साताको मध्यदेखि त सङ्क्रमितको सरदर दैनिक सङ्ख्या नै १०,००० मा घट्यो पुग्यो।

    त्यसै अवधिमा भारतका आधाभन्दा बढी राज्यमा एउटा पनि कोभिडसम्बन्धी मृत्यु अभिलेखमा आएन।

    दश महिनामा पहिलो पटक मङ्गलवार दिल्लीमा समेत मृत्यु हुनेको सङ्ख्या शून्यमा झर्‍यो।

    • मेरो देश र बाँकी विश्वको स्थिति कस्तो छ?
    • कोभिड-१९ को महामारीबाट विश्वमा कुन देशमा कति सङ्क्रमण र मृत्यु

    मिशिगन विश्वविद्यालयमा बायोस्ट्याटिस्टिक्स र एपिडिमियोलजीका प्राध्यापक ब्रह्म मुखर्जीले भने, “अझ पनि भारतमा 'हर्ड इम्यूनिटी' अर्थात् सामुदायिक रोगप्रतिरोध क्षमताको अवस्थाबाट टाढै छ।”

    उनले भारतमा किन सङ्क्रमण तीव्र रूपमा घट्यो भन्ने प्रश्नको स्पष्ट उत्तर तत्काल नपाइने बताए।

  2. सरकारको उपलब्धिबारे के भने प्रधानमन्त्रीले?

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा सरकारले गरेका र गर्न खोजेका उपलब्धिहरूको सूची प्रस्तुत गरेका छन्।

    पुनर्निमाण सम्पन्न भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सिंहदरबारका तीनवटा मोहडाको उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै उनले सरकारका उपलब्धिहरूको सूची प्रस्तुत गरेका हुन्।

    तीन वर्षमा सरकारले विकासनिर्माण, स्वास्थ्यक्षेत्र तथा अर्थतन्त्रको क्षेत्रमा धेरै काम गरेको उनको भनाइ थियो।

    दुई घण्टाभन्दा बढी समय बोलेका ओलीले सुरुमा संसद् विघटनको प्रसङ्ग र राजनीतिक विषयमा लामै टिप्पणी गरे।

  3. नेपाली श्रमिकलाई मलेशिया सरकारले दिने सुविधा तथा क्षतिपूर्ति 'अब नेपालमै’

    अहिलेसम्म वैधानिक रूपमा मलेशियामा रहेका झन्डै तीन लाख नेपाली कामदार मलेशियाको सामाजिक सुरक्षा संस्था सोक्सोको अभिलेखमा भएको मलेशियास्थित नेपाली दूतावासका अधिकारीहरूले जनाएका छन्।

  4. मेगन फेरि गर्भवती

    ड्यूक र डचिस अफ ससिक्स दम्पतीले दोस्रो सन्तानको अपेक्षा गरिरहेको जानकारी उनीहरूका प्रवक्ताले दिएका छन्।

  5. 'ताजा जनादेश अराजकताको अन्त्यका लागि'

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने र नयाँ निर्वाचन गराउने आफ्नो निर्णयको प्रतिरक्षा गर्दै "जनादेश राम्रो भईकन पनि जनादेशबाट आएका पात्रहरू उपयुक्त नभएकाले नयाँ पात्रहरूको लागि" चुनावमा जान लागिएको दाबी गरेका छन्।।

    संसद् विघटनको निर्णय विधिसम्मत रहेको तर्क गर्दै उनले त्यो "पद प्राप्तिका लागि नभई प्रणालीको रक्षाका लागि रहेको" बताए।

    सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू लोकतान्त्रिक प्रणालीको विरुद्धमा नरहेको दोहोर्‍याएका छन्।

    उनले भने, “ताजा जनादेशका लागि निर्वाचनमा जाने कुरा पार्टीलाई एकजुट गराउने कुरा हो। पार्टीहरू बृहत्तर लोकतान्त्रिक मान्यता र विकासका लागि अगाडि बढाउने माध्यम निर्वाचन हो।”

    “लोकतन्त्रमा यसले सही र गलतबीच प्रतिस्पर्धा गराउँछ।”

    उनले ताजा जनादेश अराजकताको अन्त्यका लागि अत्यावश्यक र अहिलेको लागि अपरिहार्य रहेको दाबी गरे।

  6. प्रधानमन्त्री ओलीद्वारा संसद् विघटनको प्रतिरक्षा

    प्रधानमन्त्री ओली

    तस्बिर स्रोत, NTV

    प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एकातिर जनताको उच्च आकाङ्छा सम्बोधन गर्नुपर्ने र अर्कोतर्फ आफ्नै खुट्टा अल्झिएजस्तो भएको’ बताएका छन्।

    उनले संसदीय समितिमा अनावश्यक छलफल हुने, संसद्‌मा प्रस्तुत भएका प्रस्ताव समेत निर्णयार्थ प्रस्तुत नहुने गरेको आरोप लगाए।

    नियुक्तिहरूमा ‘समानान्तर सत्ता’को रूपमा ‘आफ्नै दलका साथीहरू’ले काम गर्न नदिएको भन्दै ओलीले त्यसको असर व्यवस्थापिकामा पर्न दिन नचाहेको बताए।

    संसद् विघटनअघि धेरैपल्ट सोचेको र त्यस्तो अवस्था नआओस् भनेर अन्तिम अवस्थासम्म समेत प्रयास गरेको भन्दै उनले पौष ५ को कदमको बचाउ गरेका छन्।

    संसद् विघटनका लागि आफूसामु धेरै विकल्पहरू नरहेको बताउँदै ओलीले "वैकल्पिक सरकारको कुनै सम्भावना नदेखिएको, विभिन्न समीकरणका खेलहरू सुरु हुने र देश अस्थिरतातर्फ जाने सम्भावना भएकोले त्यसबाट देशलाई जोगाउन आवश्यक रहेको" भन्दै "प्रतिनिधिसभाको बाँकी कार्यकाललाई राजनीतिक अस्थिरताको अर्को खेलमैदान नबनाउन’ उक्त कदम चालिएको दाबी गरे।

    आफ्नो कदम प्रतिगमन नभएको तर्क गर्दै उनले आफूले बारम्बार निर्वाचन गराउने प्रतिबद्धता र तयारी गरिराखेको बताए। संसद् विघटनबाहेक आफू अन्य विकल्प नरहेको उनको दाबी थियो।

    “वैकल्पिक सरकारको कुनै सम्भावना नदेखिएको, विभिन्न समीकरणका खेलहरू सुरु हुने र देश अस्थिरतातर्फ जाने सम्भावना भएकोले त्यसबाट देशलाई जोगाउन आवश्यक रहेको भन्दै प्रतिनिधिसभाको बाँकी कार्यकाललाई राजनीतिक अस्थिरताको अर्को खेलमैदान नबनाउन” ताजा जनादेशमा जाने निर्णयमा पुगेको ओलीको भनाइ थियो।

    उक्त निर्णयलाई संविधानविपरीत, प्रतिगमनजस्ता शब्दावली प्रयोग गरिएको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे।

    “चुनाव हुनेबित्तिकै प्रतिगमन हुने भए एक-दुई वर्षमा त चुनाव भइ नै हाल्थ्यो!... के मैले चुनाव गराउन्नँ, सधैँ शासनसत्तामा बसिराख्छु भनेँ?”

    संसदीय दलमा आफूविरुद्ध कुनै उजुरी नलगाईकन ‘एकजना व्यक्तिको लाञ्छनापत्रको’ आधारमा आरोपहरू लगाइएको बताए।

    पुनर्निमाण सम्पन्न भएको देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका तीनवटा मोहडाको उद्घाटन गर्ने क्रममा तथा वर्तमान सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा आफ्नो नेतृत्वको सरकारको "तीन वर्षका प्रमुख उपलब्धिहरू"को बारेमा प्रेस ब्रीफिङ गर्दै उनले आफ्ना कुराहरू राखेका हुन्।

    प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुनः सिंहदरबारस्थित मुख्य भवनबाट सञ्चालन हुनेछ ।

  7. क्याटलनमा पृथक्तावादी दलहरू बलिया

    क्याटलन

    तस्बिर स्रोत, EPA

    स्पेनको अर्धस्वायत्त क्याटन क्षेत्रमा पृथक्तावादी दलहरूले संसदीय निर्वाचनमा आफ्नो प्रतिनिधित्व बढाएका छन्।

    कोरोनाभाइरस महामारीकाबीच त्यहाँ भएको निर्वाचनमा निकै कम मत खसेको थियो। लगभग सबै मतगणना भइसकेको अवस्थामा तीनवटा पृथक्तावादी दलहरूले पहिलो पटक ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन्।

    उनीहरूले १३५ मध्य ७४ स्थान आफ्नो पक्षमा सुनिश्चित गरेको देखिएको छ। यसअघि उनीहरूको पक्षमा ७० सांसद थिए।

    सन् २०१७ मा क्याटलानले स्पेनबाट छुट्टिने प्रयास गरेको भए पनि विफल भएको थियो।

    सन् २०१९ मा स्पेनको सर्वोच्च अदालतले स्वतन्त्रताका पक्षमा लागेका क्याटलनका नौ नेता तथा अभियानकर्ताहरूलाई दोषी ठहर गर्दै नौदेखि १३ वर्षको जेल सजया सुनाएको थियो।

    पेरे आरागोनेस

    तस्बिर स्रोत, EPA

    तस्बिरको क्याप्शन, पेरे आरागोनेस क्याटलन क्षेत्रको नेता बन्ने देखिएको छ
  8. म्यान्मारमा प्रदर्शन जारी, सेना सडकमा

    म्यान्मार सेना

    तस्बिर स्रोत, EPA

    म्यान्मारस्थित पश्चिमा राष्ट्रका राजदूतहरूले दुई हप्ताअघि कू गरी शासनसत्ता हातमा लिएका सैन्य अधिकारीहरूलाई विश्वले उनीहरूलाई हेरिरहेको र उनीहरूको कदमविरुद्ध प्रदर्शन गरिरहेका नागरिकमाथि हिंसा नगर्न आग्रह गरेका छन्।

    म्यान्मारका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष प्रतिवेदक टम एन्ड्र्यूजले सेनालाई उत्तरदायी बनाइने बताएका छन्।

    म्यान्मारमा सेनाले फेरि इन्टरनेट सेवा बन्द गरिएको तथा कर्फ्यू लगाइएको छ।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

    आइतवार रात परेसँगै सेनाका ट्रकहरूले गस्ती गरेका थिए। आवासीय क्षेत्रमा मानिसहरूले सडक अवरुद्ध पारेको देखिएको छ।सुरक्षा अधिकारीहरूले प्रदर्शनको नेतृत्व गरिरहेकाहरूलाई पक्रने प्रयास गर्न सक्ने भएकाले त्यस्तो गरिएको हो।

  9. स्वागतम्

    नमस्कार तथा शुभप्रभात।

    आज फागुन ३ गते सोमवार । तपाईँलाई हाम्रो लाइभ पेजमा स्वागत छ।

    अहिलेसम्मका प्रमुख समाचारहरू –

    • रुसी विपक्षी नेता एलेक्सी नभाल्नीका समर्थकहरूले देशव्यापी रूपमा टर्च र अन्य किसिमका बत्ती बाल्दै प्रदर्शन गरेका छन्। उनीहरूले 'डरभन्दा माया बलियो हुन्छ' भन्ने सन्देश भएका तस्बिरहरू सामाजिक सञ्जालमा प्रेषित गरेका थिए। एउटा मानव अधिकारवादी संस्थाका अनुसार कैयौँ सर्वसाधारणहरूलाई पक्राउ गरिएको छ। मस्को र सेन्ट पिटर्सबर्गमा सयौँ महिलाहरूले मानव साङ्लो बनाएका थिए। उनीहरूले नभाल्नीकी पत्नी युलिया तथा अन्य महिलाहरूलाई राजनीतिक कारणले दमन गरिएको विरोधमा प्रदर्शन गरेको बताइएको छ।
    • ब्रिटेनले मध्य फेब्रुअरीभित्र जोखिममा रहेका डेढ करोड सर्वसाधारणहरूलाई कोभिड खोप लगाउने लक्ष्य पूरा गरेको छ। पहिलो पटक खोप दिइएको दुई महिनाभन्दा केही पछि प्राप्त उपलब्धिको प्रधानमन्त्री बोरिस जोनसनले प्रशंसा गरेका छन्। ब्रिटेनमा एक लाख १७ हजार जनाभन्दा बढीले कोभिड-१९ का कारण ज्यान गुमाएका छन्।
    • म्यान्मारमा फेब्रुअरी १ तारिखमा सेनाले गरेको कूको विरोध गरिरहेका मानिसहरूलाई लक्षित कारबाही सुरु गरिन सक्ने सङ्केतहरू देखा परेका बेला देशको उत्तरी क्षेत्रमा भएको प्रदर्शनका क्रममा स्वचालित हतियारबाट गोली चलेको सुनिएको छ। सेनाले त्यहाँ फेरि इन्टरनेट सेवा अवरुद्ध पारिदिएको छ।